डा. सनतकुमार वस्ती,
वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५
नेपाली वाङ्मयमा हालसालै एउटा गौरवशाली ग्रन्थ प्रकाशित भएको छ– कविशिरोमणि रचनावली । यसमा कविशिरोमणि लेखनाथ पौड्यालका समग्र साहित्यिक कृत्यको रमणीय संकलन गरिएको छ। बृहत्काव्य, लघुकाव्य, कविता संग्रह, नाटक र निबन्ध एवं अनूदित रचना गरी पाँचखण्डमा जम्मा २१वटा कृतिहरू रहेको यस विशिष्ट ग्रन्थमा सबै मिलाएर लगभग २२ सय पृष्ठ रहेका छन् । कविशिरोमणि र उहाँसँग सम्बद्ध विविध प्रसङ्गका एकदर्जन दुर्लभ तस्विरले सजिएको यो कृति अत्यन्त आकर्षक साजसज्जा र आकारप्रकारमा सुन्दर परिधान (ज्याकेट) पहिरेर, रहरलाग्दो बान्की लिएर झुल्किएको छ ।
यो ग्रन्थ सम्पन्न हुनुको पृष्ठभूमितिर एक नजर दिँदा ५ वर्ष पछाडिको समयमा पुगिन्छ । अन्तर्मनको यात्राबाट सुपरिचितयशस्वी साहित्यस्रष्टा जगदीश घिमिरे त्यसबेला यसै धराधाममा हुनुहुन्थ्यो । उहाँसँग मेरो परिचय वाह गजल ले गराइदिएको हो । शीघ्रमेवत्यो परिचय घनिष्टतामा रूपान्तरित भयो । उहाँ जसरी गालिब, मीर र इकबालहरूका गजल मन पराउनुहुन्थ्यो त्यसरी नै कविशिरोमणि लेखनाथप्रति गहन श्रद्धाभाव राख्नुहुन्थ्यो । लेखनाथका सत्य सन्देशहरू उहाँका हृदयस्थ थिए । मलाई पनि नेपाली साहित्यमा सबैभन्दा बढी श्रद्धा लाग्ने कवि लेखनाथ नै हुनुभयो, उहाँको तरुण तपसी मेरो सर्वाधिक प्रिय काव्य हो । रसिला श्लोकहरू म गुनगुनाइ रहन्छु । कुरैकुरामा एकदिन उहाँले भन्नुभयो : लेखनाथ पौड्याल हाम्रा ऋषितुल्यश्रद्धेय कवि हुन्, उनका कवितामा जुन गहनभाव, सरस काव्यशिल्प अनि भव्य जीवनदर्शन छ त्यो अन्यत्र दुर्लभ छ । पश्चिमाहरूले फैलाएका विभिन्न वाद र दर्शनहरूभन्दा धेरै उच्चदर्शन र जीवनमूल्य हाम्रै लेखनाथमा पाइन्छ, मलाई त उनी जस्ता महान् कवि हाम्रै नेपाली भाषामा पाउँदा गौरव अनि श्रद्धा लाग्छ । तर के गर्नु, नयाँ पुस्ताले उनलाई पढेकै छैन । उनका कृतिहरू पनि अब दुर्लभ हुनथाले । बजारमा पाइँदैनन् । उनका सबै कृतिहरूको एउटा संकलन निकाल्न पाए कस्तो राम्रो हुने थियो ।
पछि उहाँले लेखनाथ बाबाकी नातिनी डा प्रतिभा पाण्डेसँग यही कुरा गर्नुभएछ । मलाई एकदिन उहाँको घर डिल्लीबजार लिएर जानुभयो । डा पाण्डेका साथ कविशिरोमणिका उत्तराधिकारी परिवारजनसँग पनि त्यहाँ भेटघाट परिचय भयो, अनि कविशिरोमणिका सबै कृतिहरूको संकलन निकाल्ने कुरामा सहमति भयो । कृति सम्पादनका लागि मलाई आग्रह गरियो, मैले रोमाञ्चित हुँदै यो गहन अभिभारा श्रद्धाका साथ शिरोपर गरेँ । स्रोतसामग्री जुटाउने अभिभारा प्रतिभा दिदीले लिनुभयो अनि समग्र व्यवस्थापनको जिम्मा स्वयं जगदीशजीले । यसरी शुरु भयो : कविशिरोमणि रचनावलीको काम ।
