संजीव सिंह,
वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५
नेता र नेतृत्वको डोरले मानव समाजको उत्थान, विकास र पहिचान स्थापित हुन्छ । नेता एक व्यक्ति हो जसले एउटा लक्ष्य साध्छ र त्यसप्रति एकाग्र चित्त भई प्राप्तिका लागि संघर्षरत रहन्छ । आम जनसमुदायलाई असल मार्ग र उद्देश्यप्रति डोर्याउछ र त्यसको नेतृत्व सफलतापूर्वक गर्दछ । यो आफैले लिने अख्तियारी वा स्थिति हो भने कहिलेकाहीँ जनताद्वारा लादने वा दिइने परिस्थिति अथवा अवस्था पनि हो ।
‘नेता आशा र अपेक्षाका व्यापारी हुन् ।’ सम्राट नेपोलियनको यस भनाइसंगै एकमत हुने हो भने संसारमा थोरै मात्र नेता भए । वास्तवमा हाम्रो जस्तो मुलुकमा नेताको दूरदर्शिता, क्षमता, कौशल तथा नेतृत्व शैली र सक्षमता नभएकै हो वा प्रदर्शन नगरेका हुन् ।
नेता एक उदाहरणीय व्यक्ति हो, जसको कार्य र सोचलाई आमव्यक्तिले पछ्याउछ । यो आधारभूत आवश्यकता हो । लक्ष्यप्रति गहिरो सोच, समन्वयन र निस्वार्थ सेवा नै उसको पहिचान र गरिमालाई कालान्तरसम्म जीवित राख्दछ ।
संसारभरि आदिमकालदेखि नै राजा, महाराजाले नेतृत्वको बागडोर सम्हाल्दै आएको देखिन्छ । दूरदर्शिता, ठोस नीति र सक्षम रणनीतिका कारण धर्म, राजनीति कला, खेल तथा व्यापारमा संसारभरि अनेकौ उदीयमान नेताहरू भए ।
नेताले आफ्नो नेतृत्वको लागि सर्वप्रथम व्यक्तिगत आ“कलनलाई लक्ष्यपूर्ण तथ्यको रूपमा जनतासामु राख्दै अगाडि बढाउनु पर्दछ । दृष्टि स्पष्ट र सकारात्मक हुनुपर्दछ । संसारमा प्रजातान्त्रिक, सामाजिक नेताहरूको आ–आफ्नै सोच, आदर्श र कार्यहरू हुन्छन् । जसका माध्यमद्वारा आफूलाई स्थापित गरेका हुन् भने कतिले स्थापित गर्ने क्रममा हुन् । जर्ज वासिङ्टन, अब्राहम लिंकन, जोन एफ केनडी, वाराक ओबामालाई यसको सुत्राधार मान्नुपर्दछ । शान्ति र परिवर्तनका सूत्रधार माहात्मा गान्धी, मार्टिन लुथर किंग र नेल्सन मन्डेला हिजो र आजका लागि पनि आदर्श हुन् । माओत्से तुङ र जिन पिंगको सुधारवाद एव प्रगतिवादको पथ, आङ सान सुकीको धैर्य र साहसको नेतृत्व होस वा मोहम्द महाथिरको विकासको सपना, आखिर साकार भएरै छोड्यो ।
नेपाल मुलुकभएदेखि हाम्रा नेताहरूले सायदै चमत्कारिक र आशालाग्दो कार्यहरू गरेको देखिन्छ । पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरे र राजधानी तोक्ने तथा संगठित गर्ने अभियानमा आफ्नो जीवन समर्पण गरे । तर अन्य शाहवंशीय राजाहरूले त्यसलाई सत्ताभोग र मोहको रूपमा मात्र लिए । बाबजुद राजा त्रिभुवनले प्रजातान्त्रिक उद्घोष नगरेका होइन । यद्यपि सोच, एकता, विकास र नेतृत्वको नाममा राजा महेन्द्र अग्रस्थानमा पर्दछन् । केही राणाकालीन प्रधानमन्त्रीले केही सुधारका कदमबाहेक अन्यले जहानिया एकात्मक शैली एवम् सत्तामोहबाहेक राष्ट्रमा उल्लेख्य हुने कुनै किसिमको विकास गरेनन् ।
