सुजीतकुमार झा

वर्षः ०१ । अङ्क ०३ । कार्तिक २०७५

मिथिलाञ्चलको गाउँ गाउँमा अहिले झिझियाको गीत गुञ्जिन थालेको छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व रहेको छ । घटस्थापनादेखि विजयादशमी सम्म देवी स्तुतिको रूपमा यो नृत्य गरिने गरिन्छ । बोक्सीबाट आÇना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गरिने गरिएको जनविश्वास रहेको छ ।

यसको बनावट र स्वरूपभित्र जादू टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैँटो त्यसकै नमूना हो । टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृतिले यसमा  निहित विशेष अर्थलाई संकेत गर्दछ । महिलाको टाउकोमा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गन्न सफल भयो भने नाच्ने महिला ठहरै हुने जनविश्वास रहेको छ । त्यसै कारण सो घैँटो टाउकोमा राखी जादु टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रूपमै नृत्य गरिने गरिन्छ ।

झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ । त्यो विशेष सुर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अदभूत् वातावरणको निर्माण हुन्छ । नृत्यसँगै गाइने सो गीतमा बोक्सीलाई गाली गरिनुका साथै धम्की समेत दिइने गरिन्छ । बोक्सीको अनैतिक शक्तिको प्रभाव सो गालीले कम हुने गरेको तथा सन्ततिहरूको सुरक्षा हुने जनविश्वास रहेको संस्कृतिविद डा. रेवतीरमण लाल बताउनु हुन्छ ।

झिझिया लोकनृत्य धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा लगायतका जिल्लाहरूमा गरिने गरिन्छ । त्यस्तै भारतीय मिथिलाक्षेत्रमा पनि प्रस्तुत गरिन्छ । झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोक नृत्य हो, जसमा बलिरहेको दियो भएको असंख्य प्वाल पारिएको घैंटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ, लेखक समेत रह्का राजनीतिकर्मी राजीब झा बताउनुहुन्छ ।

झिझियाको शुरुवात

मिथिलामा झिझिया नृत्यको आÇनै मौलिकता, पहिचान र इतिहास छ । घैँटोमाथि धधकिरहेको आगोको डल्ला लिएर नृत्य गर्नु आफैंमा साहस र कलाको अलौकिक प्रर्दशन हो झिझिया नृत्य । समाज रूपान्तरणसंगै लोकनृत्यहरू गायब हुन थालेका छन्  । तैपनि गाउँघर तथा शहरबजारहरूमा यसलाई जीवित राख्नका लागि भएपनि वर्षेनी झिझिया नृत्यको आयोजना गरिदै आएको छ । तराईका विभिन्न क्षेत्रमा समय समयमा बोक्सी प्रकरणका घटनाहरू सुनिदै आएको छ । कानूनले त्यस्ता प्रकरणलाइ असत्य भन्दै बोक्सीको आरोप लगाउनेहरूलाई नै सजाय दिइने नेपालमा कानूनी व्यवस्था छ । सजायको कानूनी व्यवस्था भए तापनि बोक्सीको घटनामा कमी आएको पाइँदैन ।

समाजमा बोक्सीको उपस्थिति रहेको भन्दै सातौं वा आठौं शताब्दी तिर बोक्सी विरुद्ध प्रतिकार गर्ने उद्देश्यले एउटा अनौठो नृत्यको प्रदर्शन गर्दै झिझिया नृत्यको शुरुवात गरिएको इतिहासकारहरू बताउँछन् । गाउँ घरमा ती झिझिया नृत्यले निरन्तरता पाइरहँदा शहरबजारसमेत झिझिया नृत्यबाट अछूतो रहन सकेको छैन । जनकपुरमा अहिले प्रत्येक राती समूह समूहमा महिलाहरू झिझिया नृत्य गरिरहेका देख्न सकिन्छ ।  दशैँको समयमा विभिन्न क्लवहरूकै पहलमा झिझिया नृत्यको आयोजना गरिने गरिएको पाइन्छ ।

उद्देश्य

समाजमा प्रचलित जनविश्वासअनुसार गाउँकी डाइनी, बोक्सी, महिला जादु, मन्त्र सिकेर त्यसको सिद्धिका लागि गाउँका जन्मजात बालबालिकाहरूलाई टुनामुनाद्वारा मारेर स्मशानमा त्यही मरेको बच्चालाई जिउँदो पारी नाङ्कै नृत्य गर्ने गर्छन । दशैँको समय बोक्सीहरूको सिद्धि प्राप्त गर्नका लागि उचित समय भएको हुनाले बोक्सीका घटनाहरू दशैँको समयमा बढी संख्यामा हुने गरेको पाइएको छ । घटनामा बृद्धि हुन थालेपछि महिलाहरू नै एउटा धार्मिक, साँस्कृतिक अनुष्ठानको सुरुवात गरी भगवती दूर्गाको स्तुति र गुण प्रहार गर्ने बोक्सीहरूको प्रहार शक्तिलाई निस्तेज पार्न झिझिया लोक नृत्यको प्रारम्भ गरे, जो आजसम्म चलिरहेको छ । आÇना साखा सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको मूख्य उद्देश्य रहेको छ ।

