आर.डी. श्रेष्ठ,
वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५
सन्तानको दीर्घायुका लागि विशेषतः तराई मधेसमा मनाइने जितिया पर्व यो वर्ष पनि धार्मिक परम्पराअनुसार सम्पन्न भयो । आस्विन १५ गते सुरु भएर १७ गतेसम्म भएको जितिया पर्व तराई मधेसमा मात्र नभएर उपत्यकामा पनि मनाइएको छ । विभिन्न पेसा व्यवसायका क्रममा राजधानीमा रहेका त्यस क्षेत्रसँग सम्बन्धित महिलाहरूको संस्थाले कार्यक्रम आयोजना गरेर पनि जितिया पर्व मनाएका छन् ।
यो पर्वलाई महिला पुरुषको साझा पर्वको रूपमा पनि लिने गरिन्छ । ठाउँ र समुदाय फरक फरक भए पनि अधिकांश विवाहित महिलाले सन्तानको दीर्घायुको कामना गर्दै यो पर्व मनाइने गरिन्छ । सन्तान र अभिभावकको सम्बन्धलाई दर्शाउने यो पर्व आमाले सन्तानका सुख, समृद्धि र दिर्घायुका लागि बस्ने ब्रत भएको भन्ने मान्यता गाउँघरमा पाइन्छ ।
पर्व मनाउने क्रममा अष्टमी तिथिका दिन बिहान सबेरै उठेर महिलाले आचमन शुद्धि गरी घिरौंलाका पातमा तेल लगाएर त्यसमाथि पिनाको अर्ध राख्ने गर्छन् भने त्यसपछि दिनरात उपवास बस्नु पर्ने र त्यतिबेला दही च्युरा भोजनका रूपमा लिने गरिन्छ । अन्तिम दिन बिहानै उठी ब्रतालु महिलाले पोखरी, नदी आदि ठाउँमा गई स्नान गरी घिरौंलाको पातमा तेल पीनाको अर्ध लिएर घर फर्कन्छन् । तराइ मधेशमा मुख्य पर्वको रूपमा जितिय पर्वलाई पनि लिने गरिन्छ । निराहार उपवास बस्नु पर्ने र उपवास ब्रतलाई ३६ घण्टासम्म खण्डित पनि गर्न नहुने हुनाले यसलाई कठोर पर्वको रूपमा पनि लिने गरिँदै आएको छ ।