प्रजातन्त्रपश्चात् त मुलुकको अवस्था झनै दयनीय र कहालीलाग्दो बन्न पुग्यो । जनताको प्रतिनिधिको नाममा ठगी, भष्ट्राचार र लूटले प्राथमिकता पाए । त्यसैगरी द्वन्द्वको नाममा माओवादीले जनता र राष्ट्रलाई पछाडि धकेल्नु बाहेक केही गरेनन् ।
गणतन्त्रको नाममा राजसत्ता फालेर जनसत्ता पाउनु महत्वपूर्ण उपलब्धि भए पनि संस्थागत गर्ने नाममा ‘‘एक राजा गए अनेक राजा आए’ भन्ने किवदंती चरितार्थ मात्र भए । नेपाललाई स्विट्जरल्याण्ड बनाउने सपनाका साथ शुरुवात द्वन्द्व आखिर सत्ता र सम्पत्ति मोहमा बिताए । द्वन्द्वकाललाई शान्तिप्रक्रियामा ल्याई गिरिजाप्रसाद कोइरालाले केही सरकात्मक र सुधारका कदम चाल्नबाहेक प्रचण्ड र केपी शर्मा ओलीले त वाकपटुकता चाल्नु बाहेक केही गर्न सकेका छैनन् ।
गणतन्त्रका प्रणेता रामराजाप्रसाद सिंहले पनि पहिलो राष्ट्रपतीय उम्मेद्वार बाहेक देश र जनतालाई डो¥याउने मौका पाएनन् । तर मुलुकले पहिलो राष्ट्रपतिको रूपमा डा. रामवरण यादव पाए, जसले समग्रमा मुलुकलाई समानरूपमा डोर्याउने सम्मको कार्य गरे । अन्ततोगत्वा समस्त नेपाललाई विश्वसामु दह्रो रूपमा प्रस्तुत गर्ने, समृद्धिको मार्गमा अग्रसर गराउने तथा जनतालाई खुशी बनाउने आधारको आधारशिला पनि कसैले तयार गर्न सकेनन् ।
नेता व्यावहारिक र यथार्थवादी हुनुपर्दछ तर दर्शन एवम् आदर्शवादी भाषा बोल्नु पर्दछ । नेतृत्व नागरिकको लागि प्रेरणाको स्रोत हुन र उनीहरूलाई सक्षम बनाउने सक्षमता हो । विचार र व्यवहारको तालमेल मिलाएर जनता एवम् मुलुकलाई सार्थक परिणाममार्फत् अग्रसर बनाउनु पर्दछ । नेता र नेतृत्वले सम्मोहनको भाषा बोल्नुपर्दछ । नेता समयसगै आफै बन्ने अभ्यास पनि हो भने यो जन्मजात् गुण पनि हो । जे होस् यसको सार्थकता र सबलीकरणको लागि इमान्दारीपूर्वक प्रयास गर्नैपर्ने हुन्छ ।
हिन्दु पौराणिक कथाअनुसार द्वापरयुगमा भगवान श्रीकृष्णले अधर्म र अन्यायमाथि सत्य स्थापनाको लागि नेतृत्वको बागडोर आफै सम्हालेका थिए । फलस्वरूप महाभारत भयो र अन्तमा सत्यको सत्तारोहण भएरै छाड्यो ।

यदा यदा ही धर्मस्य ग्लानिर्भवति भारत
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय सधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।
जब जब धर्मको हानी र अधर्मको वृद्धि हुन्छ, तब तब म आफ्नो रूपको रचना गर्छु अर्थात् साकार रूपमा मानवसम्मुख प्रटक हुन्छु । यस्तै साधु पुरुषको उद्धार गर्न, पाप कर्म गर्नेको विनाश तथा धर्मको उचित स्थापनाको लागि म युग–युगमा प्रटक भइरहन्छु ।
भगवान् श्रीकृष्णको यो पवित्र उद्गारजस्तै के हाम्रो समाजमा नेता र नेतृत्वको खडेरी भएकै हो ? यदि त्यसो हो भने, हाम्रो मुलुकको समृद्धिको सोच राख्ने, निष्कलंक पार्ने जनताको आशा र अपेक्षामा खरो उत्रने तथा निश्चित उद्देश्य एवम् ठोस रणनीतिका साथ समयमै सकारात्मक कोल्टे फेर्ने नेता र नेतृत्वकोे अपरिहार्यता छ ।
कस्तो हुनुपर्छ नेता र नेतृत्व ?
