सुजीतकुमार झा ,
वर्षः ०१ | अङ्क ०४ | मंसिर २०७५
जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरमा एकातिर विवाहपञ्चमीको तयारी भइरहेको छ भने अर्कोतर्फ सौन्दर्यीकरणका कार्य अगाडि बढाइएको छ । सवासय वर्ष पुरानो सो मन्दिर राज्यबाट मात्रै उपेक्षित नभएर कसैले देखरेख गरिरहेका थिएन तर अहिले मन्दिर विकासका लागि कयौ निकाय अगाडि आएको छ ।
नेपालकै प्रमुख मन्दिरमध्येका जानकी मन्दिरलाई सौन्दर्यीकरण गर्न प्रदेश २ सरकारले ८ करोड खर्च गर्ने योजना सार्वजनिक गरेको छ । गैरआवासीय नेपाली संघले विद्युत्ीकरणका लागि साढे ३ करोड लगानी गर्ने सम्झौता नै गरेको छ । पुरातत्व विभागले पनि जानकी मन्दिर संरक्षणका लागि चालु आर्थिक वर्षमा १ करोड बजेट विनियोजन गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत ८ करोड खर्चेर मन्दिरको बाहिरी तथा भित्री परिसरमा आकर्षक टायल्स र सिंहमर्मर जडान गर्ने, ढलनिकास तथा विद्युत्ीकरण आदि गरिने जानकारी दिएका छन ।
प्रदेश २ का सरकारले मंसिर १२ गते मन्दिर सौन्दर्यीकरण कार्यक्रमको उदघाटन राखेको छ । सोही दिनदेखि मन्दिरमा सौन्दर्यीकरणको कार्य शुरु गरिने जानकारी प्रदेश २ को सरकारबाट प्राविधिक कार्यदेखि रहेका जिल्ला सिँचाई कार्यालय जनकपुरका डिई भगवान झाले बताएका छन ।
यसैगरी गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिर व्यवस्थापनको तर्फबाट मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवबीच असार ९ गते मन्दिरमा लाइट सिस्टम जडान गर्ने समझौता भएको थियो । सम्झौता अनुसार एनआरएनले उक्त कामका लागि ३ करोड ५० लाख खर्च गर्नेछ ।
मन्दिरका उत्तराधिकारी महन्थ दासका अनुसार मुख्यमन्त्री कार्यालयका प्राविधिकहरूसँग मन्दिरको भित्री प्रांगणमा सेतो टायल्स र बाहिरी प्रांगणमा रातो टायल्स जडान गर्ने मौखिक सहमति भएको छ । यसका अतिरिक्त मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मन्दिरको भित्र र बाहिर ढल निकास, कम्पाउण्ड–वाल वरिपरि वृक्षरोपण तथा आधुनिक विद्युत्ीकरण लगायतका काम हुनेछ । पुरातत्व विभागको कार्ययोजना भने अझै बनिसकेको छैन ।
सन् २००८ देखि जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अभियान पनि जारी छ । शुरुमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले थालेको यस अभियानलाई पछिल्लो पटक भोर नामक गैरसरकारी संस्थाले निरन्तरता दिँदै छ ।
२०७१ असोज १५ गते जानकी मन्दिर प्रांगणबाट सुरु भएको उक्त अभियान अन्तर्गत हस्ताक्षर अभियान, पैरवी तथा अन्तक्र्रिया आदिको आयोजन हुँदै आएको छ । भोरका अध्यक्ष राजकुमार महतोका अनुसार जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सञ्चालन गरिएको हस्ताक्षर अभियान अन्तर्गत पहिलो किस्तामा संकलित ५५ हजार हस्ताक्षर संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय मार्फत् युनेस्कोलाई बुझाइसकिएको छ ।
मन्दिरको बाहिरी परिसरमा खरञ्जा र टायल्स जडान गर्ने, साधु भवन निर्माण गर्ने, गाईगोठ निर्माण गर्ने काम हुँदै आएको छ ।
प्रदेश सरकार, एनआरएन तथा पुरातत्त्व विभागका गरी जानकी मन्दिरमा यस आर्थिक वर्षमा साढे १२ करोड खर्च हुने देखिन्छ । जनकपुरधाम उपमहानगरपालिकाले जानकी मन्दिरका अतिरिक्त वरिपरिका विवाहमण्डप, तेलहा–मडहा, अरगज्जा पोखरी आदिको संरक्षण तथा सौन्दर्यीकरणका लागि विभिन्न निकायसँग समन्वय गरिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा जानकी मन्दिरलाई केन्द्र बनाएर भारत सरकारले एक सय करोड खर्च गर्ने घोषणा गरेका छन । त्यसको कार्य पनि बढी रहेको प्रदेश २ का मन्त्री जितेन्द्र सोनलले बताएका छन् । भारत सरकारले केही धर्मशाला पनि बनाउने कार्य अगाडि बढाएको छ ।