लेखनाथ पौड्याल १९४१ पौष १५ मा पोखरा हाल लेखनाथ नगरपालिकाको अर्घौँ अर्चलेमा जन्मनुभयो । २०२२ फागुन महाशिवरात्रिमा महाशिवत्वमा विलीन हुनुभयो । उहाँ जानुभएकै आधाशतक बितिसक्यो । उहाँका कृतिहरू एकआधमात्र बजारमा उपलब्ध छन् । ती पनि त्रुटिपूर्ण छन्, त्यसैले उहाँका रचनाहरूको मूलरूप नै पहिले खोजतलाश गर्नुपर्यो भनी खोज्दै जाँदा सर्वप्रथम राष्ट्रिय अभिलेखालयमा लेखनाथबाबाका हस्ताक्षरमै रहेका पाण्डुलिपिमा केही कृतिहरू पाइए , केहीमदन पुरस्कार पुस्तकालयमा र केही उहाँकै परिवारजनको संरक्षणमा उपलब्ध भए । ती सबै कृतिहरूलाई तिनको मूलरूप नबिगारीकन यथावत् राखियो । फलतः तत्कालीन भाषिक वर्णविन्यासका साथ लेखनाथीय परिष्कृत भाषाकै शुद्ध रूपको आस्वाद प्रस्तुत रचनावलीमा पाइन्छ।
सबै कृतिहरू संकलन गर्दा एकवर्ष बित्यो । बीचमा जगदीशजीले बिदा लिनुभयो । हाम्रो योजनाको एउटा महत्त्वपूर्ण कडी टुट्यो । सम्पादनमा एकवर्ष गयो । फेरि ७२ साल आयो महाभूकम्प लिएर । अनि साजसज्जालेआउट को मसिनो काममा अरु एक वर्ष गयो । अन्तमा सबै सम्पन्न भएपछि मुद्रकको खोजी गरियो , पब्लिकेसन नेपालयले मुद्रणमात्र नभई प्रकाशनको समेत जिम्मेवारी सहर्ष लिएपछि भारतको उच्चस्तरीय प्रविधि सम्पन्नथमसनप्रेसमा गएर छापिँदा अर्को एकवर्ष लाग्यो । यसरी पाँचवर्षको अनवरत प्रयत्नपछि कविशिरोमणि रचनावलीले जन्मलियो । २०७४ साल फागुनमा लेखनाथबाबाको स्मृति दिवसका दिन यसको लोकार्पण समारोह सम्पन्न भयो ।
यस विशालकाय ग्रन्थमा संकलित कृतिहरू यी हुन् : पहिलो भागमा– ऋतु विचार , तरुणतपसी र गङ्गागौरी । दोस्रो भागमा – लालित्य वा कविता सङ्ग्रह : पहिलो, दोस्रो र तेस्रो भाग । तेस्रो भागमा १० लघु काव्यहरू – बुद्घि विनोद, ऋतु विचार (पुरानो)श्रीमद्भागवद् गीताको गीतासार, सत्य कलि संवाद, गीताञ्जलि, बुद्घि विनोदको पहिलो विनोद, वक्तव्य, त्याग र तपस्याको युगल प्रकाश, अमर ज्योतिको सत्य स्मृति तथा मेरो राम वा रामायणसार । चौथो भागमा – लक्ष्मीपूजा र भर्तृहरि निर्वेद नाटक तथा फर्सीको झोल निबन्ध । पाँचौ भागमा – दुई अनूदित कृति : पञ्चतन्त्र र अभिज्ञान शाकुन्तल ।
