मुलुक डेस्क,

वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५

एशियाली खेलकुदको महाकुम्भ मेला एसियाडको १८ औं संस्करण इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा सम्पन्न भएको छ । भाद्र २ देखि १७ सम्म चलेको दुई साता लामो खेलअवधिभर चीनको एकक्षत्र दबदबा रह्यो । १३२ स्वर्णसहित कुल २८९ मेडल जित्दै पदक तालिको शीर्षस्थान ओगटन सफल चीन विगतको दश संस्करणदेखि पहिलो स्थान ओगटदै आएको छ ।

एशियाको ४५ मुलुकबाट ११ हजारको हाराहारिमा खेलाडीको संलग्नता रहेको एसियाडमा कुल ४९ खेलमा प्रतिस्पर्धा भएको थियो । पदक तालिकामा ३७ मुलुकले आफ्नो नाम दर्ज गर्न सफल भएसंगै ८ मुलुक पदक विहिन भई घर फर्कनु पर्यो । यसै क्रममा नेपालले पनि प्याराग्लाइडिङमा १ मात्र रजत प्राप्त गर्दै पदक तालिकामा आफूलाई अटाउन सफल भयो । १९ औं एसियाड समापनसंगै १९ औं २०२२ चीन र २० औं संस्करण जापानमा हुनेछ ।

नेपालको सहभागिता

१८ औं एसियाड खेलकुदमा नेपालले कुल २९ खेलमा १८६ जना खेलाडीको सहभागिता गराएको थियो । जसमध्ये पुरुष १३० र महिला ५६ जनाको सहभागिता थियो । प्रतिस्पर्धी र प्रतियोगिताको रूपमा बलियो उपस्थिति हुँदाहुँदै नेपालले १ रजतसहित पदक तालिकामा ३३ औं स्थानमा चित्त बुझाउनु पर्यो । चार राष्ट्रिय रेकर्ड तथा २४ खेलमा मात्र जित हात पारेका नेपाली खेलाडीहरूले सोचेजस्तो वा अपेक्षा गरेजस्तो उपलब्धी दिन सकेनन् ।

सन् १९५१ को दिल्लीमा भएको एशियाडको पहिलो संस्करणदेखि नेपालले सहभागिता जनाउँदै आएपनि हालसम्म कुल २४ पदकमात्र हात पार्न सफल भएको छ । जसमध्ये २ रजत र २२ कास्य रहेको छ । एसियाडको १८ औं संस्करणसम्म आइपुग्दा नेपालले सन् १९५४ फिलिपिन्स र १९६२ इन्डोनेसियामा भने सहभागिता जनाएको थिएन । यस पटककको सहभागितामा नेपाल अधिकारी, विजय गौतम सुशील गुरुङ युकेश गुरुङ र विशाल थापाको सहभागिता थियो ।

चुनौती

सर्वप्रथम हरेक संस्करणमा सहभागिता जनाउनु मात्रै मुलुकको सामथ्र्य नभई ज्ञान पनि हो । तर यस्तै अवस्था कहिलेसम्म रहने हो । पदक तालिकामा नेपाल पनि अग्रस्थानमा कहिले अटाउने ? यस्तै खाले गम्भीर र यथार्थ प्रश्न विगत कैयौ वर्षदेखि निरन्तर चल्दै आइरहेको छ ।

वास्तवमा यसको जवाफ सरकार र मुलुकको तर्फबाट अझसम्म अनुत्तरित देखिन्छ । खेलकुदतर्फ लगानी कम हुनु, राज्यको प्राथमिकता नपर्नु भौतिक पूर्वाधारको अभाव, प्रशिक्षणको गुणस्तरीयता र निरन्तरता नहुनु खेलाडीको आम्दानी र सम्मानको यथोचित प्रबन्ध मिलाउन नसक्नु, आसेपासेको हाली मुहाली हुनु, भएको बजेटको दुरूपयोग हुनु तथा उचित प्रसारप्रसार एवम् प्रायोजन हुन नसक्नु राष्ट्रिय खेलको लागि अभिशाप बनेको छ ।