आदर्श नारी सीताको जन्मस्थल र मर्यादापुरुषोत्तम रामको ससुराली जनकपुरधाम हिन्दु धर्मावलम्बीहरूको पहिलो गन्तव्य हो । हिन्दु, मुगल र मिथिला वास्तुकलाका अनुपम त्रिवेणी भनिएको जानकी मन्दिर नेपालकै गौरव हो । जानकी मन्दिरमा राम र सीताको मूर्ति रहेको छ । जानकी मन्दिरमा निष्ठापूर्वक पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ ।
भारतको जयपुरको लोहागढका साधु सुरकिशोर दास जनकपुरधाम पत्ता लगाएका थिए । भनिन्छ उहाँलाई जानकीले नै स्वप्नमा यही मेरो जन्मभूमि रहेको बताएकी थिइन । शुरुमा उहाँले नै सानो कुटी बनाएर पूजा प्रारम्भ गरेका थिए । त्यही बेलादेखि जनकपुरधाममा पूजा गर्न बाहिरबाट साधु सन्तहरू आउन थाले ।
जानकी मन्दिरको वर्तमान स्वरूप टिकमगढकी महारानीले बनाएकी थिइन । भाकल गर्दा पुत्र प्राप्त भए पनि वृषभानु कुमारीले ९ लाखको लागतमा मन्दिर बनाएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन । जानकी मन्दिरको शिलान्यास सन् १८९४ मा गरिएको थियो भने सन् १९११ मा मन्दिरको निर्माण कार्य पूरा भएको थियो । सुरकिशोर दास वैष्णव जानकी मन्दिरका आदि महन्थ थिए भने अचेल १४ पुस्ताका रामतपेश्वर दास वैष्णव महन्थ छन । जानकी मन्दिरको निर्माण भने ११ औं पुस्ताका महन्थ रामकृष्ण दासको पालामा भएको जानकारहरू बताउँछन ।
मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो । मन्दिरको वार्षिक क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप नै हुने गर्छ । राम जन्मको अवसरमा प्रत्येकक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन–भदौमा झुला, फागुनमा परिक्रमा लगायत मनाइनु यसकै उदाहरण हो । जानकी मन्दिर ४ हजार ८ सय ६० वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । जानकी मन्दिरलाई नेपालको सबैभन्दा ठूलो मन्दिर भनिन्छ ।
भगवान राम जानकीकै कारण भगवान बनेकाले पनि जानकी र जनकपुरको महत्व संसारभरि अत्याधिक रहेको प्रदेश २ का विधायक सुरिता साह बताउँछिन । उहाँले भगवान रामको सन्दर्भमा भन्नुभयो जनकपुर आउनुभन्दा पहिला उहाँ एउटा राजकुमार मात्रै थिए ।
विधायक एवं सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष रामआशिष यादवले भन्नुभयो, “पशुपतिनाथ पछि नेपालमा पर्यटकका लागि जानकी मन्दिर, गौतम बुद्धको जन्मस्थल र सगरमाथा रहेको छ ।” यो स्थलले नै संसारका पर्यटकलाई जनकपुर ल्याउन सकिन्छ उहाँको कथन रहेको छ । भारत सरकारले पर्यटन विकासका लागि अहिले रामायण सर्किट योजना ल्याएको छ । सो अन्तर्गत त्रेता युगमा जहाँ जहाँ राम पुग्नु भएको थियो त्यसको विकास गरिने छ । यो हिसाबले जनकपुरधाम पनि रामयण सर्किटसँग जोडिने कार्यक्रम चलिरहेको जानकारी नेपालका लागि भारतीय राजदूत मन्जिब सिंह पूरीले दिएका छन । सांसद यादव पनि रामायण सर्किटले जनकपुरको पर्यटन व्यवसायलाई ठूलो बल दिने बताउनु भएको छ ।
जानकी मन्दिरमा तीन पटक आरती हुन्छ । आरतीको बेला भीड लागेको हुन्छ । जानकी मन्दिरमा २४ घण्टे रामनाम संकिर्तन हुनुका साथै राम जानकीसंग जोडिएको संग्रहालय पनि रहेको छ । मन्दिरमा आउँदा कोही प्रसादी चढाउँछन, कोही मुण्डन गराउँछन, कोही अन्य कार्य गर्ने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताउनुभयो ।