सुधा सिंह,

वर्षः ०१ |  अङ्क : ०७ | फाल्गुन – चैत्र २०७५

महाशिवरात्रि अराध्य देव शिवको पूजा र प्रार्थना । मुख्यतः  रातसँग सम्बन्धित उत्सव र अर्चना । हिन्दु धर्ममा महाशिवरात्रीलाई प्रमुख पर्वको रूपमा लिइन्छ । महाशिवरात्रीको शाब्दिक अर्थ शिवको रात हो । शिव भन्नु नै साक्षत हो र शक्ति पनि । शिव र शक्तिको मेललाई महाशिवरात्रीको स्वरूपमा पुजिन्छ । जहाँ शिवले प्रत्यक्ष रूपमा ताण्डव र ब्रह्माण्ड नृत्य प्रस्तुत गर्दछन् । शिवरात्रि नेपालभरि धुमधामसँग र हर्षोल्लासका साथ मनाइने राष्ट्रिय पर्व हो । यस दिन अराध्य देव पशुपति अर्थात् शिवजीको अराधना गर्दै नेपाल तथा छिमेकी मुलुक भारतका हिन्दु धर्माबलम्बिहरूको ठूलो संख्याले पशुपतिको दर्शन गर्ने गर्दछ । शिवरात्रि एक अत्यन्त महत्वपूर्ण अध्यात्मिक वृत्तान्तको स्मरणोत्सव हो । सृष्टिका समस्त मनुष्य आत्मा परलौकिक परमपिता शिवको जन्म वा अवतारको महान दिन हो–शिवरात्रि ।

भगवान शिवलाई चल अचलको रूपमा हेरिन्छ । समस्त आकारमा सिर्जनकर्ता र स्वयम निराकार पनि शिव नै हो । शास्त्रमा वर्णन गरे अनुसार शिव सत्य स्वरूप हुन् । वैज्ञानिक दृष्टिकोणबाट हेर्दा विश्वको सबभन्दा प्राचीन सिन्धुघाटी सभ्यता, जहाँ मनुष्यको अस्तित्वको प्राचीनतम प्रमाण फेला परेको मानिन्छ । सिन्धु घाटीको उत्खननको समय जुन अवशेष भेटियो, पशुपति शिवको कैयौँ प्रतिमा वा आकृति पनि पाइयो । यसबाट पनि पुष्टि हुन्छ कि शिव नै अराधनाको प्राचीनतम कडी हुन् ।

महाशिवरात्रीमा स्वनिर्मित शिव लीङ्गको पूजन विशेष महत्वका साथ गरिन्छ । नेपाल भारत लगायत विश्वका हरेक ठाउँमा रहेका शिव मन्दिरमा यो दिन विशेष पूजा आजा गरिन्छ । शिवरात्रिको व्रतलाई स्कन्द पुराणमा परातत्पर भनिन्छ । जसको अर्थ यसको समान अर्को कुनै व्रत छैन । शिवरात्रिको रात शिव समस्त शिवलिङ्गमा अवतरण गर्दछन् । महाशिवरात्रिको व्रतले समस्त पापलाई नाश गरेर मनोकामना पूर्ण गर्दछन् । प्रत्येक फागुण कृष्ण पक्ष चतुर्दशीका दिन शिवरात्रि पर्व मनाइन्छ ।

ससारमै नेपालको पशुपतिनाथ महाशिवरात्रि पर्वको  लागि प्रख्यात र अपार मानिन्छ । हरेक वर्ष विश्वभरका हिन्दुहरूले यस अवसरलाई उत्सवको रूपमा मनाउने गर्दछन् । झण्डै ५ लाख यात्रु र श्रद्धालु यस दिन पशुपतिनाथमा पूजा गर्ने गर्दछन् । पूर्ण भक्तिका साथ भजन कीर्तन, नृत्य, प्रवचन लगायत साधुबाबा, नागा बाबा, र उनका चमत्कारिक कृयाकलापसंगै भांग, धतुरो, घोट्टा, गाँजा आदिको सेवनले यहाँको विशिष्टतामा थप मौलिकपन दिने गर्दछ ।

बाबा पशुपतिनाथको मन्दिर काठमाण्डौ बाग्मती नदी किनारमा अवस्थित छ । यो ऐतिहासिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो । २४० हेक्टरमा पैmलिएको पशुपतिनाथ सांस्कृति संपदा अन्तर्गत सन् १९७९मा युनेस्को विश्व संपदा क्षेत्रमा सुचीकृत भएको हो । नेपाली प्यागोडा शैलीमा निर्मित प्राचीन मन्दिर पशुपति नाथको मुख्य चार द्वार (ढोका) चाँदीको रहेको छ भने गजुर सुनको रहेको छ । यस मन्दिरको पश्चिम ढोकामा ठूलो साँढे (वसाहा) अर्थात् नन्दिको मूर्ति रहेको छ । जुन कास्यले निर्मित रहेको छ । यहाँ रहेको लिंग देवत्व कालो पत्थरको छ जुन ६ फुट अग्लो रहेको छ । यो मन्दिर संसारमा रहेका २७५ पवित्र शिवस्थलमध्ये अग्रणी मानिन्छ । यस मन्दिरलाई जीवन्त संपदाको रूपमा लिइन्छ । किनभने जन्मदेखि मृत्यसम्मका संस्कार यहाँ सम्पन्न गर्ने गरिन्छ ।