संजीव सिंह/आर.डी. श्रेष्ठ,

वर्षः ०१  | अङ्कः ०५  | पौष २०७५

नेपाली गीतिकाव्य भर्ने मुर्धन्य गीतकार

  • जाग लम्क चम्क हे नौजवान हो
  • ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो
  • स्वर्गकी रानी मायाकी खानी
  • फूलको डाली डालीमा
  • उकाली ओराली गर्दै, आँखाभरी रहर भर्दै
  • आँखाको भाका आँखाले
  • विछोडको पिडा नसकी खप्न
  • त्यो खोलाको सङ्लो पानी
  • भो भो नसोध मलाई

‘पन्छीमा डाँफे राम्रो, फूलमा लाली गुराँस

हामीलाई लाग्छ राम्रो, नेपाली धर्ती आकाश’

उनी, अर्थात रत्न शम्सेर थापा । गीति लेखनमा शिखर चुमेका व्यक्तित्व अनि संगीत र स्वरका पारखी । सांगीतिक श्रेत्रका एक जाज्वल्यमान तारा । सादा र सरल जीवन शैली । साधारण तर आकर्षक व्यक्तित्व । झट्ट हेर्दा सा¥है घमण्डी र खरो तर यथार्थमा नरिवल भित्रको पानी जस्तै सग्लो र नरम । उनै रत्न शम्सेर थापाकोमा जाने निधो भयो मुलुक टाइम्सको पाचौँ संस्करणका लागि । हामीले पाएको निश्चित समयमा पुग्यौँ, ढोकैमा भाउजुसँग जम्काभेट भयो । हामी स्वागतका साथ भित्र छिर्यौं । कोठामा रहेको सोफमा बस्यौँ । आँखा तिरमिराए जस्तै भयो । कोठाको भित्ताभरी ठेलमठेला गरी अटाइ–नअटाइ सम्मानका प्रतिकहरू अढेस लागेर टाँसि रहेका थिए। ठाउँ नपाएर कति सम्मान पत्र र पुरस्कारहरू चाङ्ग पारेर रहेका थिए । सबै सम्मान पत्रमा ध्यान पु¥याउन भ्याइ रहेको थिएन् । सायद कुनै पनि सम्मान रत्न शम्सेरबाट पृथक हुन पाएन् होला। यस्तो महसुस भयो कि रत्न शम्सेर र सम्मान एक अर्काका लागि नै हुन् कि ?

रत्न शम्सेरलाई सम्मानको भोक त्यत्ति थिएन् तर सम्मानको ओइरो रत्न शम्सेर तर्फ लागेको देखियो। त्यसैले सम्मानलाई रत्न शम्सेरको भोक निकै लागेको महसुस देखियो । रत्न शम्सेर हुन् नै सम्मानका योग्य । उनीद्वारा रचित गीतहरूले धेरै गायक–गायिका, संगीतकारहरूलाई सम्मानित बनाई दिएको छन् भने स्रोतालाई मंत्रमुग्ध तथा राष्ट्रलाई समृद्ध । रत्न शम्सेर थापाद्वारा रचित शव्दहरूमा संगीत भर्न र स्वर दिन पाउँदा गर्व महसुस गर्छन् कलाकारहरू । हत्तपत्त जो कसैलाई संगीत भर्न र स्वरवद्य गर्न उनी राजी हुँदैनन् । उनी भन्छन्ः ‘ शब्द, संगीत र स्वरको भाव र गहिराइ नबुझी राम्रो गीत बन्दैन ।’

सुनेको थिँए, रत्न शम्सेर थापा सहज छैनन्, अलि बेग्लै छन्, घमण्डी–घमण्डी छन्… यस्तै यस्तै । हो कि क्या हो, यस्तो लाग्थ्यो पनि । एउटा प्रतिष्ठित साहित्यकार र मुर्धन्य गीतकार, हुन पनि सक्छ मनमा यस्तै कुरा खेल्थ्यो । फेरि सोचेँ – पानी जस्तो सललल, हावा जस्तो फररर अनि फुलको सुबास जस्तो हररर भए भावभाव शव्द–शव्दमा वहन सक्ने त्यस्तो मान्छे कठोर होइन् पक्कै नरम नै हुनुपर्छ । नभन्दै उनीसँगको साढेँ दुई घण्टाको त्यो बसाँइमा काहिँ कतै कठोरता भेटिएन । कहि कुनै घमण्ड भेटिएन् न त सुनेँ जस्तै अभिमानी नै भेटियो । भेटियो त मात्र आत्मस्वाभिमानी, आत्म–सम्मानमा बाँच्ने एक संघर्षशील व्यत्ति अनि गीत, संगीत र आवाजलाई पैसाको तराजुमा  तौलन  नचाहने सृजनाका पुजारी ।

