आर. डी. श्रेष्ठ,

वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५

आमा, दशैं आयो रे हो आमा?

विरामी भई सुतिरहेकी आफ्नी आमालाई एउटा ५–६ वर्षको छोराले सोध्छ । आमा छोराको प्रश्न सुनेर पुलुक्क अनुहारमा हेर्छिन्, केही बोल्दिनन् । जवाफ केही नआएपछि छोराको प्रश्न फेरि तेर्सिन्छ,

“भन्नुस् न आमा दशैं आयो रे हो? रामेले भनेको उसका बाले खसी किनेर ल्याइ सक्यो रे, भोलि खसी काटेर मासु भात खानुपर्छ भन्दै थियो । हामीले पनि मासुभात खाने होइन आमा? कहिले मासु ल्याउने ?”

वच्चाको बारम्बारको प्रश्नले विरामी भई शिथिल परेकी शोभाको आँखामा आँशु रसाउन थाल्छ । मन भक्कानिन थाल्छ, केही बोल्न सक्दिनन् । टुलु टुलु छोराको अनुहार हेरिरहन्छिन् ।

विचरो त्यो अवोध बालकलाई के थाहा उसको घरमा दशैं नआएको कति वर्ष भइसक्यो भन्ने । न दशैं न मासु । छाक टार्न र भोको पेटको आगो निभाउनै धौ धौ । दशैंमा खसी ल्याउने र मासु खाने सपना जस्तै । शोभा आपैंm पनि मृत्युरोग बोकेर बसेकी छिन् । डाक्टर टिवी लागेको भन्छन् । टन्न मासु भात र तागतिला खानेकुरा खानुपर्ने । आराम गर्नुपर्ने र भारीकाम गर्न नहुने । तर उनको भाग्य  लोग्ने विनाको जीवन । छाक टार्न हरेक दिन भारी बोक्नै पर्ने अनि बच्चालाई हुर्काउन र बचाउन आफ्ना सम्पूर्ण पीडा छोप्नै पर्ने । कस्तो विडम्वना, दशैंमा छोरालाई मासुको गन्ध समेत दिन सक्दिनन् उनी ।

“आमा, मलाई भोक लाग्यो भन्या, खोइ हामीले मासु ल्याएर भोज खाने होइन ? रामेले त हिजो पनि भोज खाएको रे । मलाई भोज नदिने भन्या” एकोहोरिएकी शोभा छोराको झक्झक्याइले झसङ्कै हुन्छिन्, “के भनेको बाबु?” सोद्धछिन् उनी । “मलाई भोक लागी सक्यो भनेको उठ्ने होइन, खोइ हामीले भोज कहिले खाने, दशैंमा मासु भाग खानु पर्छ होइन?” छिटो मलाई भोक लाग्यो ।

बच्चाको भोकको आवाजले शोभालाई असहृय हुन थाल्छ । मुटुको चाल वढ्न थाले जस्तै हुन्छ – भन्छिन् “बाबु, हामी गरीबको दशैं हुँदैन छोरा, पख भोलि पर्सी म संचो भएपछि धेरै मासु ल्याएर दिउँला हैं, अहिले जाउ ल”

भर भोकाएको छोरा मान्दैन “नाईंनाईं मलाई अहिले भोक लागि सक्यो, हिजो पनि बासी रोटी दिनुभयो, छिटो न भोक लाग्यो…” शोभा केही नबोली आँशु चुहाउँदै छोराको अनुहार हेर्न थाल्छिन् । बच्चा आमाले केही नदिंदा जुरुक्क उठ्छ र लुरुलुरु बाहिरिन्छ ।

शून्य र अँध्यारो छाप्रोमा शोभाको भक्कानो छुट्न थाल्छ । गाउँका बच्चाहरु बाहीर हल्ला गरिरहेको सुनिन्छ । छोरा कतै अरु खेलीरहेको हेर्दैहोला । सानो कोठाको कुनामा पूजा गर्न राखेको भगवानका मूर्तिहरुलाई एकटक नियालेर हेरि रहन्छिन् शोभा । मूर्तिमा केही चलपल हुँदैन । भगवान मूर्तिवत स्थिर रहन्छ । शोभा मनमनै वडवडाउन थाल्छिन्, “भगवान, त यो संसारमा छस् ? कहाँ छस्  कुन दुनियाँमा छस्?” उनी सकिनसकि उठ्न खोज्छिन् तर थामिन नसकि फेरि ओछ्यानमै डंग्रङ्क ढल्न पुग्छिन्, उनलाई लाग्छ त्यो मूर्तिमा भगवान छैन, त्यो मात्र ढुङ्का हो । “तँ भगवान होइन रहेछस्, त त ढुङ्कै रहेछस्”, वडवडाउँदै उठेर भगवानको मूर्ति भुईंमा वजार्ने मन हुन्छ उनलाई तर उठ्न सक्दिनन् । जीउ थरर काम्न थाल्छ । मुटुको धकधक बढ्न थाल्छ । निधार भरी पसीना पसिना हुन थाल्छ । मनमनै धिकार्न थाल्छिन् आपूmलाई र भगवानको मूर्ति तर्पm औंला तेस्र्याउँदै चिच्चाउँछिन्” भगवान यो बच्चाको भोक देख्दैनस् भने लैजा मलाई, जीवन बचाउन सक्दैनस् भने मृत्यु त दे, तँ जस्तो निर्जिव मूर्तिलाई म पूजा गर्दिन अब, मलाई लै…जा…” बाबु.द्र..द्र…”

बाहिर अँध्यारो हुन थालेपछि बच्चा घर भित्र छिर्छ । आँखा चिम्लेर मौन बसीरहेकी आमा छेउ जान्छ, थचक्क बस्छ । आमालाई झक्झक्याउँदै उठाउन खोज्छ – “आमा उठनोस् न, मलाई कस्तो भोक लागि सक्यो, उता रामेहरू पनि भोजखान गइसके, मलाई पनि भोज दिनुस न आमा, उठ्नु न भन्या छिटो…”

तर शोभा केही बोल्दिनन्, न त कुनै चलपल नै गर्छिन् । “आमा उठ्नु न भन्या…” छोरो उठाउन खोज्छ ।

       तर,

अब शोभा छोराको भोक देख्न सक्दिनन् । न त भोको आवाज नै सुन्न सक्छिन् । पेटको भोक मेटाउने र दशैंमा मासुभात खाने छोराको बालइच्छा छाती मै गाढेर शोभा यो संसारबाट टाढिइ सकेकी छिन् । उनलाई अब छोराको भोकले दुख्दैन, न त आँखाको आँशु नै सुक्छ ।

कोठा शून्य छ । शान्त र निर्जीव छ । कोठाको कुनामा भगवानको मूर्ति सदा भैm स्थिर र मौन छ । छोरा मृत आमाको निर्जीव शरीर च्याप्दै भोकको बंदना पोख्दै गर्छ – “आमा, उठ्नु न मलाई भोक लाग्यो…भोक लाग्यो…।”