यसको अर्को उद्देश्य दशैँको समयमा देवी दूर्गालाई रिझाउनु पनि रहेको छ । झिझिया नृत्य गर्दै गाइने गीतहरूमा बोक्सीलाई गाली गर्नुका साथै भगवती दूर्गाको स्तुति गरिएका अत्यन्त मोहक गीतहरू पनि गाइन्छ । त्यसमा प्रत्येक दशैंमा आÇना खास सवारीसाथ आउने भगवतीको श्रृङ्कार डोलीमा सवारी र कामख्याको गन्तव्यको सजीव चित्रण गरिएका गीतहरू गाइने गरिन्छ ।

नृत्य पूर्वको तयारी

झिझिया नृत्य प्रारम्भ गर्नु पूर्व तयारी गर्नुपर्छ । एउटा वा दुईटा स्वच्छ घैंटो किनेर त्यसलाई सफासुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ । घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । त्यसमा मट्टितेल हालेर बालिन्छ । त्यसपछि टाउकोमा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । तर, टाउकोमा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ । अर्थात् बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा छेकबार गरिन्छ–

सभ्य गुरुक बन्दे पाउँ । बजर केवाडी ।

बजर बान्हो दशो दुआरी ।

मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो ।।

यसरी मन्त्रिएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो बलिरहेको घैंटो राखेर हातको सहारा नलिई नाच्दैं ब्रहृमस्थानमा पुगेर सबभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन् । ब्रहृमस्थानमा नृत्य गरे लगत्तै झिझियाको औपचारिक रूपमा शुरु हुन्छ । त्यसपछि घर घरमा गएर नृत्य देखाउने परम्परा रहेको छ । प्रत्येक घरबाट पूर्णाहुतिका लागि अन्न रुपैयाँ चन्दा माग्ने गर्छन् । त्यही मागिएको रकम जोडेर विजया दशमीको दिन पूजा पाठ, भोज भात र प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्य विसर्जन हुन्छ ।

नृत्यको सबल पक्ष गीत

झिझिया नृत्यको सबभन्दा सबल पक्ष सो नृत्यमा गाइने गीतनै हुन् । झिझिया नृत्यमा दूई खाले गीतहरू हुन्छन् । पहिलो देवी स्तुति र दोस्रो बोक्सीलाई गाली गर्ने तथा धम्काउने गीतहरू हुन्छन् ।

लील रंग डालीया, सबुजेङ्ग ओहरिया ।

मैयागे भीडि गेलाह बत्तीसो कहार ।

कमरुआ देश मैआ कब जइहे गे ।।

बोक्सीहरू भर्खरै मृत्यु भएका बालकलाई चिहानबाट झिकी उसलाई जिउँदो पारेर नांगै नाच्ने गरेको जनविश्वास पाइन्छ । जो बालक उसकै टुनामुनाद्वारा मारिएको हुन्छ ।

बरहमके पछुआरिए डैनियां

मत करिहें श्रृङ्कार गे बमेलेल आरती

दहिने तरुआरि गे

नचैत नचैत गेले डैनियां

सीमा ओइ पार गे सँगे सँगे गेलौ डैनियां

राजा कोतवाल गे देख लेलकौ खागै डैनियां नङ्टे उघार गे ।।

यो झिझियाको गीतको मध्यमबाट बोक्सीलाई गाली गरिने गरिन्छ ।

कोठाके उपर डैनिया, खिडकी लगैले ना,

खिडकी ओत्ते डैनिया, गुनावा चलैले ना ।

आगे किछु होएतौ डैनिया, गदहा पर चढैवौ

गदहा चढाए डैनियां नमुहां हसैबौ ना ।।

बोक्सीलाई धम्काउने काम पनि गीतकै माध्यमबाट गरिन्छ । खबरदार, यदि तिमी खिडकी पछाडिबाट टुनामुना गरी जादु चलायौ भने तिमीलाई गधामाथि चढाएर गाउँमा घुमाउँछौ र नाम बदनाम गराउँछौ यो गीतको अर्थ हो ।

समाजमा बोक्सीलाई कतिसम्म घृणित मानिन्छ भन्ने यो कुरा यो गीतको बोलबाट स्पष्ट हुन्छ ।

डैनिया बेटा मरल पडल है,

अन्हार घर झिझडी ।

कोइ नै बाँस कटबैया है

अन्हार घर झिझडी ।।

यो गीतको बोलको अर्थ घरमा बोक्सीको छोरा मरेको छ, बाँस काटनेसम्म कोही छैनन भन्ने हो ।

