संजीव सिंह,
वर्ष १ । अङ्क ७ । चैत्र २०७५
शिक्षाको शुभारम्भ बच्चाले आमाको काखबाटै प्राप्त गर्छन्, अर्थात् शिक्षा र ज्ञानको जननी आमा नै हुन् । सिकाई, बुझाई, गराई र बोलीको पहिलो शिक्षक पनि आमा नै हुन् । तसर्थ आमा शिक्षित भए घर शिक्षित हुन्छ । यसैगरी घर समाजसँगै राष्ट्र पनि शिक्षाको उज्यालो किरणले जगमगाई रहन्छ ।
सन्दर्भ हो – व्यावहारिक ज्ञान र शिक्षा सम्बन्धी । जसको प्रारम्भिक प्रभाव विद्यालयको रूपमा आजको युगमा मन्टेश्वरी शिक्षाले सर्वत्र फैलाएको देखिन्छ । पारम्परिक शिक्षक केन्द्रित शिक्षा प्रणालीलाई चुनौति दिँदै घरायसी, व्यावहारिक र प्रयोगात्मक शिक्षा प्रणालीको रूपमा विकसित भएको हो – मन्टेश्वरी शिक्षा । बच्चाहरूले आफ्नो सिक्ने क्षमता र पारिवारिक माहौल जस्तै वातावरण पाउनु मन्टेश्वरी शिक्षाको प्रमुख उद्देश्य हो ।
मन्टेश्वरी शिक्षाले बच्चालाई सिक्ने प्रकृयाप्रति प्रेरित गर्नुको साथै खानपान, सरसफाइ, खेलकूद सहित वस्तुगत अध्ययन र सिकाइको महत्व बुझ्ने बनाउने मद्दत पुर्याउदछ । जसकालागि दक्ष र अनुभवि शिक्षिकाहरूको टोलीले निरन्तर बच्चाहरूलाई निगरानीमा राखेको हुन्छ । मन्टेश्वरी जाने बच्चामा आफुले गर्ने र सिक्ने क्रियाकलापमा चाँडै नै सकारात्मक परिवर्तन हुने गरेको देखिन्छ भने शिक्षाको सकारात्मक प्रभावसँगै नियम र अनुशासनको परिधिले ज्ञान र धैर्यतामा अभिवृद्धि हुने गर्दछ । एउटा निश्चित समय र मापदण्डको पहिचानसँगै फरक अनुभवले उनीहरूमा खुशी एवं उत्सुकताको मापदण्डमा समेत सकारात्मक बल पुग्ने गर्दछ ।
भविष्यमा बच्चाले आफ्नो समस्याको सहि पहिचान र समाधानको मार्ग आफैले रोज्न सक्ने सामथ्र्य प्राप्त गर्ने पनि माध्य हुन् – मन्टेश्वरी । सहज तरिकाले सरल भाषामा सिकाइने शिक्षाको माध्यम मन्टेश्वरीमा बच्चाको सम्पूर्ण व्यक्तित्व विकासलाई समेत ध्यानमा राखेर अध्ययन गराइन्छ । घरको माहौल र नजिकपनको महसुसको कारण बच्चा मन्टेश्वरीमा रमाउने गर्दछन् । बच्चाको सोच्ने क्षमता, मन पर्ने वस्तु र तरिका अनुसारै उनीहरूको चाहना, कौतुहल र मस्तिष्क विकासको कार्यक्रम प्रस्तुत गर्ने गर्दछन् ।
मन्टेश्वरी शिक्षाको एक शताब्दी लामो इतिहास कै कारण यसप्रतिको आकर्षण झन् बढ्दै गएको छ। बच्चाको विकासको चरणलाई विस्तारै वृद्धि गर्दै लैजाने र सहकार्यका कारण मन्टेश्वरी घर जस्तै बनेको छ । “मन्टेश्वरी मेथड अफ एडुकेशन” बच्चा केन्द्रित शैक्षिक पद्धति हो जुन वैज्ञानिक निरिक्षण पद्धतिमा आधारित हुन्छ । यो शिक्षा प्रणालीको श्रेय मारिया मन्टेश्वरीलाई जान्छ । उनीद्वारा १०० वर्ष अगाडि स्थापित यो पद्धति अहिले संसारभर फैलिएको छ र लोकप्रिय पनि भएको देखिन्छ । उनका अनुसार “बच्चा प्राकृतिक रूपमै जिज्ञासु हुन्छन् जसलाई हामी आÇनो अग्रसरता मार्फत अर्थपूर्ण शिक्षा सहज वातावरणमा दिन सक्नु पर्दछ । यो प्रयोग र प्रयाससँगै बच्चामा शारीरिक, सामाजिक, भावनात्मक एवं मानसिक विकासको सम्भावना प्रबल हुन्छ।”
मन्टेश्वरी शिक्षाको सिद्धान्त
