रंजन झा ,

वर्ष १ । अंङ्क ३ । कार्तिक २०७५

वास्तवमा हिन्दु धर्ममा देवी पार्वतीलाई सर्वोच्च व्यक्तिको रूपमा मानिएको छ । उनी शक्ति, भक्ति र प्रेमकी देवी हुन् । भगवान शिवका दिव्य पत्नि पार्वती पुण्य, तपस्या, कौशल, प्रजनन क्षमता, शक्ति र वैवाहिक सुखको प्रतिनिधित्वसमेत गर्छिन । त्यती मात्र नभएर उनी आदि परशक्तिको भौतिक अभिव्यक्तिसमेत भएकोले उनलाई दिव्य शक्तिका रूपमा चित्रित गरिएको छ ।

सर्वमंगलमाङ्कल्ये मन्त्रमार्फत भक्तजनहरूले सोही देवी पार्वतीलाई नमन गर्छन, उनीहरूले सबैको इच्छा पुरा गर्ने, तीनै लोकका संरक्षक, तीन आँखा भएकी दिव्य शक्तिलाई नमस्कार छ भनेर माता पार्वतीप्रति श्रद्धा व्यक्त गर्छन् ।

हुनत आधुनिक विज्ञानले पनि हरेक शक्तिलाई देवी शक्तिको प्रतीक नै मानेको छ । नाम फरक हुन सक्ला तर सोही देवी शक्तिले बह्रमाण्डको सिर्जना गरेकी छन्, सञ्चालन गरिरहेकी छन् र संहारक पनि उनी नै हुन् ।

सर्व मंगल मन्त्रको जपले भौतिक शरीरमा शक्तिशाली कम्पन मात्र सिर्जना गर्दैन, दिव्य उर्जासँग जोडिन आत्मालाई अनुमति समेत दिन्छ । र यसरी परमात्मासँगको योगले ती आत्माहरूलाई साँसारिक मोहबाट मुक्त पार्ने गरेको छ । आदि परशक्तिलाई स्मरण गर्न कुनै खास समय चाहिदैन, उनी त हरपल हरक्षण हामीसँगै हुन्छिनँ तथापि कुनै उद्योगका लागि उचित समय निश्चित गरे झैं दँशैका बेला देवी शक्तिलाई विशेष रूपमा हामी स्मरण गर्छौं ।

हिन्दु धर्मावलम्बीको बसोबास रहेको  हिमवत्खण्ड कृषि उत्पादनका लागि महत्वपूर्ण मानिन्छ । परापूर्वकालदेखि नै कृषि कार्य सकेर फुर्सत भइसकेको बेलामा आश्विन प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म दँशै मनाउने प्रचलन छ । दँशै, दशहरा, दश्मी वा दूर्गापूजा जे नामले बोलाएपनि १५ दिनसम्म मनाइने यो पर्वमा देवी शक्तिको पूजा, आराधना, जप र तप गरिन्छ । वर्षात ऋmृतुको अन्त्य भएर शरद ऋmृतुको आगमन हुन थालेको यो समयमा प्रकृतिको रंग पनि  फरक हुन्छ । न गर्मी, न चिसो, न वर्षा न धुलो सबै तिर उल्लास ।

सर्व मंगल मन्त्रको जपले भौतिक शरीरमा शक्तिशाली कम्पन मात्र सिर्जना गर्दैन, दिव्य उर्जासँग जोडिन आत्मालाई अनुमति समेत दिन्छ । र यसरी परमात्मासँगको योगले ती आत्माहरूलाई साँसारिक मोहबाट मुक्त पार्ने गरेको छ ।

