संजीव सिंह / आर.डी. श्रेष्ठ
वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५
प्रेमध्वज प्रधान ! नामको आरम्भ नै प्रेमबाट भएरै होला उनी अर्थात् प्रेमध्वजका जीवन्त र सजिएका गीतहरूमा प्रेम र पीडा नै प्रस्फुटन हुने गरेका छन् । प्रेम, पीडा र संघर्ष अनि त्यसबीच प्राप्त सांगीतिक सन्तुष्टि जीवनका अनन्य मित्र बने उनका लागि ।
मिठो आवाज र भावपूर्ण अभिव्यक्ति सहितको उनका कर्णप्रिय गीतहरूमा जति प्रेम प्रष्टफुटन हुने गर्छन् संगसंगै लुट्पुटिएर प्रेमपीडा पनि छचल्की रहेका हुन्छन् । जो उनका गीतका विशेषता बन्न पुगेका छन् । शालिनता र भावनाले ओतप्रोत शब्दमा मिठो लयका बीच जब प्रेमध्वजको सुमधुर आवाज गुञ्जिन थाल्छ, लाग्छ प्रकृति पनि मगमगाउने भो चलबलाउने भो ।
‘धुम्तीमा नआउ है’ होस् या ‘गारेटो त्यो गाउँको’ ‘तारामात्र होइन तिमीलाई ….’ होस् या ‘पर लैजाउ फुलहरू’ उनले गाएका गीतहरूमा मिठास, माधुर्यता, शालिनता र भावना सबै कुराको समान समिश्रण पाइन्छ । गीत सुन्दै गर्दा आँखा अगाडि शब्दहरू चित्रमा प्रतिबिम्बित भइरहेजस्तो लाग्नु खुशी र पीडा अन्तरमनमा महसुस हुन थाल्नु । उनको अर्को विशेषता हो गीतमा देखिने ।
उनी अर्थात् प्रेमध्वज जसले वि.सं. २००९ सालमै रेडियो नेपालमा गीत गाउन थाले । जसले नेपाली सांगीतिक क्षेत्रका लागि सयौँ कालजयी गीतको भण्डार दिए, जसको नसनसमा संगीत बगे, जो सबैका लागि मनपर्ने गायक बने, जो गाउनकै लागि जन्मे । उनले आफ्नो परिवार र जीवनयापनका लागि जीवनका ३३ स्वर्णीम वर्ष गैर सांगीतिक क्षेत्रमा होमे ।
आमा प्राणदेवी जो आफैँ एक रेडियो नेपालकी गायिका थिइन् पति रत्नध्वज प्रधानसंगको दाम्पत्य जीवनमा आएको कटुताका कारण पतिसँग छुट्टिएर अलग्गै बसेपछि आमाको एक्लोपनामा साथ दिए उनले अन्तिम समयसम्म । ६ वर्षको हुदा नहुदै बाबु र आमाकोबीच दाम्पत्य जीवन छुट्न पुगेको र ६ महिने दुधखाँदो अबोध अवस्थामा बाबुले कान्छीआमा भित्र्याइसकेको पीडा प्रेमध्वजमा चुभिएको छ । आमाको अदृश्य पीडा, जीवन डोयाउन सानैदेखि गरेको संघर्ष अनि संगीतप्रतिको आशक्तता, यी तीन कुराले प्रेमध्वजलाई झनै शालिन, शान्त र भावपूर्ण बनाइदियो । उनी भन्छन् ‘मलाई म गीत संगीत कै लागि जन्मेको हुँ कि जस्तो लाग्छ ।’
हसिलो अनुहार, शान्त स्वभाव र मसिनो सुमधुर बोली उनको विशेषता भनौ या आकर्षण । ढाँट छल विनाको कुरा गराई, ऐनाजस्तो छर्लङ्ग र पानी जस्तो निर्मल उनको व्यवहार, शान्त र शालिन उनको स्वभाव सधैँ उस्तै सधैँ उस्तै । जीवनका उतारचढावका बीच पनि शान्त हिमाल जस्तै उनको जीवन यात्रा ।