मन्टेश्वरीको सिद्धान्त आधारभूत् रूपमा मानवीय विकासको मोडेलमा आधारित छ । यसका मुख्यतः दुई सिद्धान्त छन् – पहिलो बच्चाहरू मनोवैज्ञानिकरूपमा वातावरण र अन्तरक्रियामार्फत आफूलाई सक्षम पार्नु तथा दोस्रो विशेषगरी ६ वर्ष मुनिका बच्चाको मनोवैज्ञानिक विकासका लागि जन्मजात बाटो पहिल्याउनु । यसरी यी दुई सिद्धान्तमा टेकेर बच्चाहरूको मनोभाव र मनोदशालाई स्वतन्त्रतापूर्वक फरक तर घरेलु वातावरणमा विशेषगरी महिला शिक्षकद्वारा उदारपूर्वक शिक्षा दिनु हो ।
मन्टेश्वरी शिक्षालाई दुई किसिमले छुट्याएको देखिन्छ – इन्Çयान्ट र टोडलर प्रोग्राम (२ महिनादेखि १४ महिनासम्म र १ वर्षदेखि ३ वर्षसम्म) तथा अर्को प्रि–स्कूल र किन्डरगार्टेन (बच्चाको घर – ३० महिना देखि ३ वर्ष वा ६ वर्ष) । मानवीय आनीबानी र लगावलाई प्रत्येक चरणमा शिक्षा र प्रतिक्रियामार्फत हाउभाउलाई प्रष्टयाउनु पनि हो । यसका अतिरिक्त यी विषयवस्तु प्रमुख हुने गर्दछन् :
हाउभाउ र गतिविधिमा विशेषध्यान दिनु ।
सौन्दर्य र तारतम्यता, वातावरणको सफाइ
बच्चाको आवश्यकता र रुचीको अनुपातमा सम्बोधन गर्न सक्नु
स्रोत र साधनको सहयोग
अनुशासन र क्रम
कक्षा कोठाभित्र र बाहिरको निगरानी र मूल्याङ्गन
शान्तिपूर्ण शिक्षा
नेपालमा प्रि–स्कूल

बहुजाती र बहुभाषिक राष्ट्र नेपालमा शिक्षाको शुरुवाती क्रम सन् १९५० देखि भएको देखिन्छ । २ प्रतिशन साक्षरता रहेको नेपाली शिक्षा प्रणाली विस्तारित क्रममै सन् १९५० मा नेपाल बाल मन्दिरको स्थापना भएको हो ।
बाल मन्दिरको स्थापनासँगै बच्चाहरूको पढ्ने क्रमको शुरुवात भएको देखिन्छ । समाजको बदलिंदो क्रम र विकाससँगै पाठ्यक्रम र विद्यालयहरूको स्वरूप पनि फेरिँदै गएको छ । आधिकारिक तथ्याङ्ग र आँकडा प्रष्ट नभएपनि काठमाण्डौ उपत्यकामा मात्रै सयौँको संख्यामा र बाहिर पनि उत्तिकै हाराहारिमा मन्टेश्वरी वा प्रि स्कूल रहेको पाइन्छ ।
आधुनिक समाजको आवश्यकता वा बच्चाको नैसर्गिक विकासको लागि मन्टेश्वरी शिक्षा अपरिहार्य भएको छ । खानपान, ड्रेस, डान्स, बाहिरी शिक्षा र प्रयोगात्मक ज्ञानका कारण यसको आकर्षण दिनानुदिन बढ्दो छ । महँगो शुल्क र रंगीचंगी आकर्षक साजसज्जामा संचालित मन्टेश्वरी प्रत्येक अभिभावकको पहिलो रोजाइ बनन सफल भएको देखिन्छ ।
मन्टेश्वरी इतिहास
मौखिक शिक्षा वा पारम्परिक शिक्षालाई विस्तारित गर्दै घरेलु वातावरणमा सहज र सरल तरिकाले विशेषतः महिलाद्वारा संचालित शिक्षा मन्टेश्वरी शिक्षा हो । इटालीका पहिलो महिला डाक्टर मारिया मन्टेश्वरीद्वारा रोममा सन् १९०७ जनवरी ०६ मा पहिलो मन्टेश्वरी कासा डे बामबिनी (चिल्ड्रेन्स हाउस) नामक मन्टेश्वरी स्थापना भएको इतिहास छ । कम आय भएका वर्गका बच्चाका लागि खोलिएको उक्त स्कूल नै पहिलो मन्टेश्वरी स्कूल हो ।
१९०७ देखि शुरुवात भएको मन्टेश्वरी शिक्षा २१ औं शताब्दीसम्म आउँदा विश्वभरी लोकप्रिय र अनिवार्य शिक्षाको स्तरमा आपूmलाई राख्न सफल भएको छ । डा. मारियाद्वारा सन् १९२९ मा स्थापित अन्तर्राष्ट्रिय मन्टेश्वरी संघले प्रदान गर्न शुरुवात गरको शिक्षक, शिक्षा र निर्देशनका कारण पनि यस्ताखाले स्कूलको विकास तीव्र हुन थाल्यो । आज संसारभर ११० राष्ट्रमा गरी २२ हजारभन्दा बढी मन्टेश्वरीले शिक्षा प्रदान गर्दै आएको छ ।

प्रिन्सिपल, रोयल किण्डर क्यासल
स्कूल भनेको दोस्रो घर हो?
