संजीव सिंह,
वर्षः ०१ | अङ्कः ०४ | मंसिर २०७५
समय–निरन्तर वर्षौदेखि चल्दै आएको नियमित र गतिशिल तथा अपरिवर्तित प्रवाहधारा हो । सदियौं आए र गए, युगौँ परिवर्तन भए मावन समाजको इतिहासको कयौँ कालखण्ड अवसान र उदय भयो यद्यपि आफ्नै गतिमा गतिमान र चलायमान भइरहे – समयको सुई । दिन–रात, घाम–पानी, सुख–दुःख, हाँसो–रोदन, आरोह–अवरोह, सफलता–असफलता, पुरुष–महिला, बच्चा–वृद्ध, पशुपङ्क्षी–जनावर प्रकृति, नदी–ताल, हिमाल–पहाड–तराई, धर्म–अधर्म, साधु–सन्त, चोर–बदमास, नियत–नीति, जीवन–मरण, कसैको लागि आफ्नो सिद्धान्त र गति फेरेन समयको सुइले । न एक सेकेण्ड ढिलो – न एक सेकेण्ड बढी-चाँडो । हामी ढिलो या चाँडो वा ठिक्क समयमा के गर्यो गरेनौँ – बहस बन्यो तर समयले कुनै वास्ता गरेन उल्टै सधै एकनास निरन्तर चलिरहे, चलिरहने छ । फरक यती हो हामी समय समयमा के कस्तो चालहरू चल्दै गयौँ । हो, यही समयलाई अनेकौँ तवरले नाप्ने र प्रस्तुत गर्ने कोशिस मानवले गर्दै आए जसको फलस्वरूप घडीको विकास हुन गयो । विग वेन – विग वाल, विग–टावर आदिको अवधारणा सिर्जना हुँदै आयो ।
शहर र मुलुकको शान एवं प्रतीक बन्न थाले यस्ता खाले प्रतिमा जसले समयको गरिमा र महत्वको वर्णन गर्दछ । नेपालमा पनि यस्तै अवधारणाको क्रममा काठमाडौँमा घण्टाघरले सर्वप्रथम आफ्नो पहिचान र प्रतिकको प्रतिमूर्ति पायो । निरन्तरता र भव्यताको गरिमासँगै मुलुकको अनेकौँ ऐतिहासिक महत्वको नगरी बीरगञ्जले केही वर्ष पछि यस्तै अर्को घण्टाघरको अवधारणालाई साकार र मूर्तरूप दिई छाडे ।
वीर शमशेरद्वारा स्थापित शहर वीरगंज मुलुकको आर्थिक राजधानी पनि हो । भोजपुरी भाषाको नगरी, साहित्य–कला, शिक्षा एवं खेलकूदको उद्गम वीरगंजको मध्यभागमा अवस्थित घण्टाघर यसको पहिचान र शान बनिसकेको छ । झण्डै चार दशक अगाडि निर्मित बीरगंजको घण्टाघर मुलुककै सर्वाधिक आकर्षक, कलात्मक तथा प्रख्यात छ । बीरगंजको घण्टाघर जति प्रसिद्ध छ यसको निर्माणको कथा पनि उत्तिकै रोचक र सराहनीय छ । जापानको योगानो शहरका स्कूले विद्यालयका बच्चाहरूले आफ्नो खाजा र खानाखाने पैसा जोगाएर यसको निर्माणमा मद्दत पु¥याएका थिए । साथै जापनिज सिको ब्राण्डको घडी टावरमा जडान गर्न उपहारसमेत पठाएका थिए ।
सन् १९७६ ताका निर्माण भएको वीरगंजको घण्टाघर बनाउनमा तात्कालीन अञ्चलाधीश लक्ष्य बहादुर गुरुङ र स्थानीय जनताको सक्रिय सहभागितामा नगर पञ्चायतले जग्गा उपलब्ध गराएको थियो । तत्कालीन वीरगंज जेसिस र जापानिज जेसिसको पहलमा निर्माण भएको घण्टाघर आज पनि वीरगंज लगायत मुलुककै लागि गर्वको विषय–वस्तु बनेको छ । अद्भुत कलात्मक शैलीसहित शहरको मध्यमा अवस्थित बीरगंजको घण्टाघरले जो कोहीलाई पनि आफ्नोतर्फ आकर्षित गरिरहेको पाइन्छ । विगत केही दशकदेखि वीरगंज महानगरपालिका र नेपाल टेलिकमको संयुक्त पहलमा यसको संरक्षण र संवर्धन हुँदै आए पनि अझ यसको मर्मत, रंगरोगन र सुरक्षाको खाँचो रहेको बताउनु हुन्छ स्थानीय वरिष्ठ पत्रकार शंकर उपाध्याय । विगत चार दशकदेखि अनेकौँ उतार–चढावका वावजुद वीरगंजको शान र मुलुकको पहिचानको रूपमा स्थापित घण्टाघरको आवश्यक रेखदेख, संबर्धन र प्रबर्धनका पनि नितान्त निरन्तरता देखिन्छ । अन्ततः राष्ट्रको गरिमामय र ऐतिहासिक धरोहर वीरगंजको घण्टाघरको ख्यातीलाई पर्यटकिय गन्तव्यको रूपमा रूपान्तरित गर्दै समयसापेक्ष साकार गर्नुपर्ने देखिन्छ ।