यीकृतिहरूमध्ये लालित्य कविता संग्रहको तेस्रो भाग सर्वप्रथम यसै रचनावलीमा प्रकाशित भएको छ । लेखनाथबाबाका अप्रकाशित तथा असंग्रहित कविताहरूको अनुसन्धान एवं संकलनबाट जम्मा ५८ वटा फुटकर कविताको समुच्चयका रूपमा लालित्य तेस्रो भाग बनेको छ । पाठकवृन्दलाई सहज होस् भनेर ऋतु विचार र तरुण तपसीजस्ता महनीय कृतिमा कठिन पद–पदावलीको सरलार्थ र सन्दभार्थ दिइएको छ । रचनावलीमा केही नामै नसुनिएका र केही नामचाहिँ सुनिएका तर देख्न पढ्न नपाइएका कृतिहरू पढ्न पाउँदा लेखनाथीय काव्यका भावहरूमा अवश्यमेव सुखद अनुभूति हुनेछ।
संस्कृत साहित्यमा विश्वविश्रुत कवि कुलगुरु महाकवि कालिदासको, उर्दू साहित्यमा महाकवि गालिबको एवम् बंगाली साहित्यमा गुरुदेव रवीन्द्रनाथको जुन स्थान छ , नेपाली साहित्यमा पनि कविशिरोमणि लेखनाथ पौड्यालको त्यही गौरवमय स्थान रहेको छ । उहाँका काव्यमा कालजयी स्वभाव एवम् विश्वजनीन उच्चतम सन्देश पाइन्छ । गम्भीर भाव भैकन पनि सरल भाषिकशिल्प, उच्च दार्शनिकता भैकन पनि हार्दिक कोमलताको संस्पर्श, शास्त्रीय शैलीको अनुसरण भैकन पनि आधुनिक जीवनको यथार्थ प्रतिविम्ब, वर्णमात्रिक छन्दको प्रयोग भएता पनि सहज अभिव्यक्तिको माधुर्य, आलङ्कारिक शिल्प सज्जा भैकन पनि सर्वसुलभ अर्थमयता एवं मानवीय मूल्यमान्यताप्रति आस्थाको अभिव्यक्ति कविशिरोमणिका काव्यमा पाइने विशेष गुण हुन् । संस्कृत, अरबी, फारसी, उर्दू, हिन्दी र अंग्रेजी परम्पराका भाषिक सम्पदालाई पनि उदार भावले स्वीकार गरी माधुर्य भरेर नेपाली वाङ्मयको श्रीवृद्घि गर्नु उहाँको महनीय गुण हो । समस्त मानव जातिको कल्याणको कामना गर्दै यही धराधामलाई देवनगरी तुल्याउनुपर्छ भन्ने उदात्त सन्देश उहाँको काव्यमा यसरी पाइन्छ :
ठूला साना प्राणी, चतुर विधिका सन्तति सब
सबैको साझा हो प्रकृति गुणको भोग्यविभव
सबै हाँसू्न् खेलून्, सरल रसिलो जीवन धरी
धरालाई पारी प्रणय रसले देवनगरी ।
:तरुणतपसी २-६
कविशिरोमणि रचनावली प्रकाशित हुनासाथ पहिलो प्रति लिएर म राष्ट्रकवि माधवप्रसाद घिमिरेकहाँ पुगेँ । किताब हातमा लिएर शिरले ढोग्दै उहाँले व्यक्त गर्नुभएको उद्गार अहिले पनि मेरा कानमा गुँजिरहेछः उहाँ मेरो गुरु, मैले उहाँबाटै कविता कोर्न सिकेको, जस्तो उहाँ कविशिरोमणि त्यस्तै यो ग्रन्थशिरोमणि बनेछ । कति राम्रो काम गर्नुभएछ, श्याबास् ’महान् रचनाकारको महत्तम रचनावलीमा सम्पादकको नाताले एउटा ससानो निमित्त बन्ने अवसर पाएकोमा मैले आफूलाई सौभाग्यशाली ठानेको छु । यो सबै कविशिरोमणि लेखनाथबाबाको अनुकम्पा हो । नेपाली काव्य बगैँचाका यी प्यारा मालीप्रति शत शत नमन ।’’