शर्मिला बन्जारा,
वर्षः ०१ | अङ्क: ०८ | बैशाख २०७६
बिहानी कक्षाको पहिलो घन्टीको पखाईमा थिएँ म । घरीघरी माथिल्लो आड खोज्दै तल्लो परेलीसँग जुध्न पुग्छ । म झसङ्क हुन्छु । कानमा ठोकिन आइपुगेको धोद्रो आवाजको बेग्लै लवज छ । म अघिपछि हेर्छु । बेला बेलामा सरले टेबल ठटाउँदै बेतालमा घन्किएझै लाग्छ । म अघिपछि हेर्छु । दायाँ कुनाबाट एउटा जुँगे म तिर पुलुक्क हेरेर हाँस्छ । प्रतिक्रिया स्वरुप अनुहारमा फिक्का हाँसो छर्छु अनि अन्तै मोडिन्छु । अघिल्तिरको एउटा सिट अझै खाली छ । सर्लक्क परेको शरीर त्यही कुर्सीमा आड लागेको कल्पना गर्छु; फिजिएको कपालको वास्नाले एकाएक तानेझै लाग्छ ।
म घन्टीको कल्पना गर्छु तर घन्टी बज्दैन, ढोका बज्छ । च्याईँ अ… गरेको आवाजले ढोका खुलेको इशारा गर्छ । सबैको ध्यान ढोकामा केन्द्रित हुन्छ । केही सेकेण्ड पश्चात एउटी सुन्दरी खडा हुन्छिन्; निथ्रुक्क भिजेको शरीरमा । उ त्यही केटी थिई जसको म निकैबेर देखि कल्पना गर्दै थिएँ ।
“केही मिनेट यतै खर्च हुनेभो, कस्तो रमाइलो ।” आङ तन्काउँदै घनश्याम प्वाक्क बोल्छ ।
म जवाफ फर्काउन्न, देब्रे हातले उसको तिघ्रा चिमोट्छु । उ मुख कुचुक्क पार्छ ।
नाडी छाम्दै सर बोल्नुहुन्छ, “नानी ! घडी हेर त बा ।”
कपाल पछिल्तिर फ्याँक्दै नाडी हेरेझै गरेर उ जवाफ दिन्छे, “सर ! पानी परेर बाटो साह्रै चिप्लो भयो, त्यसमाथि जाम, निथ्रुक्क भिजेँ ।”
“अर्को दिन ढिला नगर्नु ।” सरले वाक्य छोट्याएर बोल्नुभयो ।
“सरी सर ।” उ भित्र छिरी ।
उसको लच्किएको आवाजमा चिप्लिएका ठिटाहरु खित्खित् हाँस्छन् । भिजेको कपडा पानीले रुझाएको प्रमाण थियो, ढिला आउनुको कारण जाम अनि त्यसको प्रमाण के थियो कसैलाई थाहा थिएन ।
“अलिबेर कराउनु सर पनि ।” घनश्याम सानो स्वरमा करायो ।
केटी उही सिटमा आएर बसी । रुझेको कपालमा अड्किएको थोपा थोपा पानी, मोती झै टल्किरहे । हावाको लहरसँगै बास्ना बगेर मतिर आइपुग्यो ।
”ओहो…हो ।” म मोहित भएँ ।
दोस्रो घन्टी बज्न नभ्याउँदै उ उठेर गइ । पछिल्तिरबाट उसलाई नियालीरहे । एकैछिनमा हराइहाली । केही बेर गफगाफ गरे घनश्याम र म निक्लियौँ । हेल्मेट लिन र्याँक नजिक पुगेको मात्र थिएँ, हात लम्काउनु अगावै आँखा तन्किए; मेरो हेल्मेट गाएब ।
मुन्तिरको तल्लो भागमा मेरै जस्तो हेल्मेट थियो उठाइहाँले ।
“कस्तो थोत्रो यार ! कुनचैको काम हो ।” म रड्किएँ ।