प्रेम ध्वज प्रधानका प्रसिद्ध गीतहरू :
- यो नेपाली शिर उचाली
- घुम्तीमा नआऊ हौँ
- गोरेटो त्यो गाउँको
- तारा मात्र हैन तिमीलाई
- माया नमार मायालु
- पर लैजाउ फूलहरू
- यो नानीको शिरैमा
- लाग्द छ मन तिमी कहाँ आउन
- नमान लाज यसरी
- मुजुराको चाल चोरी
- मुहारलाई पछ्यौरीमा लुकाइ नराख
श्वरमा मिठास र गायनमा आत्मविश्वास भए ता पनि उनले त्यतिबेला गायकीका लागि कर्मथलो मानिने रेडियो नेपालमा जीवनयापनका लागि जागिर खाउँत भन्दा पनि जागिर पाएनन् । आफू जतिकै क्षमता भएका तारादेवी र नातिकाजीले पाउने गरेको तलबको आधामात्र पाए पनि काम गर्ने इच्छा राख्दा समेत रेडियोले उनलाई जागिर दिएन । उनी भन्दछन् ‘त्यसपछि मैले आमा पाल्न र आफू पालिन अमेरिकन लाइब्रेरीमा जागिर खाए पैसाका लागि’, थप्छन् ‘अनि संगीत शौखमा बदलियो, जीवनयापनको सहारा बनेर होइन ।’ध्रुम्रपानको अत्यधिक सेवनले आमाको स्वास्थ्य अस्वस्थ हुँदै थियो । चुरोटको धुवा“ले नै पति विछोडको सहारा बनाउन पुगेकी आमालाई २०४७ सालमा श्रद्धाञ्जति दिनपुगे प्रेमध्वजले । उनी सम्झन्छन्– ‘बाबु र आमाबीच सम्बन्ध छुटेपनि म भने दुवैसंग जोडिएको थिएँ । बाबुको पसल पनि हेरिदिनुपर्ने भएकाले आमाकोमा खाना खाएर बाबुकोमा सुत्न जान्थे ।’ आठवर्षको उमेरमा बल्ल अक्षर चिन्न थालेका प्रेमध्वजले पारिवारिक समस्याका कारण दिनभर पसल बसेर रात्रीकालिन विद्यालयमा पढाइ चालु राखे । तर परिस्थितिले उनलाई पढाइमाभन्दा आमाको हेरचाह पालिनका लागि जागिरमा डोर्यायो। गीत गाए बापत रेडियोले दिने प्रति गीतको १० रुपियाँले केही गर्जो टर्ने गथ्र्यो भने जग्गा किनेर घर बनाउन भने पैसाको खाँचो नै हुन्थ्यो । जागिर नदिए पनि समय समयमा गीत गाउन भने उनी रेडियो नेपाल जाने गर्थे ।
जीवनलाई जागिरमा धकेल्नु परेता पनि पढाइलाई पनि संघर्षपूर्ण तरिकाले अगाडि बढाए उनले । शान्ति निकुञ्ज हाइस्कुल, पद्मोदय हुदै स्नातक पनि पूर्ण गरे । पढाइको महत्व उनले पछि महसुस गरे । विज्ञान विषय पढेका कारण उनको अंग्रेजी र भाषिक शुद्धतामा दख्खल थियो । जसका कारण अमेरिकन लाइब्रेरीमा उनको महत्वपूर्ण स्थान थियो । उनी सम्झन्छन् ‘मेरो अंग्रेजी राम्रो र शुद्ध भएर होला गोप्य पत्रहरू समेत मैले नै टाइप गर्नुपर्दथ्यो । त्यति विश्वास थियो म माथि’ ।