केदार आचार्य,
नेता र नेतृत्व शब्द उच्चारणमा नै आदर र सम्मान प्रकट हुने शब्दावलीहरू हुन् । नेता भनेको– जनसमुदायलाई असल बाटो देखाउने व्यक्ति हो । त्यस्तै नेतृत्व– जनसमुदायको सामुदायिक कल्याणका खातिर गरिने मार्गप्रदर्शन हो । वास्तवमा असल नेताले नेतृत्व गरेको मुलुकको तारिफ स्वदेशमा मात्र हुँदैन । त्यसको सुगन्ध विश्वको कुनाकुनासम्म र युगौंयुगसम्म चलिरहन्छ, रहिरहन्छ अजर, अमर र अविनासीको रूपमा ।
तर, विडम्बना नै भन्नुपर्छ, नेपालले सही नेता र नेतृत्व अझैसम्म पाउन सकेको छैन । नजाने यो प्रतिक्षा कहिलेसम्म गरिरहनुपर्ने हो । नेतृत्व दिने नेता सक्षम तथा दूरदर्शी हुनुका साथै प्रभावकारी व्यक्तित्व हुनुपर्दछ भनिन्छ । तर, हामीकहाँ त कुनै पनि नेतृत्व सक्षम देखिएका छैनन् । दूरदर्शीता र प्रभावकारिता हाम्रा नेताका लागि कुन चराको नाम हो भन्ने पनि थाहा नहोला ।
आफूकहाँ युग–युगान्तरदेखि असल नेता र नेतृत्वको खडेरीकै कारण होला हामीले असल नेता र नेतृत्वको कुरा गर्नुपर्दा अन्य मुलुकका सफल नेतृत्वको गुणगान गाउँदै गएर आफ्नै नेतृत्वलाई गाली गर्दै वाक्य टुंग्याउनुपर्छ ।
प्रजातन्त्रवादीहरू जहिले पनि प्रजातन्त्रको नाम उच्चारण गर्नासाथ पहिला यसका अन्वेषक अब्राहम लिङ्कनलाई सम्झन्छन् । अर्कातिर समाजवादीहरूले सम्झने नाम कार्ल माक्र्स हो । यद्यपि, लिङ्कनले प्रजातन्त्रलाई अमेरिकी जनतामा कार्यान्वयन गराउन सके पनि कार्ल माक्र्सले समाजवादलाई जर्मनीमै लागू गराउन सकेनन् । यद्यपि, लिङ्कनले आविष्कार गरेको प्रजातन्त्रभन्दा ठूलो तरङ्ग कार्ल माक्र्सले प्रतिपादन गरेको माक्र्सवादले पैदा गरेको छ र त्योे पराकम्पले अहिले पनि बेलाबेलामा विश्व हल्लाउने गरेको छ ।
विश्वमा अन्य सही नेतृत्व प्रदान गर्न सक्ने नेताहरूमा हाम्रै छिमेकी मुलुक भारतका नेता महात्मा गान्धीको नाम आउँछ । जसले नेता र नेतृत्वको सही व्याख्या आफ्नै व्यवहारमा लागू गरेर देखाए । त्यस्तै, दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेला पनि त्यहाँ सही नेतृत्व गर्न सफल भए । चीनका माओत्से तुङले पनि त्यहाँ सफल नेतृत्व प्रदान गरे । सही नेता र नेतृत्वले मुलुकलाई सही मार्गमा डोर्याउछ र सफलताको मार्गतिर अग्रसर गराइरहन्छ । अन्यथा विश्व एउटै हो – ढुङ्गा, माटो र पानीको थुप्रो । तर ढुङ्गालाई कसरी सदुपयोग गर्ने ? माटोलाई कसरी सदुपयोग गर्ने र पानीको कसरी व्यवस्थापन गर्ने ? यी प्राकृतिक पदार्थको सही सदुयोग गरिसकेपछि शिक्षा, स्वास्थ्य, अर्थव्यवस्थाहरू, उद्योगधन्दा, कलकारखानाहरू, कृषि, पशुपालन, वनजङ्गलको सदुपयोग आदिलाई पनि तिनीहरूको आवश्यकताअनुसार सही किसिमले व्यवस्थापन गर्न सकिन्छ । यी सबैको सही किसिमले प्रयोग गर्नका लागि शासन–व्यवस्थाको आवश्यकता पर्दछ । शासन–व्यवस्था नेता र नेतृत्वले सञ्चालन गर्दछ । यी सबै अवयवहरू बुझेको नेताले नेतृत्व गरेको मुलुक सही मार्गतिर अग्रसर भइरहेको हुन्छ । यस्ता कुराहरू केही पनि नबुझी फगत आलोकाँचो पाराको नेतृत्वले मुलुकलाई कहिल्यै पनि सही मार्गमा पुर्याउन सक्दैन
