संजीव सिंह/आर. डी. श्रेष्ठ,
वर्षः ०१ | अङ्कः ०६ | माघ २०७५
संस्कृतिविद् सत्यमोहन जोशीलाई नेपाल सरकारले उनको योगदानको कदर स्वरुप वाङ्मय शताब्दी पुरुष उपाधि लगायत अनेकौं सम्मान तथा विभूषणले सम्मानित गरेको छ। सत्यमोहन जोशी – नेपाली कला, साहित्य, संस्कृति, भाषा आदिका वाङ्मय शताब्दी पुरुष। आफ्नो नाम अनुसार नै सत्य तथ्यको खोजीमा जीवन समर्पण गर्दै आएका सत्यमोहन सय वर्षे इतिहास कोर्न तयार छन् । १९७७ बैशाख ३० गते बखुम्बहाल, ललितपुरमा जन्मेका जोशी आफ्नो सय वर्षे सफरमा अनेकौं सोध, रचना, र कृतीले भरिभराउ एवं गुणस्तरीय पार्न सफल भएका छन्। जीवनको सेन्चुरी हान्न लागेका जोशी मदन पुरस्कारमा पनि हेट्रिक हान्ने एकल र प्रथम व्यक्तित्व हुन । उनले वि.स. २०१३, २०१७ र २०२८ मा उक्त पुरस्कार पाएका हुन् ।
संस्कृतिविद् सत्यमोहन जोशीलाई नेपाल सरकारले उनको योगदानको कदर स्वरुप वाङ्मय शताब्दी पुरुष उपाधिले सम्मानित गरेको छ भने अनेकौं सम्मान तथा विभूषणले नवाजेको छ। जसमध्ये मिथिला श्री, महाकवि देवकोटा शतब्दी सम्मान, राष्ट्रिय कला श्री लगायत महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी २०७५) रहेको छ । काठमाण्डौं विश्वविद्यालयद्वारा विद्यावारिधीको मानार्थ उपाधी पाएका जोशीको अध्ययन बिएसम्मको रहेको छ। सोध कार्य र अध्ययन भ्रमणको क्रममा उनले विश्वका प्रमुख देशहरूसमेत भ्रमण गरेका छन्। उनलाई वि.सं. २०१५ मा पुरातत्व र संस्कृती विभागका पहिलो निर्देशक हुने सौभाग्य पनि प्राप्त छ । नेपालमा तथ्याङ्क शास्त्र अनुसार पहिलोपटक वि.सं. २००९/०११ सालमा राष्ट्रिय जनगणनाको लेखाजोखा गर्ने अभिभारासमेत बोकेका जोशी बहुमुखी प्रतिभाका धनीसमेत हुन।
नेपाली लोक साहित्य र संस्कृतिका मुधन्र्य स्रष्टा जोशीले अरनिको कृत स्वेत चैत्य महाकाव्य लेखेर नेपाल – चीनसम्बन्धमा एक सेतुको रूपमा कार्य गरेका छन् । अनुसन्धानात्मक, सम्पादित कृति, नाटक, महाकाव्य एवं कथासंग्रहको गणना गर्दा करिब तीन दर्जन हुन आउँछ । यतिकै हाराहारीमा उहाँको नेपाल भाषा (नेवार भाषा) मा कृति रहेको छ । वावजुद शालिन, शान्त र पारम्परिक जीवनशैली अपनाउँदै आएका महान् साहित्यकार जोशीको विशिष्ट, उत्कृष्ट र रचनात्मक कार्यका कारण राष्ट्र समृद्ध एवं सफल भएको देखिन्छ ।
सय वर्षको इतिहास कायम गर्दै गर्दा कस्तो महसुुुस भइरहेको छ ?
