सुजीतकुमार झा,
वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५
जनकपुर आउने जो कोही पनि जानकी मन्दिर, राम मन्दिर दर्शनपछि गंगा आरतीमै सहभागी हुने गर्छन् । संगीतमय सो आरती हेर्न प्रत्येक साँझ जनकपुरको ऐतिहासिक गंगासागरमा भीड लागेको हुन्छ । गत ४ वर्षदेखि हुँदै आएको गंगा आरती जनकपुरको पर्यटनमा प्रमुख आकर्षण बनेको सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष रामअशिष यादव बताउनुहुन्छ । सेभ हिस्टोरिकलले गंगा आरती सञ्चालन गर्दै आएको छ ।
आरतीका लागि गंगा सागरको किनारामा ३ वटा मण्डप बनाइएको छ । तीनजना पण्डित एकैसाथ गीत संगीतकै धूनमा आरती गर्ने गरेको देखिन्छ । आरतीमा सहभागी पण्डित राहुल झा भन्नुहुन्छ– ‘यो आरतीमा एकैसाथ कैयौं कुरो रहेको छ । एकातिर पूजा, पूजामा पनि तन्त्रदेखि सामान्य पूजासम्म । आरतीको संगै सांस्कृतिक उत्थानका कुरा पनि हुने गर्दछ ।

हिन्दू धर्ममा आरती पूजा अर्चनाको एउटा विधि हो । आरतीमा बलिरहेको दिपक वा आरतीको थाली आराध्यसमक्ष एक विशेष विधिले घुमाउने गरिन्छ । आरतीको टुकी घ्यू वा तेलको दियोको हुनसक्छ वा कपूरबाट बनाइएको हुन्छ । यसमा वैकल्पिक रूपबाट घ्यू, धूप तथा सुगन्धित पदार्थहरूको पनि मिश्रण गरिएको हुन्छ । कैयौंपटक यसका साथै संगीत (भजन) तथा नृत्य पनि गरिने गरिन्छ । मन्दिरहरूमा बिहान, बेलुका एवं राति द्वार बन्द हुनुभन्दा अगावै आरती हुन्छ । जनकपुरको गंगा आरतीका लागि विशेष प्रकारको आरती बनाइएको छ । भारतको बनारसको गंगाआरती जस्तै यहाँ पनि रहेको छ । दूई वटा ठूलठूलो आरती जसमा आगोको डल्लो जलिरहन्छ ।
गंगासागरमा आरती शुरु हुनुभन्दा एकघण्टा पहिलादेखि नै स्थानीयबासीका साथै पर्यटकहरूको भीड लाग्न थाल्छ । साँझ ७ बजेदेखि राति ८ बजेसम्म गंगासागरको चारैतिर श्रद्धालुहरू जम्मा भएर आरतीको आनन्द लिने गर्छन् । आरतीमा धेरैपटक सहभागी भइसकेका पूर्व राष्ट्रपति डा. रामवरण यादवले भन्नुभयो– ‘कसरी एक घण्टा बित्छ पत्तै हुँदैन । जनकपुर रहँदा आरतीमा सहभागी हुने अवसर छुटाउँदिन ।

जनकपुर आउने विशिष्ट व्यक्तिहरू पनि केही समयका लागि भए पनि त्यहाँ पुग्ने नै गर्छन । पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भन्नुहुन्छ–‘जनकपुरका लागि यो एउटा अद्भुत शुरुवात भएको छ । उहाँले गंगासागरमा पूजाका साथै जल संरक्षण र पर्यावरण संरक्षणको जो सन्देश दिने प्रयास गरिएको छ त्यसले यसको महत्त्व अझै बढाएको उल्लेख गर्नुभयो ।
अरुबेला गंगा सागरमै यसप्रकारको आरती हुने गरेको छ । जानकी जन्मोत्सवको बेला जानकी मन्दिर, दूधमती नदीलगायतका स्थानमा पनि आरती हुने गरेको छ । ती सबै आरती गंगासागरकै पण्डितहरूले गर्ने गर्छन् । यो कार्यक्रम गर्नुको पछाडी जीवनमा आरतीको महत्त्व बुझाउनु पनि रहेको आरतीसँग आबद्ध समाजसेवी अमरचन्द्र अनिल बताउनुहुन्छ ।
गंगासागरको महत्त्व