शव्द शव्दमा जीवनका भावना प्रवाह गर्न माहिर रत्न शमशेर थापासँग सांगितिक भेटघाट धेरै भएको भएता पनि प्रत्यक्ष भेटघाट र कुराकानी भने पहिलो नै हो । उनका गीति प्रभावको प्रचुरता थियो नै उनको साद्गी, स्पष्टता, निडरता र स्वाभिमान स्वभावले उनलाई अझ स्पष्टसँग ऐनाजस्तै बुझ्न सजिलो महसुस भयो ।रत्न शम्सेर गीत लेख्छन् तर पैसाका लागि होइन् । उनी भन्छन्ः ‘गीत लेखेर मैले पैसा चाहिँ कमाइन् ।’ गीतकार रत्न शम्सेर थापालाई गीतकार कै रूपमा मात्र चिनी रहँदा उनका अन्य पाटोप्रतिको सक्षमतालाई पनि विर्सन मिल्दैन । उनले गीतिकथा, कविता, निवन्ध मात्र नभएर हास्यव्यङ्ग्य र एकांकी, नाटकमा समेत कलम चलाएका व्यक्ति हुन् । विद्यार्थी कालदेखि गीत लेख्न थालेका रत्न शम्सेर, गायनमा पनि कति सक्षम थिए भन्ने कुरा २०१४ सालतिर राष्ट्रिय पुस्तकालयद्वारा आयोजित प्रतियोगितामा गीत गाएर स्वर्ण पदक जितेकोबाट प्रष्ट हुन्छ।

श्रष्टासंग लेखकद्वय

कुराकानीकै क्रममा गीत लेखेर पारिश्रमिक नै लिनु पर्दा एउटा गीतको पाँच हजार लिने गरेको बताए भने एकपटक गीत लेखेर पाएको एउटा गीतको १५ हजारलाई पनि स्मरण गरे । सायद गीतका त्यो पाएको १५ हजार उनका लागि आश्चर्यको रूपमा थियो। रत्न शम्सेरले गीत बनाउनको लागि शव्द सृजना वाहेक लगानी भने कहिल्यै गर्नु नपरेको बताए। गायक, गायिका र संगीतकारलाई निःशुल्क रूपमा धेरै गीत  दिए उनले ।रत्न शम्सेर गीत संख्यामा भन्दा स्तरीयता हुनुपर्नेमा ढीठ छन्। गीतका लागि गीत होइन वल्की गीत के–का लागि भन्ने कुरामा गीतकार स्पष्ट हुनुपर्ने उनको धारण छ। त्यसैले पनि होला उनीद्वारा रचित गीतमा मात्र नभएर शव्द–शव्दमा गीत भेटिन्छ। उनका अनुरूप गीतकार र संगीतकारबीच आत्मा र शरीरको जस्तो सम्वन्ध हुनुपर्छ। गीतकाले संगीतको म्रम र भाषा बुझेको हुनुपर्छ भने संगीतकारले  गीत  भित्रको साहित्य। यो सम्वन्ध अन्युन्याश्रित भयो भने गीत जीवन्त हुन्छ। त्यसपछि गीत तथा संगीतको संम्रिश्रणलाई आवाजले आधार प्रदान गर्दछ ।

गीतकार रत्न शम्सेर थापा एक त्यस्ता गीतकार हुन् जो ट्यूनिङ्गमा गीत रच्न माहिर छन् । उनी आफ्नै भावमा मात्र होइन अरु कसैको भावमा हुवुल्की मारेर समुन्द्र भित्रबाट मोती टिपेझैँ मनका वहाव अंजुलीमा थापेर ट्यूनिङ्गहरू संगीतमा शव्द–शव्द भई वहन गर्न सक्षम छन् । उनी भन्छन्, ‘म जस्तो सुकै ट्यूनिङ्न भएपनि गीत बनाउन सक्छु, बनाएको पनि छु ।’ गीतकारले संगीतको भाव बुझ्नै पर्छ, त्यस्तो भयो  भने शव्दमा न्याय हुन जान्छ । रत्न शम्सेरकका शव्दहरू प्रवुध्द संगीतकार नाति काजी, गोपाल योञ्जन, अम्वर गुरुड्डदेखि अहिलेका युवा संगीतकारका संगीतहरूमा ढुकढुकी बनेका छन् । पुराना संगीतकार हुन् या नयाँ कसैको पनि पहिलो रोजाइका गीतमा रत्न शम्सेरकै पर्ने गरेको उदारहणहरू छन् । उनी गर्वका साथ भन्छन् पनि, ‘चलचित्रहरूमा पनि तहल्का मच्चाउने गीतहरू लेखेको छु ।’