छरिएर रहेको नेपालको एकीकरणमा दिएको योगदानबाहेक पृथ्वीनारायण शाहको अन्य योगदान अविश्मरणीय छैनन् । बरु उनलाई भनाइ एउटा र व्यवहारमा कार्यान्वयन अर्कै गर्ने नेतृत्व भनिन्छ । किनकि, उनले एकीकरणपछि पनि ‘चार वर्ण छत्तीस जातको फूलबारी भने पनि छत्तीस जातभित्रका भाषा–संस्कृतिलाई निमिट्यान्न पार्न भूमिका खेलेकै हुन् भनिन्छ । त्यसैले पृथ्वीनारायण शाहको जन्मजन्ती निकट पुग्दा अहिले पनि उनको तारिफ गर्नेको भन्दा विरोध गर्नेको नै संख्यामा वृद्धि भइरहेको छ । त्यसपछिका राजाहरूले पनि नेपालमा सही नेतृत्व प्रदान गरेको इतिहास पाइँदैन ।
राजतन्त्रले सही नेतृत्व प्रदान गर्न नसक्दा जनताको कोणबाट नेतृत्व पैदा हुन्छ । तर विडम्बना नेपालमा त्यस्तो नेता र नेतृत्व क्षमता कहीँ कसैमा देखिएको छैन । सही नेता र नेतृत्वको प्रभाव सूर्यको किरणजस्तै निष्कलंक या निष्पक्ष हुनुपर्छ । सूर्यको किरणले राम्रो या नराम्रो फोहोर या सुग्घर भनेर पक्षपात कसैमा पनि गर्दैन । सबैमा समभाव राख्ने नेता र नेतृत्व हुने हो भने नेपालमा पनि समृद्धिको सम्भावना नभएको होइन । तर यहाँ त पृथ्वीनारायण शाहदेखि वर्तमान केपी ओलीसम्म आइपुग्दा न त राजपरिवारको कोणबाट न त जनताबाटै पैदा भएको नेताले नै सही नेतृत्व पहिल्याउन सक्यो ।
फेरि नेपालमा नेता र नेतृत्वको विकास नै भएन भन्न खोजिएको होइन । नेता र नेतृत्वको विकास मनग्गे भएको छ । तर, त्यसले जनतालाई फाइदा दिन भने सकेको छैन । जबसम्म सही नेताको नेतृत्वले जनतालाई फाइदा दिन सक्दैन, जबसम्म नेता र नेतृत्व आफ्नो र आफ्नै वरपरको मात्र भलाई देख्छ र परत्र हेर्दैन भने त्यसलाई सफल नेता र नेतृत्व भन्न मिल्दैन । वास्तवमा नेतृत्वले पहिलो कुरा देश बुझ्नुपर्छ र त्यसलाई जनताको व्यवहारमा लागू गर्ने होइन, आफैंबाट लागू गर्नुपर्छ । आनीबानी, आहार–विहार, व्यवहार, आचरण जनताले नेताको नेतृत्वबाट सिक्ने हुन् । आफ्ना नजिक भएएकाहरूलाई अन्यलाई पनि समान व्यवहार गर भन्न सिकाउने र व्यवहारमा लागू गराउन प्रेरित गराउने होइन कि, मेरो प्रशंसा गाउँदैनन् भने तिनलाई ‘ठोक या मार भन्नु आमनेपाली नेताको आचरण हो । त्यो आचरण व्यवहारमा लागू गर्ने नेतालाई असल नेता मान्न पनि सकिन्न र त्यो नेतृत्वले असल बाटो पनि देखाउँदैन ।
यसअघिको नेता र नेतृत्व असफल बन्दै जानुमा सिकाइ र व्यवहारको गराइको पृथक्ता नै मुख्य हो । अब भएको शिक्षाको विकास (शिक्षाको विकास स्वदेशमा त्यति नभए पनि शिक्षाको विकास भएका मुलुकमा समेत अध्ययन गर्न जान पाइने परिस्थिति) ले त्यस्तो सही नेतृत्व जन्माउन सक्ला ? मानिस निराशावादी प्राणी होइन । आशावादी प्राणी भएकाले त्यस्तो नेता र नेतृत्वको कल्पना गर्नै हुँदैन भन्ने होइन अब त्यो नेता र नेतृत्वको प्रतिक्षा नेपाली जनताले गर्नैपर्छ ।