संजीव सिंह / आर.डी. श्रेष्ठ,
वर्षः ०१ | अङ्कः ०७ | फाल्गुन – चैत्र २०७५
नेपाली सुगम संगीतमा आफ्नो माधुर्य स्वरले मनमोहक र कालजयी गीत गाउन सफल र सरल व्यक्तित्व हुन् – दीपक खरेल । युवा जोशमै रोमाण्टिक तथा भावुक गीत “तिम्रो त्यो हँसिलो मुहारको”, “तिम्रा हर प्रश्नको जवाफ” जस्ता आवाज नेपाली स्रोता माझ पस्कँदै कम समयमै लोकप्रियताको शीखरमा चुलीन सफल भए । तर, संयोग उनको शीष्टता, शैली, संस्कार अथवा सन्तुष्टिले स्वयं भने चर्चाबाट कोशै दुर रहन्छन् अर्थात् रहन रुचाउँछन् ।
स्वरलहरीको अथक साधनामा आफूलाई निरन्तरता दिँदै आएका उनले समानान्तर रुपमा लामो समयसम्म मुलुकको कुशल र दक्ष प्रशासकको भूमिका सफलता पूर्वक निर्वाह गरेका हुन् । असल व्यक्तित्व, सरल व्यवहार र वाणीमा मीठासका कारण गायक दीपकलाई उच्च श्रेणीको व्यक्तित्वमा राख्न करै लाग्छ ।उच्च र शिष्ट श्रेणीको व्यक्तित्व दीपकले गाएका बहुसंख्यक गीतहरु आज पनि अग्रज र युवाले पनि उतीकै कर्णप्रिय रुपमा सुन्दै आएका छन् । उनका गीतहरु सुन्दा मनमा तरंगका लहरहरु मात्रै उर्लीदैन कि वास्तवमै प्रत्यक्ष जीवनको यथार्थता आ–आफैसँग प्रश्न गर्न पुग्छ, “प्रतीक्षा गर मेरी मायालु” होस् या “बादल बनाई देऊ” ले शायद यस्तै यस्तै भाव र लगाव बोकेको देखिन्छ । आफ्नो गायकी र रीयाजमा देवीको वरदान र निरन्तरको साधनाले अझसम्मै संगीतमा होमिएको बताउँछन् – ६ दशक काटिसकेका गायक दीपक खरेल । फलस्वरुप उनको नयाँ एल्बम चाँडै नै बजारमा सार्वजनिक हुँदै छ । दाम्पत्य जीवनको ३ दशक पार गरे पनि यो नै पहिलो अवसर हो, जसमा पत्नी शीलाको रचनामा पहिलो पल्ट स्वर भर्ने अवसर पाएका हुन् –

“जब जब तिम्रो सम्झना आउँछ
मन बुझाउँछु तस्वीर हेरेर ”
दीपक खरेललाई अहिले पनि उच्च स्थानमा राखेर हेरिन्छ किन होला ?
नेपाली संगीतप्रतिको सम्मान र झुकाव सबै नेपालमा उच्च छ। म र मेरा गीतलाई मनपराइ रहने सबै श्रोताको माया र सम्मान भन्नु नै नेपाली गीत संगीतप्रतिको सम्मान हो। म कहिले पनि प्रस्तिपर्धामा लागिन। मलाई शिखरमा देख्नेहरूले मप्रति दर्शाएको माया नै हो। म आफैँ कहिल्यै शिखरमा पुग्छु भनेर लागिन। मैले संगीतलाई पूजाको रूपमा ग्रहण गर्दै लाग्दै रहेँ एक सामान्य संगीतप्रेमीको रूपमा। सायद मेरा गीत संगीतले कति श्रोता या संगीतप्रेमीको दुखेको घाउमा मलम लगाउन सफल भयो होला, कतिको मन छोयो होला र मलाई त्यो उच्च स्थानमा देख्न पुगे। यो श्रोताहरूको मप्रतिको र संगीतप्रतिको उच्च सद्भाव र सम्मान हो, म यसका लागि सदा आभारी रहने छु।
सांगीतिक यात्रा चाहिँ कसरी आरम्भ भएको थियो ?