निकै रिस उठ्यो, टेन्सन लाग्यो ।
“चोर्नेले मेरै हेल्मेट उठाउनुपर्ने । नयाँ देखिने वित्तिकै साँटी हाल्नुपर्ने ।” म मुरमुरिएँ । अर्को दिन खोज्ने सल्लाह दिएर घनश्याम घरतिर लाग्यो । थोत्रो हेल्मेट टाउकोमा घुसारेर म पनि बत्तिएँ ।
अर्को दिन कक्षामा चर्को बहस भयो ।
एउटा प्वाक्क बोल्छ, “र्याकमा राख्नु नै गल्ती हो । साँटीहाल्छन् नि नयाँ भेटेपछि ।”
“झुक्किएको पनि हुन सक्छ ।” अर्कोले मुख खोल्यो ।
“ए यार ! सुन् ! झुकिने जति सबै पुरानो छाडेर नयाँ टिप्दा झुकिन्छन् । अचम्म !”; म कड्किएँ ।
केटी पछिल्तिर फर्किएर पुलुक्क म तिर हेरी । म लजाएँ, भुतुक्कै भएँ, सेलाएँ ।
“अब हेल्मेट हो, थोत्रै भएपनि काम लाग्छ, त्यही चला ।” घनश्याम बोल्यो । मैले उत्तर फर्काइनँ ।
केही बेर पश्चात उसले एकपटक फेरि फर्किएर हेरी । मैले पनि आँखा जुधाएँ । उसको आँखा बटारिदै थियो, परेली जुध्न लागेजस्तो ।
हाए ¤ अनुहार जस्ताको त्यस्तै, नो मेकअप, फेरि पनि कति राम्री ।” म लट्ठिरहेँ । केही बरेमा उ निक्लिइ ।
“अंकिता ! एटेन्डेन्स त गरेर जाउ ।” पछिल्तिरबाट केटी चिच्याई । हतारिदै हाजिर गरेर उ निक्लि । पछिल्तिरबाट उसको जिउडाल नियालिरहेँ ।
ढोकाबाट बाहिरिन नभ्याउँदै एकपटक फेरि फर्किएर म पट्टि हेरि । मुसुक्क हाँसेर बिदा भइ ।
“मलाई , समाइदे ओइ ¤ म ढलेँ ।” घनश्यामको कुममा टाउको अड्याएँ ।
“उठ् ! बौलाइस् क्या हो ।” उसले कुम उठायो ।
“त्यो मुस्कान, ओहो ! म हराएँ । कल्पनाको सुन्दर शहर जहाँ उसको अनुहारको प्रतिबिम्ब सुसज्जित छ, त्यो मुस्कानको चर्चा छ । अंकिता ! नामै काफी छ ।
“हिड् ! घर जाउँ ।” घनश्यामले घचेट्यो ।
गफगाफ गर्दै हामी बाहिरियौँ । र्याकबाट थोत्रो हेल्मेट टिप्न हात लम्काएँ, यसपटक हातमा आफ्नै हेल्मेट पर्यो ।
मुर्ख चोर रैछ ! हेर त ओइ । मैले घनश्यामलाई कोट्याएँ ।
टाउकोमा हेल्मेट छिराउनै लाग्दा भुईँमा एउटा चिट झरेको मेरो आँखाले अड्कल्यो । निउरिएर उक्त चिट टिपेँ । लेखिएको थियो,
“शैलेसजी ! सरी ल ! हेल्मेट साटिएछ ।”
अंकिता
“ल यार ! केटीले हेल्मेट टिपेकी होली, मैले सोचेकै थिइनँ ।” घनश्याम आश्चर्यमा पर्यो ।
मैले प्याट्ट उसको टाउकोमा हाँने ।
झुकिएकी होली ! नियत उस्तो रहेनछ । कति राम्रो मन; मान्छे जस्तै ।”
म आफ्नै सुरमा बोलिरहेँ । घनश्याम टाउको कन्याउँदै म तिर हेरिरह्यो ।