दिन बितेको थाहा हुन्छ, वर्ष बितेका थाहा हुन्न भने जस्तै आउँदो वर्षको बैशाख ३० गते १०० वर्ष पुग्दैँछु । एक किसिमले आफ्नो मातृभूमिमा सय वर्ष बाँच्दैछु भन्ने महसुस हुनु र सक्नु ज्यादै खुुसि महसुस भएको छ । केही साथीहरूले केही समय अघि नै ‘सताब्दी पुरुष’ को संज्ञा दिँदा हतार गरेका हुन कि जस्तो लागेको थियो । त्यसपछि सरकारको तर्फबाट ‘वाङ्मय सताब्दी पुरुष’ को संज्ञा दिइयो । यसले गर्दा सय वर्ष जसरी भए पनि बाँच्नै पर्ने भयो भन्ने लाग्यो । सय वर्ष पुग्न साथीहरू र सरकारद्वारा प्रदान गरिएको सम्मानले ठूलो हौसला मिल्यो । अब केही दिनमा नै म सय वर्ष पुग्दै छु ।
वाङमय सताब्दी पुरुष र सताब्दी पुरुषको संज्ञाले सम्मान पाउँदा जिम्मेवारी बढ्यो जस्तो लाग्यो कि लागेन ?
अवश्यै, सम्मान भनेको मूल्याङ्कन र जिम्मेवारी दुवै हुन् । सरकार र नागरिक समग्रद्वारा दिइएको वाङ्मय सताब्दी पुरुषको सम्मान सत्यमोहन जोशीलाई मात्र नभएर कला, साहित्य, भाषा, संस्कृति र सम्पूर्ण वाङमय क्षेत्रका लागि दिइएको सम्मान हो । यसले त्यस क्षेत्रकामा लागि रहने सबैलाई उत्साह प्रदान गर्ने एक प्रयास हो भन्ने मैले बुझेको छु । मैले पनि त्यस क्षेत्रका लागि केही गरेको महसुस भएरै होला उक्त सम्मान दिएर अझै केही गर्न प्रोत्साहन गरेको ।
सय वर्ष पुग्दै गर्दा राष्ट्रका लागि जे–जति गर्नु भयो अझै थप केही बाच्ने इच्छा छ कि ?
धेरै बाँचेर मात्र केही हुने होइन । थोरै समयमा पनि धेरै गर्न सकिन्छ , यदि गर्ने दृढ इच्छा र वातावरण भए । यो सय वर्ष पनि धेरै लामो हो । सताब्दी पुरुषको संज्ञा दिइएकोले जसरी पनि सय वर्षसम्म त आफूलाई पुर्याउनै पर्यो । वास्तवमा लामो जीवनभन्दा पनि बाँचुन्जेल राष्ट्रको लागि आपूmले के गरेँ भन्ने कुरा महत्वपूर्ण हुन्छ । अब धेरै बाँच्ने इच्छा छैन । मृत्यूलाई नकार्न सकिन्न भने जीवनको भर हुन्न । बाँचुन्जेल राष्ट्रको लागि बाँत्न पाऊँ बस् ।
बाँकी जीवनमा थप केही गर्ने मन छ कि ?
मन भए पनि यो बुढ्यौली शरीरले नदिने भयो । आफूले गर्न चाहेर मात्रै पनि हुँदैन। शरीर कमजोर हुँदै गएपछि पनि कमजोरी आउने, विचारमा सशक्ता नहुने, फुर्तिलोपना नहुने, उत्साह उमेरमा कमी हुँदै जाने, उमेर बढ्दै जाँदा जीवन प्रतिको दृष्टिकोणमा फरक आउदै जाने, वास्तवमा जीवन के हो ? भन्ने सोच बढ्दै जाने हुन्छ । यसरी यावत कमी कमजोरी र बुढेशकालले गर्दा अब खासै केही गर्न सकिन्छ जस्तो लाग्दैन । अब थप केही गर्न नसके पनि वाँकी रहेका अधुरा काम पुरा गर्नु छ र जीवनको रक भनेझैँ बैशाख ३० सम्म चाँहि बाँच्नु नै पर्ने भयो ।
संस्कृति, सम्पदा, परम्परा र धर्मको क्षेत्रमा सरकारको दृष्टिकोण कस्तो पाउनु हुन्छ ?
सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने काम नगरेको होइन तर सुस्त चाहीँ छ । संस्कृति, सम्पदा संरक्षण र सम्वर्धन गर्नका लागि अर्थका कुरा, प्रशासनका कुरा र कार्यान्वयनका कुरा आउँछन्। एउटा पार्टि मात्र ठीक भएर पुग्दैन । जहाँसम्म २०७२ सालको भुकम्प पछि क्षतिग्रस्त भएका सांस्कृतिक, धार्मिक सम्पदाको पुनःनिर्माण कुरा छ, त्यो सार्है नै सुस्त भएको छ । त्यस्ता सम्पदा छिटोभन्दा छिटो बनाउँनु पर्छ । रानीपोखरी र धरहराका दृश्य देख्दा लाज पनि लाग्छ । नचाहिँदा दश वटा कुरा निकालेर दुर्दशा बढाइ रहेका छन् ।
जस्तो थियो त्यस्तै हुनुपर्छ भन्दैछन् नि ?
हो, सकेसम्म त्यस्तै हुन सके राम्रो । कला, संस्कृति, सम्पदा, आदिको मौलिकता मासिनु हुन्न। त्यसैले जगेर्ना गर्नु सरकारको मात्रै नभएर हाम्रो नागरिकको पनि कर्तव्य हो । तर समयको परिवर्तन र विकासलाई पनि आत्मसात गर्दै जान सक्नुपर्छ । सम्पदा संरक्षणको लागि भनेर यसो पनि हुन्न, त्यसो पनि हुन्न भनेर अडान लिनु उपयुक्त हुन्न । आफूले भने जस्तो नै हुनुपर्छ, नयाँ कुरा केही पनि नस्विकार्नै हो भने त्यसले न संस्कृति र सम्पदाको संरक्षण हुन सक्छ न त कहिले अगाडी बढ्न सकिन्छ । हामी संस्कृति र सम्पदाका धनी हौँ । यसको संरक्षण हुनुपर्छ र परिवर्तनलाई आत्मसाथ गर्दै मौलिकताको जगेर्ना गर्नुपर्छ । संस्कृति र सम्पदाको जात्रा बनाइ राख्नुभन्दा सरकार र जनता मिलेर संरक्षण र सम्द्र्धन गर्न तिर लाग्नुपर्छ ।
लामो जीवन यात्रामा नेपाल र नेपाल सरकार र राजनीतिलाई कसरी हेर्नु भएको छ ?
यसो हर्नेु, छिमेकी मुलुकहरू कहाँबाट कहा पुगिसके। कति विकास भइसके। हिजो राजाको निरंकुश र पंचायती शासन थियो। जनताले खान र लाउन मात्र पाउँथे। आज जनता पूर्ण स्वतन्त्र छन्। त्यो बेलासँग तुलना गर्न सकिन्न । तर अहिले राजनीति प्रदुसित छ। देशमा भ्रष्टचार व्याप्त छ। खुट्टा तान्ने प्रवृति बढ्दो छ। हिजो जनताले किन पंचायत फाले भन्ने बिर्सनु हुन्न। राजतन्त्रको ठाउँमा गणतन्त्र आएको छ। जनता शक्तिशाली बनेका छन् भने अहिलेको सरकार पनि बलियो सरकार छ। विश्वास गर्ने ठाउँ छ । सरकारले धेरै गर्न सक्छ । सबैको साथ लिन सक्नुपर्छ। सरकारमा बसेकाहरूले ईश्वरको नाममा र जनताका नाममा खाएको कसम र सपथ बमोजिम मात्र काम गरेपनि हुन्छ। राष्ट्रका निम्ति काम गरुन र जनताका निम्ति काम गरुन, अरु के चाहियो र ?