मन्टेश्वरी वा प्रि स्कूलको पढाइ विधि कस्तो हो?
सामान्य त विद्यालयहरूमा पहिलेदेखि नै चलि आएको तरिका भनेको किताबको कुरा कण्ठ गराउनु, घोकाउनु वा किताबमा जे जस्तो छ त्यो जसरी भए पनि लेख्न वा जवाफ दिन सक्ने बनाउनु हो । त्यसरी पढाउँदै आउँदा विद्यार्थीहरूमा मानसिक दवाव निकै पर्ने हुन्छ र उनीहरू तनावमा रहने हुन्छन् । जसरी भए पनि कण्ठ पार्नु पर्ने भन्ने दवावले उनीहरूलाई मानसिक र शारीरिक असर परिरहेको हुन्छ । तर अहिले मन्टेश्वरी र प्रिस्कूलको विधिमा बच्चालाई स्वतन्त्र वातावरणमा विनादवाव खेल र मनोरोञ्जनमार्फत् सिकाइने गरिन्छ । बच्चाहरूले थाहा नपाइकनै चाहिने कुरा सिकिसकेका हुन्छन् ।
अध्ययनका लागि कस्तो र कुन किसिमको वातावरण बनाउनुभएको छ
स्कूल भनेको दोस्रो घर हो । बच्चाहरूलाई घरकै जस्तो खुल्ला वातावरण दिनु पर्दछ र उनीहरूलाई म पढ्न जाँदै छु भन्दा पनि साथीहरूसँग खेल्न जाँदै छु भन्ने महसुस गराउन सकेमा उनीहरू खुला मनले खेल्दै पढ्ने हुन्छन् । त्यसैले मैले यस विद्यालयको थिम नै Play, Learn and Grow’ राखेकी छु । अर्थात् उनीहरूलाई खेल्दाउँदै, सिकाउँदै, पढाउँदै जाने हो ।
त्यस्तै शिक्षक र विद्यार्थीबीच आ आफ्ना कुरा शेयर गर्ने एउटा समय राखेका छौ । जसलाई सर्कल टाइम भनेका छौ । आधा घण्टाको यो क्लासमा विद्यालय छुट्टि भएदेखि भोलि विद्यालय आउँदासम्मका आफुलाई लागेको कुरा शिक्षक र विद्यार्थीबीच शेयर गर्ने गर्दछन् । यसले विद्यार्थीको मनोभाव र के कस्ता समस्या छन् थाहा पाउन सकिन्छ । यो क्लासले शिक्षक र विद्यार्थीबीच आत्मीयता बढाउने र सहज वातावरणको सिर्जना हुन्छ ।
मन्टेश्वरी भन्नासाथ विशेष क्रियाकलाप र सुविधा हुनुपर्छ, होइन र?