त्यतिबेला म ७/८ वर्षको थिएँ। मेरा वुवा एक प्रतिष्ठित प्रशासक हुनु भएकाले उहाँको जागिरे यात्रामा म उहाँसँगै हुन्थे र म राम्रो गीत गाउँ छु भनेर मलाई विभिन्न ठाउँमा गीत गाउन भनिन्थ्यो र म राष्ट्रिय गीत गाउँथे, सबैले राम्रो मान्थे। मेरो संगीतप्रतिको प्रेम त्यसरी झल्किन्थ्यो। पछि विश्वविद्यालय अध्ययनको क्रममा त्यही संगीतप्रतिको लगावले गर्दा रेडियो नेपालमा भ्वाइस टेष्ट पास भएर सांगीतिक यात्राले बलियो निरन्तरता पाएको हो। त्यति बेला नातिकाजी, बच्चु कैलाश, नारायणगोपाल जस्ता दिग्गज व्यक्तित्वको वर्चस्व भएको माहोलमा म बबुरो कै रूपमा प्रवेश गरेको थिएँ। तर मेरो आवाज र संगीतमा सुगम संगीतको धार देखेर होला यस्तो स्वरमा फरक र ताजापन रहेछ भनेर मन पराइयो मेरो स्वर। त्यसले मलाई प्रेरणा दियो र मेरो सांगीतिक रूपमा निरन्तरता दिएको हो । संगीतलाई मैले प्रतिस्पर्धाको रूपमा कहिल्यै हेरिन।

तपाईंको विचारमा संगीत के हो ?
मैले जहिले पनि संगीतलाई पूजाको रूपमा हेर्ने गरेको छु । र, पूजाकै रूपमा लिने गरेको छु । अर्को कुरा संगीत ध्यान पनि हो । यो सीधा मन मस्तिष्कसंग जोडिएको हुन्छ । ध्यान यस अर्थमा कि मैले अहिले पनि हरेक दिन एउटा निश्चित अवधि संगीत साधना गर्ने गर्दछु । यो मेरो नित्य कर्म कै रूपमा रहेको छ । संगीतलाई म सरस्वतीको वन्दनाकै रूपमा लिने गर्दछु । र मैले रियाज गर्दा आफ्ना गीत, अरु कसैका गीत र अन्य भाषाका गीत गाएर नभइ ऊँकारको भजनको रूपमा रहेको स्तुति गाएर साधना गर्ने गर्दछु । त्यसैले लाग्दैन कि संगीत प्रतिस्पर्धा हो, न त यो व्यवसाय नै हो । यो एक प्रकारको समर्पण, श्रद्धा, पूजा र ध्यान हो जसले मनलाई जीवनलाई र सम्पूर्ण प्राणीलाई आनन्द बनाउँछ ।
दीपक खरेल पृथक गायकको रूपमा चिनिन्छ, तपाईँलाई महसुस छ कि तपाईँको गायकी प्रथम छ ?
यो कुरा मलाई त्यतिबेला अलिकति महसुस भयो जतिबेला म युनिवर्सिटिको अध्ययनमा रहँदा त्यतिबेलाको सिष्टमअनुसार दश महिना राविसे अन्तरगत विभिन्न जिल्लामा गएर सेवा गर्नु पर्दथ्यो, त्यही सिलसिलामा मेरा केही गीत निकै चर्चामा हुने गर्थे, धेरैले मनपराउँथे र रेडियो एकमात्र साधन भएकाले शहर शहर गाउँ गाउँ र विदेश वंगलादेश, भुटान लगायत देशमासमेत त्यहि रेडियो सुनिन्थ्यो र मेरा गीत पनि त्यतिकै चर्चामा हुन्थ्यो। त्यसरी राविसेमा जाँदा जुन स्कुलमा गए पनि ‘यो विकासे सर त साह्रै राम्रो गायक पो हो त’ भनेर हरेक विद्यार्थी र सरहरूले मलाई इज्जत दिने गर्थे। त्यतिबेला २०४७ तिर संगीतकार दिव्य खालिङ्कसंग भेट भयो र उहाँको संगीतमा एउटा गीत पनि गाएको थिएँ। त्यतिबेला उहाँले भन्नुभएको शब्दले मलाई म अलिक पृथक रहेछु् भन्ने महसुस भएको थियो। उहाँले भन्नु भएको वाक्य मलाई अझै संझना छ, ‘तिमीलाई थाहा छ दीपक, तिमीले आफूलाई चिन्न सकेका रहने छौ, तिम्रो स्वर उच्च छ र एकदम पृथक छ, यस्ले तिमीलाई फरक रूपमा स्थापित गराउँछ ।’ उहाँले भन्नु भए जस्तै पछि म पृथक रूपमै निरन्तर भएँ र रहेँ ।
दीपक खरेलका गीतहरू जो कोहीले गाउने आँट गर्दैनन् किन होला, के छ ती गीतहरूमा ?