किन मनाइन्छ दँशै

दँशै किन मनाइन्छ वा कहिलेबाट मनाउन थालिएको बारे फरक फरक मत रहेको छ । देवीपुराण अनुसार सत्य युगमा दैत्य सम्राट महिषासुरले देवताका राजा ईन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरे । त्यती मात्र नभएर उनले देवगणमाथि आतंकपूर्ण शासन गर्न थाले । महिषासुरको आतंकले  डराएर देवगण ब्रम्हाको शरणमा गए । ब्रम्हाले सल्लाहले सम्पुर्ण देवता बिष्णुसहित महादेवको शरणमा पुगे । महिषासुरको आतंक कसरी अन्त्य गर्ने र तीनै लोकमा शान्ति कसरी स्थापना गर्ने बारे देवगण बीच छलफल भयो र अन्ततः उनीहरूले आफ्नो आफ्नो शक्तिपुंज निकाले । ती शक्ति पुञ्जहरू एकत्रित भई शक्तिस्वरूपा नवदुर्गा भगवतीको रूप धारण गरे । नवदुर्गा भगवतीले नवौं दिनसम्मको युद्ध पछि चन्ड, मुन्ड र रक्तबिजसहित महिषासुरको बध गरे । दैत्यको वध पछि तिनै लोकले राहत महसुस गरे सोही मान्यता अनुसार दशौँ दिनमा  विजय उत्सब मनाउन थालिएको हो।सबै देवगणको शक्तिपूंज माता दूर्गा भवानीले असुर शक्ति अन्त्य गरेकोले दँशैमा दूर्गा भवानीको पूजाअर्चना गर्ने प्रचलन रहेको छ ।

यसैगरी अद्भूत रामायण र श्रीमद् देवी भागवतअनुसार अर्को कथा प्रसंग जोडिएको छ दशैंसंग । रामले रावणको बध गरेर अयोध्या फर्के पछि ठूलो जनसभा भयो । त्यो सभामा  रामको जयजयकार र वीरताको बखान चलिरहंदा सीताले व्यंग्य मुश्कान छोडेको दृश्य  विश्वामित्रले याद गरेका रहेछन । जनसभा समाप्त भएपछि विश्वामित्रले सीतासँग व्यंगात्मक मुस्कानको अर्थ सोधे । धेरैबेरको अनुरोध पछि सीताले दशवटा शिर भएको रावणलाई बध गर्दा त रामको विरताको यत्रो बखान हुन्छ भने  सहश्र शिर भएका अहिरावण र महिरावणलाई बध ग¥यो भने तिमीहरूले के गर्दा हौ सोचर हाँसेको बताइन । सीताको यो अभिव्यक्तिले रामसभामा ठूलो तरङ्क पैदा गर्यो । भगवान पुरषोत्तम रामको पुरुषार्थमा धक्का लाग्यो र उनले अहिरावण र महिरावणको बध गर्ने प्रतिबद्धता गरे । युद्धको तयारी भयो । तर, घमासानको युद्धमा रामसमेत उनका भाइहरू मुर्छित भए । पति र देवरहरू पराजय निकट पुगेको देखेर माता सीताले नवदूर्गा भगवतीको रौद्र रूप धारण गरी सहश्र शिर भएको अहिरावण र महिरावणको बध गरिन । त्यो समय पनि आश्विन शुक्ल प्रतिपदादेखि नवमी नै परेको थियो । असुर शक्तिमाथिको विजय भएकोमा दशमीको दिन विजयोत्सव मनाइएको थियो ।           

यस्तै श्रीमद देवी भागवत र तुलसी कृत रामायण अनुसार लङ्गेश्वर रावणलाई रामले पराजित गर्न असमर्थ भए पछि शक्ति स्वरूपा भगवती दूर्गाको आहृवान गरेका । चैत्र शुक्ल प्रतिपदादेखि नवदूर्गा भवानीको उपासना गर्दै युद्ध गर्दा नवमीको दिन साँझ रामको लङ्गा विजय भयो । त्यसैको खुशियालीमा चैत्र महिनामा दशैं मनाउंदै आइरहेकोमा  गर्मी मौसमको कारणले त्यही दशैं असोजमा सारेको भन्ने उक्तिहरू पनि ठाँउ ठाँउमा भेटिन्छन् ।

विजया दशमी मनाउनुको कारणबारे ठाँउ ठाँउमा र भिन्न भिन्न साहित्यकारहरूले आ आफनै ढंगले व्याख्या गरेका छन । यसरी लेखिएका साहित्यको सत्यता परीक्षण गर्ने हैसियत आम मानिससँग छैन र कतिपयले ती साहित्यलाई कल्पना वा मिथ्या मात्र पनि भन्ने गरेका छन । 