यस्ता प्रकृतिका स्कूलमा विशेषतः पाठ पढाउने भन्दा Practicllay सिकाउनुपर्ने हुन्छ । बच्चालाई एकै ठाउँमा राखेर नभै पाठ्यक्रममा भएका कुरालाई खेल र मनोरञ्जनका माध्यमबाट उनीहरू स्वयंलाई क्रियाशील गराई सिकाउनुपर्ने हुन्छ । त्यसैले गर्दा हामीले विभिन्न क्रियाकलापका माध्यमबाट सम्बन्धित विषयमा जानकार भएका शिक्षकबाट सिकाउने गरेका छौं ।
अहिले हाम्रो स्कूलमा उपलब्ध सुविधाहरूमा Art & Craft/Music and Dance/Drama and Role Play/Audio(Visual/Montessori Exercise आदि छन् भने बच्चाहरूको स्वास्थ्य स्वस्थ रहोस् भन्नेतर्पm पनि हामी धेरै सचेत छौ । त्यसका लागि स्कूलमै स्वस्थकर खानाको व्यवस्था गरेका छौं, त्यस्तै हामीसँग अनुभवी र सक्षम शिक्षकहरू हुनुहुन्छ भने बच्चाहरू खुल्न सकुन् भनेर घरेलु वातावरण बनाएका छौं । यहाँ बच्चाहरू घरमा जस्तै खुल्न र रमाउन सक्छन् । त्यस्तै समय समयमा स्विमिङ, जिम्न्यास्टिक गराउने लगायत नियमित स्वास्थ परीक्षणको व्यवस्था गरेका छौं ।
सा–साना बच्चालाई पढाउने क्रममा उनीहरूको मनोभावलाई कसरी बुझ्नु हुन्छ ?
हो, अहिलेका बच्चामा पहिलेभन्दा उत्सुकता ज्यादै हुने गरेको पाउँछु । उनीहरूमा जिज्ञासा ज्यादै हुने गर्दछ र त्यो कसरी, किन, के जस्ता प्रश्नहरू गरिरहन्छन् र उनीहरूले त्यसलाई आपैmले खेलाएर, चलाएर बुझ्ने कोसिस गरिरहन्छन् । त्यही बेला नै उनीहरूको जिज्ञासा मेटाउन सकिएन भने उनीहरूमा निराशा छाउने हुन्छ । घोकाएर पढाउँदा उनीहरू एकाग्र हुन्छन् र दवावमा रहन्छन् भने अगाडि शैक्षिक सामग्रीहरू छन् र त्यस्तै वातावरण छ भने उनीहरूको सक्रियता बढ्ने गरेको म पाउँछु ।
बच्चाहरूमा हुने चञ्चल स्वभावलाई सुहाउँदो वातावरण दिनै पर्ने हुन्छ । र, त्यसमा हामी एकदम सचेत छु । विद्यालयको वातावरण बालमैत्री छ भने बच्चाहरू घरमा आमाबुबासंग भन्दा बढी स्कूलमा अन्य र आफूजस्तै साथीहरूसँग र शिक्षकसँग घुलमील हुन्छन् ।

बच्चाहरूलाई दिमागीरूपमा स्वतन्त्र छोड्नु पर्छ मेरो स्कूलमा बच्चाहरूका लागि आधारभूत रूपमा के के कुरालाई ध्यान दिनु भएको छ ?
मुख्य कुरा त ती साना बच्चाहरूको क्षमता र अभिरुची के कस्ता छन् भन्ने कुरालाई नै ध्यानमा राखेका छौं । जस्तो कि यो उमेरका बच्चाहरू पढ्न भन्दा पनि खेल्न र खेल्दाखेल्दै सिक्ने गर्दछन् । उनीहरू बोझ थाम्न सक्दैनन्, तर सारै चञ्चल र उत्साहित हुने हुन्छन् ।
यी बेला देखेको सुनेको कुरा सिक्ने र नक्कल गर्ने हुन्छ त्यही कुरालाई आधार बनाएर हामीले उनीहरूलाई व्यावहारिक रूपमा देखाउँदै, खेलाउँदै पढाइरहेका हुन्छौँं । अर्को कुरा उनीहरूको स्वास्थ्यलाई विशेष ध्यानमा राख्ने गर्छौ त्यसका लागि उनीहरूलाई चाहिने पौष्टिक मात्रालाई ध्यानमा राखेर स्वस्थ र आवश्यक मात्रामा खानाको व्यवस्थापन गरेका छौं । साथै, खेलकुद र स्वस्थ वातावरणका पक्षमा पनि हामी विशेष गंभीर र केन्द्रित छौं ।
मन्टेश्वरी स्कूलमा बच्चाहरूको बालमनोविज्ञानमा कत्तिको ध्यान पुर्याउनु पर्ने हुन्छ ?