गाउन त गाउँछन्, तर सायद ती गीतहरूमा म जति गहिरिन्छु, जति समर्पित हुन्छ र जति आत्मिए हुन्छु, त्यति अरु हुन नसकेर हो कि । म कुनै पनि भित्री मनदेखि गाउँछु, घाँटीबाट मात्र गाउँदिन पूर्णत भावनात्मक भएर आफ्नो प्राकृतिकता साथ गाउने गर्छु । अरुले भावनात्मकता ल्याउन गार्हो हुने मात्र हो, अन्यथा अरुले पनि गाउने गर्छन, सक्छन् ।
तिम्रो हर प्रश्नको जवाफ मेरो चिठ्ठीहरूमा खोज्नु….गीतको यथार्थता दीपक खरेलको व्यक्तिगत भावनासँग कतै जोडिएको त छैन ?
त्यो मेरो व्यक्तिगत जवाफ थिएन । त्यो गीत प्रतिनिधि गीत हो । संगीतकार शंभुजित बाँस्कोटा मेरा असाध्यै प्रगाढ मित्र र उहाँले जुन संगीत गरेपनि पहिला मलाई सुनाउनु हुन्थ्यो र त्यो गीत उहाँबाट रचित र संगीतबद्ध गीत हो । गीत त त्यति बेला सबैको हुन सक्छ जतिबेला त्यसमा सबैको भावना समेटिन्छ । शब्द, संगीत र गायनको आपसी मेल र समर्पणले एउटा प्रतिनिधि गीत बन्न पुग्छ । मित्र शंभुजितले पनि प्रतिनिधि गीतकै रूपमा त्यसमा संगीत भर्नु भएको थियो भने मैले पनि त्यसमा डुबेर भावनात्मकताका साथ स्वर दिएको थिएँ मनै देखि । त्यसैले यो गीतमा दीपक खरेल या शंभुजितको व्यक्तिगत यथार्थ केही छैन मात्र भावना र समर्पण । पृथक शैली, पृथक भावना भएकाले होला यो गीत आम श्रोताको लागि प्रतिनिधि गीत बन्न पुग्यो ।
आफूले गाएका गीतहरू मध्ये कुन चाहिँ गीत केही बढी नजिक भए जस्तो लाग्छ ?
हुन त मैले प्राय सबै गीतमा म मनैदेखि नजिक भएर गाएको हुन्छु। सबैमा वरावरी समर्पित हुन्छु। मलाई सबै उतिकै जनिक र आफ्नो लाग्छ। यति हुँदा हुँदै पनि श्रोताहरूको चाहना, भावना र गीतप्रतिको सामीप्यताका कारण त्यतिबेला पाएको चर्चा र गीतका लागि गरेका अनुरोधहरूका आधारमा भन्नुपर्दा – तिम्रो त्यो हँसिलो मुहार, बादल बनाइ देऊ, प्रतीक्षा गर, तिम्रो हर प्रश्नको जवाफ, यो बुझ्नै नसक्ने मानिसको जीवन, आदि गीतहरू सार्है मनपाइएको पाएँ। पछिल्लो समयमा दीपक जंगमको संगीतमा गरौँ कि मिठो बोलको गीत पनि धेरै श्रोताहरूले मन पराउनुभएको छ। त्यस्तै २०५८ सालमा निस्केको एल्वममा समावेश ‘मेरो मनको गोरेटो’ पनि निकै मनपराइएको पाएँ। गीत धेरै गाइयो तर यही बढी भनेर छुट्याउनुपर्दा मलाई अलि गार्हो नै हुन्छ ।
तपाईंको बेलाको संगीतप्रतिको समर्पण र अहिलेमा केही फरक पाउनुहुन्छ ? अहिलेको संगीत कहाँनेर देख्नुहुन्छ ?
