लोचन भट्टराई,

वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५

भाषालाई स्थापित र विस्तार गर्न गीत सँगीतले ठूलो भूमिका निर्वाह गर्दछ ।  गीत ज्यादै सरल माध्यम हो, जो केहीलाई यसले सजिलै समेट्दछ । एउटा गीतले लाखौं मानिसको ह्दय छुन्छ । जसरी गीत लाखौंको ह्दयमा बास बस्छ, भाषा पनि सँगै प्रवेश गर्छ । तसर्थ हामी कलाकारहरूले गीतको माध्यबाट आफ्नो देशको, जातिको भाषालाई विस्तार गरिरहेका हुन्छौं । अब प्रश्न उठ्छ, के हामीले आफ्नो गायनमा भाषाको नियम पालना गरेका छौं त ?

भाषा बिना भाव अभिव्यक्ति अपूर्ण छ । तथापि हामी गीत गायनमा सुर, ताल र लयलाई बढी ध्यान दिन्छौं र शब्दोच्चारणलाई गौंण मान्छौं । शुद्ध उच्चारणले मात्र भावपूर्ण रूपमा अभिव्यक्त हुने कुरा बिर्सन्छौँ ।

गीत पूर्ण तब हुन्छ जब त्यस गीतमा शुद्ध उच्चारण,सुर, लय, ताल मिलेको हुन्छ । स्वरको मिठास व्यक्ति व्यक्तिमा आ–आफ्नै किसिमको हुन्छ । लयलाई आ–आफ्नो ढंगले गाउन सकिन्छ तर भाषा उच्चारण भाषाको नियम अनुसार मात्र गर्न पाइन्छ । जसरी संगीतका स्वरहरूलाई शास्त्रीय मान्यता अनुसार उच्चारण गरिन्छ । संगीतको चल र अचल १२ स्वरहरूलाई जस्ताको तस्तै गाइन्छ । विभिन्न ताललाई सोही गणनामा गाइन्छ या बजाइन्छ भने कुनै पनि शब्द रचनालाई भाषिक शुद्धता दिन व्याकरणको नियम अनुसार नै उच्चारण गरेर गाउन अनिवार्य छ । कलाकारले गीतको माध्यमबाट भाषाको र साहित्यको सेवा गरिरहेको हुन्छ तर हामीले गलत  उच्चारण प्रवाह गरेर भाषाको सेवाभन्दा पनि विकृत रूपलाई प्रवाह गर्नेछौँ तसर्थ सही उच्चारण गर्नु नितान्त आवश्यक छ ।

नेपाली भाषामा मूल रूपमा व्याकरणले दुई वटा नियम उल्लेख गरेको छ । जसमा लेख्य र कथ्य रूप प्रस्तुत हुन्छ । कथ्य नियम भन्नाले जस्तो ‘देश’ भन्ने शब्द लेख्नमा हलन्त प्रयोग नगरी लेखे तापनि वोल्दा हामी हलन्त प्रयोग गर्छौँ । अर्को लेख्य नियम भन्नाले ‘देश’ लाई लेखन जस्तै हलन्त प्रयोग नगरी उच्चारण गरिन्छ । यसरी हरेक शब्दका उच्चारणका दुई वटा नियम भित्र रहेर गाउनमा प्रयोग गरेमा कुनै पनि गीतका शब्द उच्चारण कहिल्यै गलत हुदैनन् । नेपाली गीतमा बढीभन्दा बढी लय र ताल सुरलाई ख्याल गरेको पाइन्छ तर शब्द उच्चारण ओझेलमा पर्दै गएको छ । हुन त सुरुवात कालमा रेडियो नेपालले गीत रेकर्ड गर्नुअघि शब्द छनौट गथ्र्यो तर गीत रेकर्ड गर्दा उच्चारणको बारेमा केही प्रश्न गरेको पाइएन । कलाकारले नै जानेर केहीले शुद्ध उच्चारण गरे तर नियम कसैलाई थाह भएन । जसरी संगीतका नियमहरू छन्, त्यसैगरि भाषाका नियमहरू छन् । भाषिक नियम त हामीले जन्मेर बोल्न थालेदेखि नै सुरु गरेको हो । स्कुल गएपछि त अझ लेख्न पनि जान्यौं तर लेख्दा शुद्ध लेख्ने तर गीत गाउँदा गलत उच्चारण गर्ने बानी बस्यो । जसरी अनुशासन बिनाको जीवनले लक्ष्य प्राप्त गर्न असम्भव हुन्छ, त्यसरी नै गलत उच्चारण भएका गीतहरूद्वारा संगीतको विकास गर्न असम्भव हुन्छ । भाषाका नियम उल्लंघन गरी भाषा विस्तार हुँदा गैरभाषीले गलत उच्चारण सिक्ने नै भयो र भाषाको स्वरूप बिग्रदै मूल  रूप पत्ता ल्याउन नै कठीन हुने समय नजिकिने भयो । तसर्थ देशको सेवा गर्ने हामी कलाकारहरूले भाषाको नियम बुझेर शब्द रचनालाई संगीतले सजाउने कार्य गर्यौं भने मात्र सही अर्थमा संगीतको सेवा हुनेछ, भाषाको सेवा हुनेछ ।

नेपाली भाषा अभिव्यक्तिय ध्वनि प्रधान भाषा हो । भाषाका हरेक वर्ण (स्वर र व्यञ्जन) ध्वनि प्रधान छन् । अझ वर्ण मिलेर बनेका शब्दहरू त झनै गुञ्जयमान छन् । शब्द निर्माणमा प्रयोग हुने ह्रस्व – दीर्घ (बाइमात्रा, दाहिना तर्कले, बर्धन्ने) ले गायनमा ताल प्रयोग गर्न ठूलो भूमिका निर्वाह गर्दछन् । हाम्रो भाषामा प्रष्ट बुझेर शब्द रचनालाई संगीतबद्ध गरेमा पूर्णरूपमा शुद्ध  – उच्चारण सहितको गीत तयार हुन्छ ।

(भट्टराई बरिष्ठ गायिका तथा संगीतकार हुन् ।)