एकदम नै ध्यान दिनु पर्ने हुन्छ । बाल मनोविज्ञानलाई आधार नमानी उनीहरूलाई पढाउनै सकिन्न। किनभने, बच्चाहरूको उमेर भनेकै खेल्दै, सिक्दै, पढ्दै जाने हो । उनीहरूलाई किताब देखाएर घोकाएर मात्र हुँदैन आफैँ उनीहरूसँग उनीहरू जस्तै भएर खेल्दै, रमाइलो गर्दै देखाउँदै र स्वयं उनीहरूलाई क्रियाशील गराएर पढाउनुपर्छ । त्यसमा पनि सबै बच्चाहरूको स्वभाव र रुची एउटै हुँदैन । कसैलाई खेल्न, कसैलाई गाउन त कसै कसैमा कमभन्दा कम बोल्ने स्वभाव हुन्छ र हामीले ती विभिन्न स्वभाव, रुचि र स्वास्थ्य अवस्था भएका बच्चाहरूको बाल मनस्थिति बुझेर नै त्यही अनुसारको वातावरण तयार गर्छौ र उनीहरूसंग घुलमील हुँदै पढाउँछौं।
पढाइका सम्बन्धमा बच्चाहरूको मनोस्थिति यहाँले कस्तो रहेको पाउनुहुन्छ ?
धेरै जसो बच्चाहरूमा पढनुपर्छ, मैले आमाबुबाको लागि पढ्नुपर्छ, मैले भोलि यस्तो बन्नुपर्छ, मैले यस्तो गर्नुपर्छ भन्ने दवाव मनमा लिएर पढेको देखिन्छ । मैले जसरी पनि पहिलो हुनुपर्छ वा मैले यति कण्ठ गर्नै पर्छ भन्ने किसिमका प्रेसर मनमस्तिष्कमा राखेर पढ्ने गरेको पाइन्छ । तर, त्यस्तो हुनुहुँदैन बच्चाहरूलाई दिमागी रूपमा स्वतन्त्र छोड्नु पर्छ दिमागमा धेरै प्रेसर परिरहयो भने उसले सक्ने कुरा पनि सिक्न नसक्ने हुन्छ।
स्कूलको पढाइ र वतावरण आदिप्रति अभिावकहरूको कस्तो प्रतिक्रिया छ ?
अभिभावकहरूले मुख्यतयाः दुईटा कुरामा ध्यान दिएका हुन्छन् स्वास्थ्य र शिक्षा । हामी उहाँहरूको त्यो विश्वासलाई कायम राख्न र अपेक्षा अनुसार परिणाम दिन दत्तचित्त भएर लागेका छौं। केही कमीकमजोरी र सुुझाव भए त्यसलाई अत्मीयताका साथ ग्रहण गरी अझ सुधार गर्दै उहाँहरूका सन्तानलाई सक्षम, आत्मनिर्भर र गुणस्तरीय शिक्षा दिन हामी सदैव सेवारत नै रहेका छौं, रहन्छौ ।
यस्ता प्रकृतिका स्कूलहरूमा लिइने शुल्क निकै महँगो छ भनिन्छ, के हो ?
सस्तो महँगोभन्दा पनि विद्यार्थीलाई कस्तो शिक्षा दिने, कस्तो वातावरण बनाउने, कस्ता किसिमका सुविधाहरू उपलब्ध गराउने र बच्चाको भविष्य कसरी बनाउने भन्ने कुराले शुल्कमा भिन्नता आउने हो ।
एउटा बच्चालाई आमा बुबाले सम्पूर्ण जिम्मा जब हामीलाई दिनुहुन्छ तब उसको पढाइ, उसको स्वास्थ र विशेष उसको शैक्षिक भविष्य सुनिश्चित बनाउन गरिनुपर्ने तयारी सबै स्कूलकै रहन्छ । त्यतिबेला त्यो बच्चाको सम्पूर्ण जिम्मेवारी महसुस गरी उसलाई सक्षम विद्यार्थीका रूपमा परिणत गर्न विद्यालयले त्यही अनुसारको शैक्षिक वातावरण तयार पार्नुपर्ने हुन्छ विद्यालयको इन्फ्रास्ट्रक्चरदेखि लिएर गुणस्तरीय शिक्षाका लागि सक्षम शिक्षक स्वस्थ वातावरण लगायत कुरामा हामीले कञ्जुस्याईँ गर्न मिल्दैन । यी सबै कारणले गर्दा र मुख्य कुरा कुन स्तरको कस्तो शिक्षा दिने र कस्तो भविष्य बनाउने भन्ने कुरामा शुल्क निर्धारण हुने हुँदा त्यही अनुसार शुल्क लिने गरिन्छ ।
प्रस्तुति : आर.डी. श्रेष्ठ