एस. राजपुत,

वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५

घान्द्रुक विशिष्ट संस्कार र शैली तथा प्रकृतिको अनुपम छटाले भरिपूर्ण गाउँ ठाउँ हो । गण्डकी प्रदेश जिल्लामा अवस्थित यो गाउँको पहिचान अधिराज्यभर नभई अन्तर्राष्ट्रियस्तरमै प्रख्यात छ । विशेतः गुरुङ बस्तीको रूपमा लोकप्रिय घान्द्रुक दुई हजार मिटर उचाइमा अवस्थित छ । अन्नपूर्ण रेन्जमा रहेको यो गाउँबाट माछापुच्छ्रे हिमाललगायतका अन्य हिमचुलीको दृश्यावलोकन सहज र सुन्दरताकासाथ गर्न सकिन्छ । नेपालमा धेरै अवलोकन अर्थात् भ्रमण गरिएको क्षेत्रमा घान्द्रुक पहिलो स्थानमा भएको दाबी गाउँलेहरू गर्दछन् ।

गोर्खा सैनिक बहादुरीको लागि प्रसिद्ध ‘गुरुङ’ एक जातिय समूह हो । जसलाई ब्रिटिसद्वारा ‘मार्शल जनजाती’ को उपाधी दिइएको छ । घान्द्रुक गाउँका दृश्यहरू अति सुन्दर छन् । घामको पहिलो किरणसंगैमाछापुच्छ्रे लगायतको हिमचुचुरोबाट हिउँको सुनौलो दृश्यले स्वर्गको चमकको अनुभव गराउँदछ । चिसो–चिसो बतास, कलकलाउँदो झरनाको आवाज, ढुङ्गे बाटो, हरियो ढकमन्न डाँडाकाँडा, भद्रबस्ती र घोडा–खच्चडको लामले गाउँको रौनकतासंगै पर्यटनको रस्वादन गर्न मद्दत पुर्याउँछ।

काठमाडौँ देखि पोखरा, पोखारादेखि नयाँपुल, नयाँ पुलदेखि दाम्ले हुँदै घान्द्रुकसम्मको यात्रा संस्मरणीय र रमाइलो हुन आउँछ । दाम्लेदेखि घण्टाभरको पैदल यात्रा (ट्रेकिङ) पश्चात् सुन्दर र मनमोहक गाउँ घान्द्रुक पुगिन्छ । ट्रेकिङको बाटो, फारमहरू, सयौँ वर्ष पुरानो गुरुङ शैलीमा निर्मित घरहरू, वास्तुकला, संस्कार र संस्कृति, रितिरिवाज, पहिरन, लालीगुराँस फूल, गधामा मालसमान ढुवानीको दृष्य र मनोरम पहाडी तथा हिमाली परिदृश्यले घान्द्रुकको रौनकतामा थप आकर्षण र चर्चाको विषय बनाएको छ ।

धेरै पारम्परिक घरहरू होमस्टेको रूपमा पर्यटकलाई स्वागत गर्न आतुर हुन्छ भने सुबिधाको लागि लज र होटलहरू पनि उपलब्ध छ । करिब ५ हजार जनसंख्याको घान्द्रुक गाउँको सौन्दर्य र परम्परलाई एउटा संग्राहलयमार्फत संरक्षित गरेको छ । यहाँ गुरुङ जातिले लगाउने पोशाकदेखि गहना, हातहतियार र अन्य सामग्रीहरू संग्रहित गरेर राखिएको छ । गाउँको अन्त्यमा रमणीय ठाउँ छ, जहाँ अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाको क्षेत्रीय कार्यालय छ । पर्यटकलाई सूचना सेवा पुर्याउने उद्देश्यले तथा यस क्षेत्रमा संसाधन संरक्षण, सामुदायिक विकास र प्रर्वद्धनका लागि कार्यरत यहाँबाट सहजै हिमालहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । साथै अर्को हिल स्टेशन घोरेपानी र पुनहिलको पैदलयात्रा तथा अन्नपूर्ण र माछापुच्छ्रे हिमालको आधार शिविरसम्मको आनन्दपूर्ण यात्राको मज्जा लिन सकिन्छ ।