मैथिलीका बरिष्ठ साहित्यकार एवं संस्कृतिविद डा. राजेन्द्र विमलले झिझिया गीतको एउटा अर्को पाटो पनि छ र त्यो मनोरञ्जनात्मक र व्यङ्कयात्मक शैलीको पाटो हो बताउनु भयो । झिझिया नृत्य देखाउँदै गाउँका भद्रभलादमी कहाँ जाँदै गर्दा पूर्णाहुतिको लागि चन्दा पनि माग्ने चलन छ नगद, अन्न र मट्टितेल । दलानमा पुग्दापुग्दै गीत गाउनेहरू गाउँछन–

जाबे भैया सुनलनि, झिझियाके अबैया

ताबे भैया ठोकलनि केवार ।।

अर्थात् जब झिझिया टोली आउने सुइँको दाइले पाउनुभयो आफनो घरको ढोका बन्द गर्नुभयो । यस स्थितिमा घरपट्टि अवश्य पनि केही न केही चन्दा दिने गर्छन ।

एक डिबिया तेलला झिझिया रुसल जाइ छै, दू महला के कोन सिंगार ।।

अर्थात् एउटा दियो बराबर तेल दिन नसकेपछि झिझिया रिसाएर फर्कदा यो घरको के अर्थ ।

समाजमा प्रचलित यो झिझिया गीतले सामाजिक अन्धविश्वासलाई प्रस्ट्याउँछ । यद्यपि, गाउँटोलका महिलाहरूले आÇनो पारिवारिक शान्तिको कामना गर्दै हिन्दुहरूको महान चाड दशैंताका झिझिया नाच नाच्ने परम्परा रहेको छ । परम्परागत लोकविश्वासमा आधारित कैयौँ यस्ता लोकगीतहरू लोपोन्मुख अवस्थामा रहेको छ । सामाजिक संस्कारमा रहेको अन्धविश्वासका प्रतिछाया दर्शाउने यस किसिमका लोकगीतलाई समेत सांस्कृतिक दृष्टिले जगेर्ना गर्नुपर्ने आवश्यकता देखन्छि ।

पत्रकार एवं शेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष एवं प्रदेश सांसद रामअशिष यादवले लोक संस्कृतिको जीवन्त प्रस्तुती झिझिया नृत्य संस्कृतिको निरन्तरता कि अन्धविश्वास उखेल्न गाह्रो भएको बताउँछन् । उनले कलालाई रूपान्तरण गर्ने आवश्यकता रहेको बताए ।

दशैँको समयमा प्रस्तुत गरिने झिझिया नृत्यले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न सामथ्र्यवान रहेको पाइन्छ । ५ वर्षका बालबालिकादेखि लिएर तरुणी र अधबैसेंसम्म यस नृत्यमा सहभागी हुने गर्छन । उनका अनुसार टाउकोमाथि राखिएको घैटों र त्यसमाथि उज्यालो दिइरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैंमा एउटा ठूलो कलाको प्रदर्शन गर्नु हो ।

सुन सुन गे डैनिया कदमतर तोरा बेटाके खेबौ ब्रहृमतर बोक्सीलाई आधार मानेर यस संस्कृतिलाइ निरन्तरता दिनु अन्धविश्वासबाहेक अरु केही मान्न नसकिने भन्नेहरूको पनि कमी छैन् । तर झिझिया नृत्यमा प्रदर्शन गरिने कलालाइ रूपान्तरित समाजमा परिस्कृत गर्दै अगाडि बढाउँदा झिझिया नृत्य अझै लोकप्रिय र समाजले त्यसबाट केही लिनसक्ने  मिथिला नाट्य कला परिषद्का अध्यक्ष मदन ठाकुरले बताए ।

झिझियालाई बचाउने प्रयास

झिझियालाई बचाउन मिथिलाञ्चलमा विशेष प्रयास शुरु भएको छ । मिथिला नाट्य कला परिषद्का अध्यक्ष परमेश झाले मिनापले नेपाल भारतको विभिन्न ठाउँमा गरिने सांस्कृतिक कार्यक्रमहरूमा झिझियालाई विशेष प्रस्तुतीको रूपमा लिइने गरेको छ ।

मिनापले केही बर्षयता झिझियाको ५ सय भन्दा बढी नृत्य प्रदर्शन गरेको छ । जनकपुरकै देवी चोकमा रहेका राजदेवी युवा क्लवले दशैँको बेला प्रत्येक बर्ष झिझिया नृत्य प्रतियोगिताको आयोजना गर्ने गर्छ । दशैँकै बेला जनकपुरको राम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लवको भजन सन्ध्यामा झिझियाको विशेष प्रस्तुति हुने गर्छ । सिरहा र सप्तरीमा समेत प्रत्येक वर्ष झिझिया प्रतियोगिताको आयोजना हुने गरेको राजविराजका बरिष्ठ पत्रकार शिवहरि भट्टराईले बताए ।