समय परिवर्तनशील छ, यो शास्वत हो । समय अनुसार फरकपना आउँदै जानु स्वाभाविक पनि हो। संगीतप्रतिको लगावलाई अहिले विकसित अवस्थामा उपलब्ध इजी एक्सेस र श्रोत साधनको उपलब्धताले विविध किसिमका प्रयोग र पृथकता दिन सक्ने भएको बेला नयाँ युवा पुस्तामा त्यसको प्रयोग प्रचुर मात्रामा नेपालमा समेत हुने गरेको पाइन्छ । केही नौला प्रयोग पनि भएका छन्, विविधता र अन्तरक्रिया स्वाद पनि मिसिएका छन्। त्यो बेलाको सिमितता र त्यसले गर्नुपर्ने मिहिनेत अहिले गर्नु पर्ने अवस्था छैन। धेरै कुरा प्रविधिले नै गर्न सकिने भएका छन्। जसले गर्दा नयाँ पुस्तामा त्यति धेरै कठिन मिहिनेत र रियाज गर्ने गरेको त्यति पाइन्न। र संगीतको शास्त्रीय धार र मौलिकता समेटेर कति गीत संगीत बनेका छन् जो धेरै राम्रा छन्। केही राम्रा कलाकार पनि देखेको छु । जसले पछि धेरै प्रगति गर्न सक्छन् भन्ने संभावना बोकेका छन् । तर यति हुँदा हुँदै पनि अलिकति साधनाको कमी भए जस्तो, छिटोभन्दा छिटो चर्चामा आउन हतारिए जस्तो र कमै मिहिनतमा अरुले गरेजस्तो नक्कल गर्न खोज्ने प्रवृत्ति देखापरेको छ, यसमा चाहिं अलि गंभीर हुनैपर्ने हुन्छ । हामी संगीतमा लागेका मान्छेहरूले संगीतलाई सहज, सरल र हल्का रूपमा लिने गर्नु हुन्न । यो पूजा हो, समर्पण हो र साधना हो यस्को प्रतिफल धनसंगभन्दा मनसंग जोडिएको हुन्छ भन्ने कुरा बिर्सनु हुन्न ।
आधुनिक सांगीतिक माहोलबाट दिगोका सांगीतिक धरोहर तपाइहरू कतै छायाँमा परेजस्तो लाग्दैन ?
छायाँ परेजस्तो नलाग्नुपर्ने अवस्था चाहि छैन् । हिजोका दिनमा भएका सीमित श्रोत साधन (रेडियो नेपाल) र अहिले संचारमा सयौँ माध्यमका बीच बज्ने र सुनिने गीतहरूबीच हामी पुराना गायकहरू केही छायाँमै परेको महसुस हुन्छ । ‘लौत मेरो यो गीत बजाइ दिनु पर्यो’ भनेर अनुरोध गर्न जान हामीलाई हाम्रो नैतिकताले दिँदैन । त्यसरी जाने गरेका पनि छैनौं । यदि कसैले पुराना र प्रतिष्ठित सर्जक हुन भनेर बजाइदिए बेग्लै हो । शायद त्यस्तै मात्र हुने गरेका छन् । सयौ एफएम र दर्जनौँ टेलिभिजनका बीच पनि पुराना गीत संगीतले उचित ठाउँ पाउन सकेको छैन । आधुनिकता र आयातित संगीतले कतै नेपाली सुगमता र मौलिकता ओझेलमा पर्दै विलाएरै नजाओस् यो चिन्ता लागि रहन्छ । सिनियर कलाकारको सम्मान गर्ने, उनीहरूको सृजनाको संरक्षण गर्ने र राम्रो कुराको अनुसरण गरी सम्मान जताउने जस्ता कुरा अहिलेको पुस्तामा अभाव नै भए जस्तो लाग्छ ।
संगीत राष्ट्रको गहना हो, स्रष्टा सम्पत्ति हो र यिनीहरूको संरक्षण, सम्वद्र्धन गर्दै जिवन्तता दिनु कुनै पनि बेलाको सरकारले केही गरे जस्तो लाग्छ ?
