आर. डी. श्रेष्ठ,

वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५

कोठाको कुनामा रहेको थोत्रो ग्यालनको विर्को उघार्छिन चन्द्रमायाँ । टीनले आफ्नो खोक्रोपना छल्र्याङग्याइदिन्छ । भाँडोमा चामलको एक गेडा पनि हुँदैन । भाँडो खाली देख्दा उनी आत्तालिन्छिन् । ‘अब के गने?’ एउटा प्रश्न चिन्ह उनलाई गिज्याएझै गरी सलबलाउँछ । खोक्रो भाँडोले चन्द्रमायाँको खोक्रो अवस्थालाई व्यक्त गरिरहन्छ । गिज्याइरहेझैँ लाग्छ ।  अपमान गरिरहे झै लाग्छ उनलाई । चन्द्रमायाँ त्यो रित्तिएको खोक्रो भाँडोलाई हेरिरहन्छिन् एकटक मौन भएर ।

‘आमा चामल त सकियो, अब के खाने ?’ रित्तो भाँडोलाई नियाली रहेकी आफ्नी आमालाई झक्झक्याउँदै ६ वर्षिय सानो छोराले प्रश्न गर्छ । छोराको प्रश्नले चन्द्रमायाँ झनै अत्तालिन्छिन् । शरीर चिसो भएझै हुन्छ उनलाई । निधारमा पसिना सलबलाउन थाल्छ । उनी झर्किन्छिन् ‘मेरो मासु खाने मासु …’ र हुत्तिएर जान्छिन् वाहिर । अबोध बालक आमाको जवाफ सुनेर वाल्ल पर्छ र आमा गएतिर हेरिरहन्छ ।

एक पटक फेरि चन्द्रमायाँ साहु बलवीरको अगाडि ठिङ्क उभिन आइपुगेकी छिन् । मन्दमन्द मुस्कान छोड्दै बलवीर साहु चन्द्रमायाँको शरीरमा गिद्धेनजर चिप्लेटी खेलाउन थाल्छ । चुरोटको गन्हाउने धुवाँ छोड्दै व्याङग्य कस्छ –

‘आज फेरि समस्या पर्यो जस्तो छ नि … ?’

केही बोल्दिनन् चन्द्रमायाँ … । चुपचाप उभिइ भुईँतिर हेरिरहन्छिन् ।

बलवीर साहु जरुक्क उठ्छ र सरासर आफू सुत्ने कोठा भए तिर जान्छ । कोठा भित्र छिरेर चन्द्रमायाँ तिर हेर्छ । चन्द्रमायाँ केही नबोली बलवीर साहुको कोठामा छिर्छिन् । बलवीर साहुको कोठा बन्द हुन्छ र भित्रबाट चुकुल लाग्छ ।

केही बेरको बाहिरी मौनता पश्चात कोठाको ढोका खुल्छ । छरपष्ट कपाल, नियास्रो अनुहार र लगाएको सारी मिलाउँदै चन्द्रमायाँ बाहिरिन्छिन् ।

एकछिन टक्क अडिएर मौन आकास तिर हेर्छिन् । एउटा लामो सुस्केरा छाड्छिन । कसेर मुठी पारेको हरियो  सय–सयको नोटलाई नियाल्छिन् एकपटक र पाइला अगाडि बढाउँछिन् चन्द्रमायाँ ।

बढ्दै गरेको पाइला सँगसँगै आफ्ना मृतक पति र पतिवियोग पछिका डरलाग्दा दिनहरू प्रतिविम्बित हुन थाल्छन् उनको आँखा अगाडि । सहरमा मजदूरी गर्न गएका पतिको मृत्यु उतै भएपछि चन्द्रमायाँको जीवन कष्टकर त बन्यो नै बेसहारा अबला नारी शरीरलाई जोगाउन समेत हम्मे हम्मे भो उनलाई । एक त टाढाको गाउँ, त्यसमाथि कंगाल र पतिविनाको जीवन । आफ्नै शरीर बोझ बन्दाबन्दै छोरा हुर्काउनु पर्ने अर्को बाध्यता । सात डाँडा पारिको सहर उनका लागि अर्कै संसार बराबर थियो । कखरा विनाको बुद्धि र सीप विनाको हात, अबोध बालकको भोको पेट र अबला माथिको गिद्दे नजर बाट चन्द्रमायाँ आफूलाई कतिदिन जोगाइराख्न सक्थिन र ! हार्नु थियो, बाँच्न कै लागि परिस्थितिसँग हारिन उनी ।

अध्यारो नहुँदै घर पुग्नु छ उनलाई । बच्चा एक्लै छ । भोकायो होला । ‘आमा भोकलाग्यो भन्दैथ्यो ।’ मनमा कुरा खेलाउँदै पाइला अगाडि बढाउँदै गर्छिन चन्द्रमायाँ । पुरानो छाप्रोलाई बढ्दो अँध्यारोले आफू भित्र हराउन खोजेझै देखिन्छ । बालक ढोकामा उभिएर आमा आउनेबाटोतिर हेरिरहेको हुन्छ । चन्द्रमायाँलाई देख्नासाथ बालक कुद्दै आमा भएतिर जान्छ ।

पोको पारेर ल्याएको खानेकुरा बच्चालाई राखी दिन्छिन् । भोकले रन्थनिएको बालक हतार हतार खानेकुरा खान थाल्छ । बढ्दो अँध्यारो र निःशब्द मौनताबीच बच्चाले खानेकुरा चपाउँदै गरेको आवाज विना सूरतालको संगीत झै सुस्त सुस्त गुन्जिन थाल्छ ।

चन्द्रमायाँ पुरानो बाकसबाट मृतक पतिको फोटो निकालेर हत्केलामा राख्छिन् र एकटक नियाल्न थाल्छिन् । परेलीमा आँसु सल्बलाउन थाल्छ । सुस्त सुस्त बहँदो चन्द्रमायाँका आसुका थोपाहरू विरको त्यो तस्विरमा पोखिन थाल्छन् – टप..टप..टप, र तस्विर क्रमशः धमिलिँदै जान्छ … धमिलिँदै जान्छ … ।