गंगासागरको महत्व अत्याधिक रहेको छ । त्रेतायुगकालीन यसको इतिहास रहेको छ । इतिहासकारहरू यो गंगासागर कुन प्रयोजनका लागि निर्माण गरियो त्यसमा एकमत नदेखिए पनि त्रेतायुगकालीन रहेकोमा कुनै द्विविधा नरहेको बताउँछन । केही इतिहासकारहरू रामजानकीको विवाहको बेला जानकीकै आग्रहमा भगवान् रामले आफ्नो बाणले गंगालाई जनकपुरमा आमन्त्रित गरेको दावी गर्छन् भने केहीले त्रेता युगमा मिथिला नरेश निमिको श्रापबाट पूरै शरीर गलिसकेको थियो, त्यसपछि उहाँको शरीरलाई मन्थन गरियो जसबाट मिथि नाउँका बालकको जन्म भएको थियो । सो बालकलाई पानीबाट सिख्त गर्नका लागि संसारकै प्रमुख नदी तथा सरोवरहरूबाट पानी ल्याइयो र सोही पानीबाट गंगासागर पोखरीको निर्माण भएको हुन सक्ने बताउँछन ।
रामजानकीको विवाहको समयमा मटकोर गंगासागर पोखरीमै भएको मान्यता पनि छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव भन्नुहुन्छ– ‘अहिले पनि प्रत्येक वर्ष रामजानकी विवाह महोत्सवमा मटकोर गंगासागर पोखरीमै हुन्छ र अन्य विशिष्ट उत्सवमा पनि गंगासागर पोखरीकै पानी ल्याउने गरिन्छ । यसले पनि गंगासागर पोखरीको महत्व कति छ भन्ने कुरो दर्शाउँछ ।
भारतको बनारसको गंगाघाटमा प्रत्येक साँझ हुने गंगा आरतीबाट प्रभावित भएर जनकपुरको गंगासागरमा गंगा आरती शुरु गरिएको हो । तर जनकपुरको आरतीमा गंगा, जानकी र शिवको संगै आरती हुने गरेको छ । यो नै यहाँको आरतीको सुगन्ध रहेको सेभ हिस्टोरिकल जनकपुरका महासचिव एवं मानवअधिकारकर्मी विजय दत्तले बताउनुभयो ।
पर्यटनमा सकारात्मक प्रभाव
आरती शुरु भएपछि राति पर्यटकहरू जनकपुर बस्ने संख्या बढेको जनकपुर होटल व्यवसायी संघका अध्यक्ष दशरथ साह बताउँछन् । जनकपुरमा कुनै उत्सव नभएको बेला त्यती पर्यटक बस्न रुचाउँदैनथे तर यो मानसिकतामा अब परिवर्तन आएको होटेल व्यसायीहरू बताउँछन । अर्का होटेल व्यवसायी विजय झुनझुनवालाले सडक, नाला, सफाइजस्ता आधारभूत कार्यमा विजय हासिल गरेपछि जनकपुरमा पर्यटकको ओइरो नै लाग्ने बताएका छन् ।
‘जनकपुरमा विकासका केही परिवर्तनहरू भएको अनुभव गंगासागर पुगेपछि भान हुनथाल्छ’, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष महेन्द्र विष्ट बताउनुहुन्छ– ‘पूजाका अतिरिक्त परिवर्तन हेर्न पनि जनकपुर पुगेको बेला गंगासागर जाने गरेको’ पनि उहाँ थप्नुहुन्छ ।
केहीबर्ष अघिसम्म गंगासागर फोहोरको डंगुर नै बनेको थियो । तर प्रदेश सांसद रामअशिष यादवको नेतृत्वमा जनकपुरका युवाहरूले सफाइ अभियान शुरु गरे र आज एउटा आकर्षक थलोको रूपमा विकसित भएको छ ।
पोखरी पर्यटनको सम्भावना
पोखरीको सौन्दर्यता देखाएर पनि लाखौं पर्यटकहरूलाई जनकपुर ल्याउन सकिन्छ भन्ने तर्क जानकारहरूको रहेको छ । वीरगन्जको घडिअर्वा पोखरी यसको ठूलो उदाहरण रहेको छ । जनकपुरलाई पोखरी र मन्दिरहरूको शहरको रूपमा चिनिन्छ । जनकपुर आउने व्यक्तिको मनमा पोखरी र मन्दिर दर्शन गर्ने नै चाहना रहने गरेको देखिएको छ ।
७२ वटा कुण्ड रहेको जनकपुरमा सबै कुण्ड र पोखरीको आ–आफ्नै ऐतिहासिक महत्व रहेको छ । अधिकांसको त्रेतायुगकै इतिहास रहेको पाइन्छ । रामजानकीसँग ती ऐतिहासिकता जोडिएकाले पनि पोखरीको महत्व अझै बढ्न जान्छ ।
गंगासागर सफाइपछि जनकपुरको आधा दर्जनभन्दा बढी पोखरीमा अतिक्रमणमुक्त र सफाइ अभियान शुरु गरिएको छ । स्थानीयवासी र सरकारको सहयोग प्राप्त भयो भने जनकपुरले कोल्टो पक्कै फेर्न सक्छ ।