हुन पनि उनले चलचित्रमा दिएका गीतहरूले तहल्का मचाएका पनि छन् । चलचित्र ‘सिमाना’को उकाली ओराली गर्दै होस् या चलचित्र ‘चोखो माया’ को सप्तरङ्गी फुलै फुल्यो वन भरी पाखामा होस् सबै गीतले दर्शक र श्रोताको मनमा फुल फुलाएकै छन् । गीतमा झुल्न तयार बनाएकै छन् । साठी बर्षभन्दा बढी समयदेखि निरन्तर सृजनमा डुबेका रत्न शम्सेर थापाका गीतले जति धेरै संगीतकार, गायक, गायिका र श्रोताहरू आकर्षित बनाएका छन्, उनी आफैं भने ठुलो भिडभाड् र भव्यता प्रति आकर्षित छैनन् । शान्त, सौम्य अनि एकान्त प्रिय मन पराउने रत्न शम्सेर भिडभाडबाट टाढै बस्छन् । उति बेलाका गीत, संगीत र स्वरको सामनजस्यता, मिश्रण र अन्तर सम्वन्ध यतिवेला पाउँदैनन् उनी । ‘उती वेला एउटा गीत बनाउन गरिने तयारी, रियाज र मिहिनेत अहिले चर्चामा आउने प्रायः गीतमा देख्दैनन् उनी । पहिले गीतकारले लेखेको गीतमा संगीतकारले वडो मेहेनत गरेर संगीत भर्ने र कठिन रियाज पछि गायक-गायिकाले स्वर दिने गरिन्थ्यो । तर अहिले संगीतकारले आफ्नो मुडमा बनाएको संगीतमा शव्द भर्नु पर्ने हुन्छ’, भन्छन् रत्न शम्सेर ।

नातिकाजी, नारायणगोपाल र रत्न शम्सेरको सांगितिक जोडी आफैंमा दर्हो र गहिरो थियो । स्वंय तीनै जनाको लागि पनि अविष्मरणीय आत्मिय रहेको महसुस गर्छन उनी । त्रिचन्द्र कलेजमा पढ्न भर्ना भएका तीन श्रृष्टाहरू जव एक भएँ, त्यही बेलादेखि सांगितिक यात्राले निरन्तरता पाएको बताउँछन् रत्न शम्सेर । २०१८ सालतिर नै नारायण गोपालको स्वरमा ६ वटा गीत एकै पटक रेकर्ड भएको थियो कलकत्तामा । यसमा संगीत पनि नारायणगोपाल स्वयमको थियो । जसमा ‘आँखाको भाका आँखैले’, ‘स्वर्गकी रानी माया की खानी’, भो–भो नसोध अब मलाई’, ‘ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो’, कुञ्जमा गुञ्जियो स्वर कोइलीको’ र विछोडको पीडा नसकी खप्न दशैंको बेलामा’ रहेका छन् । सवै गीतले त्यत्ति वेला श्रोताको मन खिचेको मात्र थिएन, नारायणगोपाल र रत्न शम्सेरको जोडीको स्मरण अहिले पनि सांगीतिक आकाशमा तारा झैं चम्किनै रहेका छन् ।

रत्न शम्सेर थापाका लागि गीतको गहिराई कतिसम्म हुने गर्दछ भन्ने कुरा भारतका नामुद संंगीतकार जयदेवले सन् १९७४ तिर भारत जाँदा उनीसँग गीत मागेकोबाट थाहा हुन्छ भने यहाँ पनि जो कुनै संगीतकारले उनीसँग गीत माग्ने हिम्मत गर्न सक्दैनन् । कतै गीतमा न्याय गर्न नसकिने पो हो कि आशंकामा रहने गर्छ अहिलेका संगीतकारमा । वास्तवमा रत्न शम्सेर र उनका रचनाहरू हुन्छन् नै त्यस्ता कि हत्पत शव्दको त्यो भाव र गहिराइमा डुबेर संगीत भर्न र स्वरवद्य गर्न सहज हुँदैनन् ।

करिव तीन हजारभन्दा बढी गीत रचेका रत्न शम्सेरले आफ्ना गीत पैसाका लागि बजारमा बेचेनन् । न त गीतलाई आय श्रोतको माध्यम नै बनाए । आफ्ना पुर्खाको सम्पत्तिमा जीवन बाँचेका उनले जागिर पनि कहिल्यै खाएनन् । पैसा कमाउने र जम्मा गर्ने इच्छा उनमा पलाएन । नयाँ नयाँ भाव, नयाँ शव्द संयोजन र उत्कृष्ट गीत सृजना नै उनको जागिर बन्यो । दर्शक र श्रोताले दिने सन्तुष्टिको भाव र आत्मसन्तुष्टि नै सम्पत्ति बन्यो रत्न शम्सेरका लागि ।

यद्यपी रत्न शम्सेरका शव्दहरूमा धेरै नयाँ पुराना गायक÷गायिका र संगीतकारलले संगीत र स्वरहरू सजाएका छन् । कति गीतहरू कालजयी बनेका छन् । कति संगीतकारहरू संगीतमय भएर तरङ्गित भई रहेका छन् । सांगीतिक आकाशमा भने कति स्वरहरू जीवन्त भई गुञ्जी रहेका छन् मधुर आवाजका साथ । कालजयी गीतकार, आत्मभिमानी र गौरवान्वित गीतकार रत्न शम्सेर थापालाई उनको जीवन्त गीतियात्रा अविचलित – अविछिन्न रूपमा निरन्तरता पाउँदै जाने सुभेक्षा र विश्वासका साथ प्रेमध्वज प्रधानद्वारा स्वरवद्ध रत्न शम्सेर कै रचनाको यो गीत प्रस्तुतीका साथ विश्राम ।

घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन

बाँधिए माया फेरी गा¥हो हुन्छ फुकाउन …