सुकी, मोहर, रुपियाँ र केही हजार जम्मा गर्दै किनिएको ज्याठाको जग्गामा इ“टा थपेर घर बनाएता पनि त्यो घर बेचेर बागबजारमा किनेको जग्गा र त्यसमा बनेको घर नै प्रेमध्वजको स्थायी घर बन्न पुग्यो । नाम चलेपछि दाम पनि हुन्छ भनेजस्तै उनको आवाज सुन्नका लागि उपत्यका बाहिरबाट अनुरोध आउने भो । स्वरले मन्त्रमुग्ध पारेपछि त्यसको मिहिनेत स्वरूप भैरहवामा पहिलो पटक चार हजार रुपियाँ पाए । २०२३ सालमा गीत गाएर पाएको त्यो चार हजार प्रेमध्वजको लागि शुभ सुरुवात भयो । विना पैसा गाउनेले गाए बापत त्यत्रो पैसा पाएपछि आफू अचम्म र दङ्ग भएको बताउ“छन् उनी । जीवन शालिन र असल हुनुपर्छ भन्ने सोचका प्रेमध्वजको संगतको घेरा भने साघु“रो छ । थोरै मानिससंग भेटने र भिडभाड त्यति मन नपराउने उनी प्रायः घरमै बसीरहेका हुन्छन् ।
बयासी बसन्त पार गर्दै गर्दा पनि दैनिक रियाज छोडेका छैनन उनले । ‘गीत संगीत नै मेरो मित्र हो’ उनी भन्छन । गीत संगीत सुन्नको लागि रेडियो सुन्नुको विकल्प थिएन जतिबेला, नारायण गोपाल, माणिकरत्न, रत्नमान लगायत साथी जम्मा भएर रेडियो भएका साथी लक्ष्मी श्रेष्ठको घरमा जानेर गीत सुन्ने गर्थे उनी । गीत सुन्न पनि नपाउने ‘ऊ बेलामा गीत गाउनु भनेको टाढाकै कुरा हुन्थ्यो ।’ र पनि उनको मन मस्तिष्कमा गीत नै गुन्जिरहन्थ्यो ।
माया प्रेम र भावनाले ओतप्रोत गीत गाउने भएकाले अधिकांश युवायुवतीका लागि प्रेमध्वज, प्रिय र आकर्षक थिए । युवायुवतीका मनोभाव प्रतिबिम्बित हुने शब्द अनि मनमस्तिष्कमा झङकार ल्याइदिने मिठो स्वरले गर्दा उनको नयाँ गीत र आवाजका लागि प्रतिक्षित रहन्थे युवापुस्ता, अहिले पनि प्रतिक्षित नै छन् । प्रेमपूर्ण गीतका लागि मात्र नभएर देशभक्ति गीतमा पनि उनको सशक्तता उच्च नै रहयो । ‘यो नेपाली शिर उचाली’ बोलको गीत बज्दा अहिले पनि नेपाली मात्रमा देशभक्ति जगाउनुका साथै मातृभूमिप्रतिको सम्ममान प्रकट हुने गर्दछ । उनले श्रोतका लागि मात्र नभएर मुलुकै लागि पनि स्वर संगीत दिएका छन् ।
‘गीत भनेको स्वर संगीत र शब्दको मीठो मिश्रणको फल हो’ भन्छन् उनी । समर्पण, आत्मसात र कठिन परिश्रम विना पूर्ण गीत बन्न नसक्ने उनको तर्क छ । गीत सुनेर बिर्सने होइन कि बिर्सनै नसक्ने हुनुपर्दछ उनको भनाइ हो यो । अचेलका गीतमा त्यो सजीवता पाउदैनन् उनी । नेपाली सांगीतिक क्षेत्रका लागि सातसय जति गीतसंगीत दिएका प्रेमध्वज अचेलका गीतसंगीतको माहोलमा पुराना सांगीतिक स्रष्टाहरू कुहिरोमा कतै हराएको महसुस गर्छन् ।
प्रेमध्वजले नेपाली श्रोतालाई मात्र नभएर छिमेकी मुलुक भारतका संगीतप्रेमी श्रोताहरूलाई समेत मन्त्रमुग्ध पार्न सफल भए । उनको आवाज गुञ्जन थालेपछि लठ्ठ परेका त्यहाँका दर्शकले वान्समोरको अनुरोधले हल थर्काएका थिए । त्यति मात्र नभएर सन् १९७० तिर बम्बइ जाँदा उनले १० घण्टामा १० ओटा गीत रेकर्ड गरी चर्चा समेत बटुले । उनको त्यो क्षमता देखेर भारतीय फिल्म क्षेत्रका सांगीतिक हस्तीहरू आर.