उपेन्द्र खनाल,
वर्षः०१ | अङ्कः०६ | माघ २०७५
तनहुँको पुरानो सदरमुकाम थियो कुनै बेला बन्दीपुर । त्यतिखेर यस ठाउँमा यातायातको सुबिधासमेत थिएन । तर समयको परिवर्तनसँगै बिस्तारै सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका बस्तुहरू गाउँगाउँमा पुग्दै गयो र बिस्तारै बन्दीपुरले कोल्टे फेर्दै गयो । परिवर्तनले गाउँको विकास हुँदै गए पनि २०२५ सालमा भने बन्दीपुर सदरमुकाम बन्दीपुरबाट दमौली सारियो । त्यसपछि फेरि बन्दीपुरको महिमा कम हुँदै गयो ।
नेवारी समुदायको बाहुल्यता रहेको यस ठाउँमा बन्दीपुरको सहरी संरचना दुई वर्ष पुरानो हो । त्यहाँ रहेका कलात्मक घर तथा बाटोमा बिच्छ्याइएको ढुंगाले समेत थप आकर्षण बढेको छ । अहिले बन्दीपुरले फेरि बिस्तारै फड्को मार्दै गएको छ । पछिल्लो समय बन्दीपुरसम्म पुग्ने सडक कालोपत्रे भै सकेको छ भने ठूला ठूला होटेलहरूसमेत निर्माण भएका छन् । हाल बन्दीपुरमा साना ठूला गरी ५६ वटा होटेलहरू सञ्चालनमा छन् । विशेष गरी विदेशी पर्यटकको ओइरो लाग्ने बन्दीपुरमा हिजो आज स्वदेशी पर्यटकसमेत उल्लेख्य मात्रामा घुमफिरमा आउन थालेका छन् ।
बन्दीपुरलाई ‘‘पहाडकी रानी’ को नामले पनि चिनिन्छ । बजारमा रहेका मौलिक कलात्मक घरहरू, ढुङ्काले छापेको बाटो, मठमन्दिर, सफा र चिटिक्क बजारको सौन्दर्यले पर्यटकको झन मन नै लोभ्याउने गरेको छ । गतवर्ष मात्र बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटक गरी डेढ लाखभन्दा बढिले अवलोकन गरेका छन् । त्यहाँको रमणीय वातावरण कलात्मक घर, खड्गमाई मन्दिर, भ्यू प्वाइन्ट तथा हिमशृत्रलाले मन नै आनन्दित पार्दछ । त्यस्तै गरी चट्टान आरोहण गर्न र एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफासमेत बन्दीपुरबाट नै नियाल्न सकिन्छ ।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैस गुरुङले बन्दीपुरको आफ्नै चिनारी भए तापनि यसलाई विश्वव्यापी बनाउन अझै बढी प्रचारप्रसारको खाँचो भएको बताए । बन्दीपुरमा कोलाहलबाट दिक्क भएका मानिसहरूलई बढी मात्रामा मुड फ्रेस बनाउने उपयुक्त ठाउँ छ । त्यस्तैगरी त्यहाँको मौसम जाडोको समयमा पनि खासै चिसो नहुने र गर्मीको समयमा पनि तातो हावा आउँदैन ।बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले परम्परागत मौलिक घरहरूले बन्दीपुरको सुन्दरता थपिएको बताए । ‘बन्दीपुरमा अझै बढी भौतिक संरचनाको अभाव छ, त्यसको लागि अव गाउँपालिकाले पनि पहल थाल्छौ, उनले भने ‘यसको विकास गर्नुका साथै गण्डकी प्रदेशकै एउटा नमुना गाउँपालिका बनाउने अभियानमा छौं ।
बन्दीपुरमा रहेको विभिन्न ठाउँमा अहिले होमस्टेसमेत सञ्चालन गरिएको छ । बन्दीपुर घुम्न मन भएका तर आर्थिक स्थिति अलि कमजोर भएकाहरूका लागि होमस्टेले सहुलियत दिलाएको छ । झन हिजोआज होमस्टेमा बस्न र खान रुचाउने आन्तरिक पर्यटकको संख्यामा बृद्धि आएको छ । खानाका साथमा अर्गानिक परिकारहरू पाइने छ । लोकल कुखुराको मासु, सिस्नो, गुन्द्रुक, भट्ट, कोदाको रोटी, तरुल लगायतका परिकारको स्वाद लिन पाइने हुँदा बढी मात्रामा पर्यटकले होमस्टे रुचाउन थालेका छन् । होमस्टे चलाएदेखि बन्दीपुरका फुर्सदिला महिलाहरूले काम पाएका छन् भने अर्कोतिर आम्दानीसमेत बढाएका छन् । त्यस्तै होमस्टेमा रमाउन आउने पर्यटकलाई समेत उनीहरूले सुलभ दरमा खाने र बस्ने प्रवन्ध मिलाएका छन् । प्रायजसो होमस्टेमा बस्न आउन चाहनेहरूले पहिले नै सम्पर्क गरी आउँदा सहज हुनेछ ।