जनकपुरका पोखरीहरूलाई एकअर्कासँग जोडेर जलविहार कार्यक्रमलाई पनि अगाडी बढाउन सकिने जानकारहरू बताउँछन । जनकपुर उपमहानगरपालिकाका पूर्वमेयर बजरंगप्रसाद साहले जलविहारको माध्यमले हजारौं पर्यटकलाई जनकपुर ल्याउन सकिन्छ । जनकपुरको विकास धार्मिक पर्यटनले मात्रै हुनसक्छ । रक्षामन्त्री ईश्वर पोखरेलले राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रममा भन्नुभयो– ‘जनकपुरलाई सामान्य व्यवस्थापनले मात्रै १० करोडभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकलाई बर्षेनी ल्याउन सकिन्छ ।
आरतीको विधि
आरती गर्ने बेलामा भक्तहरूको मनमा पञ्चप्राणका साथै ईश्वरको आरती गरिरहेको भावना हुनुपर्छ । घ्यूको ज्योति र जीवको आत्मा ज्योतिको प्रतीक मानिन्छ । यदि भक्त अन्तरमनबाट ईश्वरलाई बोलाउँछ भने त्यसलाई पञ्चारती मानिन्छ । आरती प्रायः दिनमा एकदेखि पाँच पटकसम्म गर्न सकिन्छ । यसलाई प्रत्येक प्रकारको धार्मिक समारोह एवं पर्वमा पूजाको अन्त्यमा गरिन्छ । एउटा आरतीको थालीमा शुद्ध घ्यू लिएर त्यसमा विषम संख्या जस्तै ३, ५ वा ७ वटा टुकी जलाएर आरती गरिन्छ । यसका अतिरिक्त कपूरो टुकीबाट पनि आरती गर्न सकिन्छ ।

सामान्य रूपमा पाँचवटा टुकीबाट आरती गर्ने प्रचलन रहेको छ । जसलाई पञ्च प्रदीप पनि भनिन्छ । आरती पाँच प्रकारले गर्न सकिन्छ । पहिलो दीपमालाबाट, दोस्रो जलबाट भरिएको शंख, तेस्रो सफा कपडा, चौथो आँप वा पीपल आदि पात र पाँचौ साष्टांग अर्थात शरीरको पाँचवटा भाग (मस्तिष्क, हृदय, काँध, हात र घुँडा) बाट । पञ्चप्राणको प्रतीक आरती मानव शरीरको पञ्चप्राणको प्रतीक मान्न सकिन्छ ।
आरतीको थाली वा दियोले ईष्टदेवको प्रतिमा अगाडि माथिबाट तल गोलाकार घुमाउने गरिन्छ । कतिपटक आरतीको थाली घुमाउने त्यसको पनि निश्चित संख्या हुनसक्छ । यसका साथै आरती गान पनि समूहद्वारा गाइन्छ । आरती भएपछि पण्डित वा आरती गर्ने व्यक्ति, आरतीको दीपक उपस्थित भक्त समूहमा घुमाउँछ । श्रद्धालुहरूबाट आफ्नो दुवै हातको तल उल्टो गरेर घुमाइन्छ र आफ्नो ललाटमा (निधारमा) लगाउँदछन् । यसको पनि दुई कारण हुन्छ । एउटा मान्यताअनुसार ईश्वरको शक्ति त्यो आरतीमा समाहित भइहाल्छ, जसको अंश भक्तहरू मिलेर आफ्नो ललाटमा समाहित गर्दछन् । दोस्रो मान्यताअनुसार ईश्वरको नजर उतारिन्छ । साँचो अर्थमा यसको उद्देश्य ईश्वरप्रति आफ्नो समर्पण वा प्रेम दर्शाउनुहुन्छ ।
आरतीको थाली
आरतीको थाली धातुबाट बनेको हुन्छ जो प्रायः पीतल, तम्बा, चाँदी वा सुन को हुन्छ । यसमा मुछिएको आँटाको , धातुको, गिलो माटो आदिको दियो राखिएको हुन्छ । यो दीयो गोलो वा पञ्चमुखी, सप्तमुखी, अधिक विषम संख्या मुखी पनि हुन सक्छ । यसमा तेल वा शुद्ध घ्यूद्वारा कपासको बत्तीबाट जलाइन्छ । प्रायः तेलको प्रयोग रक्षा दीपकमा गर्ने गरिन्छ र आरती दीपकमा घ्यूको प्रयोग गरिन्छ । बत्तीको स्थानमा कपूर पनि प्रयोग गर्न सकिन्छ ।
आरतीको थालीमा दीपकका अतिरिक्त पूजाको पूmल, धूप अगरबत्ती आदि पनि राखिएको हुन्छ । कैयौं स्थानमा विशेष गरेर नदीहरूको आरतीका लागि थालीको स्थानमा आरतीको टुकीको प्रयोग हुन्छ । यसमा टुकीको संख्या १०१ वटासम्म हुनसक्छ । यसलाई शतदीपक वा सहस्रदीप पनि भन्ने गरिन्छ ।