सरकारले केही गरेको भए मैले भाषणमा मात्र पाएको छु । जहाँसम्म सरकारमा नेतृत्व गर्ने व्यक्ति होस् र सरकारका निकायहरूबाट होस् पुराना कलाकारको सम्मान वा उनीहरूको सम्वद्र्धनका लागि मनैदेखि कुनै काम भएको जस्तो मलाई लाग्दैन । मञ्चमा पुगेर संगै हुँदा केही शब्द बोलिदिने र त्यो बोलीमा नै मात्र सीमित हुने गरेको पाएको छु । पुराना स्रष्टाको खोजी गर्ने र मौलिक नेपाली संगीतको जर्गेना गर्न अहिलेसम्म कुनै पनि सरकारले भ्याएको छैन र सोच पनि पुगेजस्तो लाग्दैन ।
सांगीतिक क्षेत्रको मूर्धन्य व्यक्तिका रूपमा नेपालको वर्तमान राजनीतिलाई कसरी हेर्नु हुन्छ ?
वास्तवमै भन्नु पर्दा देशलाई वास्तविक रूपमा माया गर्ने नेताको खाँचो हामीलाई छ । देशको माया मुखमा मात्र हुनु भएन । भाषणमा मात्र हुनु भएन, चुनाव र विजयका लागि सत्ता केन्द्रित माया मात्र हुनु भएन । देशको माया भित्र त्यहाँ भित्रका सबै कुराको माया भन्ने हुन्छ । जसभित्र संगीत पनि पर्दछ । देशको सुन्दरता, कला, संस्कृतिको संरक्षण गर्ने मन भएको, माया भएको, दूरदर्शिता भएको, आफ्नो पराया नहुने, हाम्रो होइन कि राम्रो भन्ने सोच भएको नेताको अभाव छ । त्यस्तो नेता पायौँ भने यो देश १० वर्षमै कहाँबाट कहाँ पुग्न सक्छ । तर त्यस्तो नेता कहिले पाउने हो खै ।
संगीतको निरन्तरता कस्तो छ ?
केही हदसम्म निरन्तरता दिइ नै रहेको छ । व्यक्तिगत रूपमा हरेक विहान मेरो सांगीतिक रियाज सरस्वती वन्दनाबाट हुने गर्दछ, जो निरन्तर चलिरहेको छ । त्यस्तै आफ्ना श्रोताहरूका लागि अहिले पनि एउटा अल्वम तयारी गर्दैछु । जसमा मैले नयाँ भाइहरूसंग काम गरेको छु । मलाई सन्तोष लागेको छ । जहाँसम्म अन्य कार्यक्रमहरूमा जाने कुरा छ म अरुले जस्तै ट्रयाकमा गाउने गर्दिन, मलाई live music नै चाहिने हुन्छ जसले गर्दा म निकै कम कार्यक्रमहरूमा जाने गर्छु र विदेशको सवालमा पनि मलाई एकल प्रस्तुती दिने र त्यो live music चाहिने भएकाले आयोजकहरूलाई केही असजिलो हुने भएर कमै मात्र अनुरोध स्वीकार्ने गर्छु । मलाई अरुसंग मिसिएर वा ट्रयाकमा गीत गाउन सहज लाग्दैन । फिल्मको हकमा मैले केही फिल्महरूमा स्वर दिएँ तर जागीरको दौरानमा बाहिर जिल्लामा गइरहनु पर्ने बाध्यता र इण्डियामा गइ गीत रेकर्डिंङ गर्नुपर्ने अवस्थामा समन्वय गर्न नसक्ने हुँदा फिल्मी गीतमा निरन्तरता दिन सकिन तर बेला बेला एकल साँझ गरिरहेकै छु ।