डि. बर्मन, मनहरि सिंहलगायतले उनको प्रशंसा गर्दै त्यही“ बस्न समेत भनेका थिए । तर उनलाई नेपाली माटो र नेपाली श्रोता नै प्यारो लाग्यो । गीतसंगीत र पैसालाई तराजुमा तौलन चाहेनन् प्रेमध्वजले र नेपाल नै आए । उनी सम्झन्छन् एकपटक त पैसाका लागि के गरौँ के गरौँ भयो । रेडियो नेपालले पनि आउ भनेको थिएन भने अमेरिकन लाइब्रेरीमा पनि जागिरको टुङ्गो लागेको थिएन । ‘उतै जाऊ कि क्या हो’ भन्ने पनि लागेको थियो रे उनलाई । तर जाने निश्चित गर्ने पूर्वसन्ध्यामै अमेरिकन लाइब्रेरीले बोलाएपछि जागिरको टुङ्गो लाग्यो र उनी ३३ वर्षसम्म त्यहीँ कै जागिरे भए ।
श्रष्टासंग लेखक संजीव सिह
भारतीय चर्चित गायिका उषा मङगेशकरसंग नेपाली चलचित्र ‘माइतीघर’ का लागि गीत गाएर विदेशी गायिकासंग गीत गाउने पहिलो नेपाली गायक बने प्रेमध्वज । उनको मिजासिलो स्वभाव र मिठो आवाजले गर्दा उषा मङगेशकरसंग राम्रो सम्बन्ध पनि रहयो । यद्यपि लता मङगेशकरसंग गीत गाउने उनको धोको भने पूरा हुन सकेन । ‘इच्छा व्यक्त गरेको भए हुन्थ्यो होला तर भन्ने आँट गर्न सकिन’ आफैंसंगको गुनासो सुनाउँछन् उनी ।
जीवनयात्रा आठदशक पार भइसक्दा पनि प्रेमध्वजमा सांगीतिक आत्मबलको कमी देखिँदैन न त आकर्षक व्यक्तित्वमा नै । जागिरको बखत अमेरिकनहरूबाट जीवन अनुशासित ढङ्गबाट जिउने कला सिकेको प्रेमध्वजले रोगी भई कुनै औषधि खान नपरेको बताउँछन् । हरेक दिन बिहान ५ बजे उठेर आफ्ना आमाबुबाको फोटोमा पानी दिने र परेवालाई दाना दिने, हल्का व्यायाम गर्ने, केही हिडाइ र एक घण्टा सांगीतिक रियाज गर्नु उनको दैनिक दिनचर्या हो । सादा खाना, स्वच्छ विचार उनको स्वस्थ जीवनको आधार । माछामासु, जाँडरक्सीबाट टाढा नै रहेका प्रेमध्वज भिडभाड र भोजभतेर त्यति मन पराउँदैनन् । ‘जीवन स्वच्छ र शान्तमय हुनुपर्छ’ उनको विचार हो यो ।
सांगीतक क्षेत्रका जीवन्त धरोहर, जसको आवाज दशकौँदेखि गुञ्जीरहेको छ, नेपाली सांगीतिक आकासमा जो सधैँ गुञ्जीरहने छ, सुर ताल र आवाज हुन्जेलसम्म । जो संगीतका लागि जन्मे र त्यसकै लागि बा“चीरहेका छन् । एकपटक सोच्नै पर्ला त्यस्ता सदाबहार गायक र गायन कतै अत्याधुनिक गीतसंगीतको गुञ्जाहटमा हराएर नजाओस्, सेलाएर नजाओस् । उफ्राइ र चिच्याइका गीत संगीतको भिडमा नेपाली मौलिक संगीत र त्यसप्रतिको आत्मियता बिलाएर नजाओस् ।
कोठाभरी अटाइ नअटाई गरी राखिएका सम्मान पत्र, अभिनन्दन पत्र र प्रेमप्रतिक चिन्हहरूले संगीतप्रतिको उनको समर्पण र अग्लिएको उनको सांगीतिक उचाइलाई प्रतिबिम्बित गरिहेको छ, गरिरहने छ ।