विद्वान् र समीक्षकहरूका अनुसार  महिषासुर, चन्ड, मुन्ड, रावण, अहिरावण र महिरावण बिम्बमात्र हुन । उनीरुका अनुसार हरेक मानिसमा सतो गुण, रजो गुण र तमो गुण हुन्छ । आपूmभित्र रहेको आसुरी अर्थात् तमो गुण जस्तै काम, क्रोध, लोभ, मोह र अहङ्कारलाई बुझेर सत्यको पछि लाग्नु नै मानव जीवनको उद्देश्य हो । माता दूर्गा भवानीले आसुरी शक्तिलाई पराजित गरेकोले उनलाई सत्यको प्रतीक मानिन्छ र उनको पूजा अर्चना हुने गरेको छ ।

एक थरि मतअनुसार मानव शरीर नौवटा ढोका भएको दूर्ग हो । नौवटा ढोका भएको दूर्ग अर्थात नव द्वारको दूर्ग नवदूर्ग । यही नवदूर्ग शब्द कालान्तरमा नवदूर्गा भएको भन्ने कथन पनि शास्त्रहरूमा भेटिन्छन । ज्ञानरूपि दीयो बालेर अन्धकाररूपि अज्ञानतालाई परास्त गरी आत्मा रूपि मन्दिर उज्यालो पार्ने र  काम, क्रोध, लोभ, मोह, अहंकार जन्य रावण र महिषासुरको जस्तो दुर्गुणहरूको बलि दिएर भगवतीलाई खुशी पार्ने दिवशको रूपमा दशैं पर्वलाई लिनु पर्ने ती विद्वान्हरूको भनाइ छ ।

दँशैका दश दिन घटस्थापना

दँशैको पहिलो दिन अर्थात प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ भने यसै दिनदेखि नवरात्रि पनि आरम्भ हुन्छ । । घटस्थापनाका दिन घट (कलश)को स्थापना गरी देवी देवतालाई आहृवान गरिन्छ ।  बिहानै आत्मशुद्धि पश्चात नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँबाट चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँघरमा चलिआएको अन्न छरिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यस स्थानको नजिकै माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि छरिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पञ्चोपचारले पूजाआजा गरिन्छ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेश्रो दिन चन्द्रघन्टा, चोथो दिन कुस्मान्डा, पाँचौ दिन स्कन्दमाता, र छैठौं दिन कात्यायनीको पूजाआजा गरिन्छ ।  यस अवधिमा घरघरमा दूर्गा सप्तसती पढने प्रचलन रहेको छ ।

महासप्तमी

नवरात्रिको सातौं दिनलाई फूलपाती वा महासप्तमी  भन्ने गरिन्छ । सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा, आदि नौ प्रकारका पल्लवहरू दशैं घरमा भित्राउने गरिन्छ । वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्राउदा घरभित्र रहने रोग वृद्धिकारक जीवांशहरू  औषधीय पालुवाको प्रभावले नष्ट हुने मान्यता रहेको छ। यस दिन विशेष गरी महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्राउँछन् ।

महाष्टमी

नवरात्रिको आठौं दिनमा महाकालीको विशेष पूजाआजा गरिन्छ । देवीभागवत अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने माता भद्रकाली अष्टमीका दिन उत्पन्न भएको भन्दै पूजा गर्ने चलन छ । पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ । शाकाहारीले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । धेरैले काल रात्रीलाई साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताका लागि समेत उपयुक्त समय ठानेर विशेष पूजाआजा गर्ने गरेका छन ।

महानवमी

नवरात्रिको नवौ दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजाआजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियार तथा सवारी साधनको पूजाआजाका साथै बलि प्रदान गर्र्नेे चलन छ  । बलिप्रथालाई लिएर पछिल्लो समय निकै विवाद जन्मेको छ तर वास्तवमा बलिको अर्थ विकारको त्याग हो । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुण हटून, सुख, शान्ति, समृद्धि प्राप्त होस भन्ने भाव राखेर बलि दिने प्रचलन आएको हो । त्यसैले कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनालाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात त्यागौं भन्ने शास्त्रीय मान्यता हो । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुईदेखि दस वर्षसम्मका कन्याहरूको पनि पूजाआजा गरिन्छ।

विजया दशमी

नवरात्रिको दशौं दिनलाई विजयादशमी पनि भनिन्छ  । यस दिन दूर्गा भवानीलाई विसर्जन गर्ने चलन रहेको छ ।  देवीका मूर्तिलाई बाजा, गाजा वा वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ । अनि घरका मूल मान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलको टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन् । विजयादशमीका दिन टीका लगाउन नभ्याउनेले कोजाग्रगत पूर्णिमासम्म टीका ग्रहण गर्न सक्ने चलन रहेको छ ।

आधुनिक अवधारणा

धर्म जुनसुकै होस् त्यस भित्रका आस्था, मान्यता , चाडपर्व र रितिरिवाजका पछाडि वैज्ञानिक तथ्य हुन्छन । तर, वर्षौको ध्यान, तप र जपबाट संकलन गरिएको तथ्यलाई अहिले मिथ्या भन्ने चलन आएको छ । २१ औं शताब्दी विज्ञान र प्रविधिको युग हो तर आधुनिक विज्ञान अझै पनि वामेसर्दै छ । पछिल्लो समय संस्कार र रितिरिवाजमाथि प्रश्न उठन थालेको छ । पूजाअर्चना लगायतका धर्मिक कार्यलाई विकृति भन्न थालिएको छ । दँशै पनि यस आलोचनाबाट मुक्त रहन सकेको छैन । दँशैमा पूजाआजाभन्दा पनि रमाइलो गर्ने चलन आएको छ । माँश, मदिरा र जुवा तासलाई महत्व दिन थालिएको छ ।

मंहगिदो दशैँ

पछिल्लो समय हरेक पर्वलाई व्यापारीकरण गर्न थालिएको छ । विजया दशमीकै दिन मुलधारका पत्रिकामा छापिने मदिराको विज्ञापनलाई हेर्ने हो भने जो सुकैले दँशै बदलिदै गएको अनुभव गर्न सक्छ । यसैगरी दँशैका नाममा व्यापारीले लत्ता कपडा लगायत विभिन्न सामग्रीमा घोषणा गरेको छुट, बस भाडाको नाममा मनोमानी, लाइन होटेलको खानाको स्तरले दँशैलाई सरकार र व्यापारी दुवैले ठगी गर्ने अवसरको रूपमा लिएको भन्दा अतिसयोक्ति नहोला । गत वर्षको तथ्याँक हेर्ने हो भने दँशैमा झन्डै चार खर्ब ३२ अरब रुपैयाको कारोबार भएको थियो । वर्षभरिमा हुने लत्ता कपडाको कारोबारमध्ये ४० प्रतिशत कारोबार दशैंमा नै हुने गरेको छ । गत वर्ष ७० करोड रुपैयाँ बराबरको भेडा र च्याङग्रा नै आयात गरिएको थियो । मदिरा र जुवातासमा खर्च हुने रकमको हिसाबै गर्न मुस्किल छ ।

विशुद्ध धार्मिक आस्थाको यो पर्व राम्रो लुगा र मिठो खानका लागि चर्चित बन्दै गएको छ । आम्दानी पर्याप्त हुनेका लागि त ठिकै हो तर न्युन आय वर्गका लागि दँशै पर्वभन्दा पनि दशा बन्न थालेको छ। हिन्दु धर्म होस वा अन्य कुनै धर्म त्यसमा मनाइने चाडपर्वले मानिसलाई पूनर्ताजगी दिने गरेको छ त्यसै गरी नवीन सिर्जना र आपसी संबन्धलाई प्रगाढ बनाउनुका साथै आनन्द दिने गर्छ । त्यसैले चाड पर्व मनाउनै पर्छ तर आफनो गच्छेअनुसार अन्यथा दशैं दशामा परिणत हुन समय लाग्दैन ।